धरान: मृत्यु भएको मानिस राख्ने शवगृह(मर्चरी)मा बिहिबार निक्कै भिड थियो । प्रायः मृत्यु भएका आफन्तजनहरु भेला भइरहने मर्चरीमा भिड जम्म हुनु कुनै अनौठो थिएन । तर, बिहिबार भने त्यहाँ कुनै शव लिन आफन्तहरुको भिड थिएन ।

मर्चरी भवन परिसरमा ३ वटा खाल्डो खनिएको थियो । उक्त खाल्डोमा ३ वटै समुहमा केही खोजी भइरहेको प्रष्टै देखिन्थ्यो । ती खाल्डोलाई सुरक्षाको लागि प्रहरीले लगाउने घेरा पनि लगाइएको थियो । नजिक पुगेर हेर्दा मावन कंकाल देखियो । मर्चरी परिसरमा मावन कंकाल ! सुन्दा नि झसंग हुन्छ । तर ती सक्कली शवको कंकाल भने होइन । बिपी प्रतिष्ठानमा बुधबारदेखि नै शव उत्खनन तालिम चलिरहेको छ । तालिममा नेपालभरिका १६ वटा मेडिकल कलेजका फरेन्सिक चिकित्सकहरु सहभागी छन् । तिनै चिकित्सकहरु बिहिबार कसरी शव उत्खनन गर्ने र प्रमाणहरु नष्ट हुन नदिने भनेर व्यवहारिक ज्ञान लिइरहेका रहेछन् ।

IMG_20181129_130042_1 copy

तालिम बिपी प्रतिष्ठानको आयोजना, अन्र्तराष्ट्रिय रेडसक्रस(आइसिआरसि) र कानुनी चिकित्सक समाज नेपाल(मेलिसन)को सहयोगमा आयोजना गरिएको हो । शुक्रबारसम्म चल्ने तालिमको दोस्रो दिन बिहिबार सहभागीहरुले सावधानीपुर्वक शव उत्खनन गर्ने, त्यहाँ छोडिएको प्रमाणहरु सुक्ष्मढंगले अध्ययन गर्ने, प्रमाणहरुको अभिलेखीकरण गर्नेलगायत कार्य गरेको प्रतिष्ठानस्थित फोरेन्सिक विभाग प्रमुख डा.शिवेन्द्र झाले जानकारी दिए । उनले भने,‘कतिपय घटनाको शवहरु उत्खनन गर्नुपर्ने हुन्छ, त्यस्तो बेला कसरी उत्खनन गर्ने, प्रमाणहरु नष्ट हुन नदिने भनेर अभ्यास भइरहेको छ ।’

आयोजकका अनुसार करिब २ साताअघि नै प्लाष्टिकको कंकाल ३ ठाउँमा गाडिएको थियो । ती कंकालहरुसँगै विभिन्न सामाग्रीहरु नि गाडिएको थियो । जसलाई तालिमका सहभागीहरुले ३ समुह बनाएर उत्खनन गर्नुपर्ने थियो । आयोजकले कंकालसँग के के वस्तु राखिएको भन्ने अभिलेख राखेको हुन्छ । तालिमका सहभागीले शव उत्खनन गर्दा के के वस्तुहरु प्रमाणकोरुपमा भेटियो ? र कुन अवस्थामा शव वा ती प्रमाणहरु थियो भनेर शुक्रबार प्रस्तुती दिनुपर्ने हुन्छ । ‘नेपालजस्तो द्धन्दबाट निस्केको मुलुकहरुमा वेपत्ता पारिएकाहरुको शव उत्खनन गर्नुपर्ने हुन्छ, त्यो बेला अहिले हामीले सिकेको ज्ञान, सिप काम लाग्छ,’कानुनी चिकित्सक समाज नेपाल(मेलिसन)का अध्यक्ष डा.रिजेन श्रेष्ठले भने,‘अब नेपालले अन्र्तराष्ट्रिय विज्ञ ल्याइरहनै पर्दैन, हामीसँगै सक्षम जनशक्ति हुनेछ ।’

IMG_20181129_125813 copy

तालिममा नेपालका ३८ जना फरेन्सिक कानुनी चिकित्सकहरु सहभागी छन् । उनीहरुलाई भारतको दिल्लीस्थित एम्सबाट विज्ञ प्रा.डा.आदर्श कुमार र आइसिआरसि अफगानिस्थानका प्रतिनिधि डा. राफेल डिबारियुले आफ्नो अनुभव बाड्नेछन् । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साह भविष्यमा यहाँका जनशक्तिको सहयोग लिएर प्रहरी र कानुन व्यावसायीहरुलाई पनि तालिने दिने योजना रहेको छ । ‘उत्खनन गर्दा कुनै पनि प्रमाण नष्ट नहोस्, र विश्वको कुनै पनि ठाउँमा हामीले दिएको प्रमाण स्वीकार्य होस् भन्नेतर्फ हामी लाग्नेछौं,’उनले भने ।

IMG_20181129_125728 copy