पित्ताशयमा पत्थरीको समस्या धेरैलाई हुने गर्छ । प्रत्येक दश मध्ये एक व्यक्तिमा देखिने यो आम समस्या हो । त्यसैले पित्ताशयमा पत्थरी हुँदैमा आत्तिहाल्नु पर्दैन । तर कतिपय व्यक्ति यस्ता पनि छन्, जो पित्ताशयमा पत्थरी भएपछि खानपानलाई लिएर चिन्तित हुने गर्छन् । उनीहरु सोच्छन्, पित्ताशयमा पत्थरी भएपछि शल्यक्रिया गर्नु पर्छ । र , शल्यक्रिया पश्चात्त खानपानमा सावधानी अपनाउनु पर्छ । शल्यक्रिया पछि पनि के के खाने, के के नखाने भन्ने कुरामा ध्यान दिनुपर्छ चिकित्सकहरुका अनुसार शल्यक्रिया गरेर पित्ताशयलाई हटाए पछि पनि मानिसले सामान्य जीवन बाच्न सक्छन् । आफूलाई मन परेको प्रत्येक खानेकुरा खान सक्छन् । बस्, तारेको, भुटेको खानेकुरा भने कम सेवन गर्न पर्छ ।

कसरी ?

सामान्यतया पित्ताशयको थैलीमा पत्थरी भएमा पित्ताशयलाई हटाइने गरिन्छ । अंग्रेजीमा गल व्लाडर भनिने पित्ताशय शरीरको माथिल्लो भागमा हुन्छ । यो सानो नासपाती आकारको हुन्छ , जुन कलेजोको ठिक मुन्तिर दायाँ साइडमा हुन्छ । पित्ताशयले पित्त (बाइल)लाई एक ठाउँमा जम्मा गरेर त्यसलाई कन्सन्ट्रेट गर्न थाल्छ । जब शरीरमा फ्याट पच्न थाल्छ, तब पित्ताशयले यसलाई स्रावित गर्दछ । यहाँ के जान्न आवश्यक छ भने खाना पचाउन कलेजो नै जिम्मेवार छ भने बाइलको उत्पादन पनि कलेजोले नै गर्छ । उक्त बाइललाई जम्मा गर्ने काम भने पित्ताशयले मात्र गर्छ । जब पित्ताशयमा बाइल जम्मा हुन्छ, त्यसक्रममा पित्तको रसायनिक असन्तुलन भएमा पित्ताशयको थैलीमा पत्थरीको विकास हुने गर्दछ । यस्ता पथ्थरी कोलेस्ट्रोलद्वारा निर्मित हुन्छ । बोलीचालीको भाषामा गल स्टोन भन्ने चिनिने यस्ता पत्थरी बालुवाको कणदेखि चनाको दाना वा सोभन्दा ठूलो आकारको समेत हुनसक्छ । केही व्यक्तिमा यस्ता पत्थरीको कुनै लक्षण देखिदैन । तर जो व्यक्तिमा लक्षण देखिन्छ, उनीहरुमा उल्टी हुने, पेटको एउटा भागका साथै पछाडी पिठ्यूमा पनि बेस्सरी दुख्ने गर्छ । यस प्रकारको दुखाई लामो अन्तरालमा हुन्छ, र एकपटक दुखेपछि असहय पिडा हुन्छ, विशेषगरी खाना खाएपछि । जतिजति समस्या बढ्दै जान्छ, तब तब यो दुखाई झन् झन् बढ्न थाल्छ । यस्ता समस्या देखिएमा पित्ताशयको पत्थरीलाई तुरुन्तै हटाउनु पर्छ । अन्यथा, पित्ताशयबाट पित्त बग्दा पत्थरी पनि बगेर कतै अड्किन सक्छ र पहेलोपना, जण्डिस लगायतका स्वास्थ्य सम्बन्धि जटिल समस्या निम्त्याउन सक्छ । तर, जब पत्थरीको कारण पित्ताशय हटाइन्छ, तब खानपानलाई लिएर मानिसहरु चिन्तित हुने गर्छन् । उनीहरुलाई लाग्छ, पित्ताशयको थैली हटाएपछि खानपानमा विशेष सजगता अपनाउनु पर्छ । जबकी गल व्लाडर हटाएपछि पनि मानिसहरु सामान्य जीवन जिउन सक्छन् । किनकी पित्ताशय नभएपनि खाना पचाउन कलेजोले पित्तको उत्पादन गर्छ, तर शल्यक्रिया पश्चात्त उक्त पित्त पित्ताशयमा नगएर सिधै सानो आन्द्रामा जान्छ ।परिणामस्वरु, पित्ताशय हटाएको व्यक्तिलाई केही दिन पखाला लाग्न सक्छ । तर यो परिवर्तन अस्थायी भएको खासै चिन्ता गर्नु पर्दैन ।

onlinekhabar.com बाट साभार गरिएको