धरान : धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमीक साइन्स ब्लक (कलेज भवन) निर्माणमा लामा कन्ट्रक्सनले बदमासी गरेपछि धरौटी जफत गरिएको छ ।

करिब १४ करोड रुपैया लागत इस्टिमेटको  शैक्षिक भवन निर्माण गरेको पाचबर्ष वितिसक्दा पनि उपयोगविहिन हुनपुगेपछि लामा कन्ट्रक्सनका संचालक डिप छिरिङको धरौटी जफत गरिएको हो ।
०७० फागुन २७ गते भवनको उद्घाटन गर्दा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीका लागि दक्षीण एसियाकै सबैभन्दा अत्याधुनिक सुविधा सम्पन्न शैक्षिक भवन निर्माण भएको दावी तत्कालिन चार पदाधिकारी र भारतीय राजदुत रणजीत रायले गरेका थिए । तर भवन निर्माणमा कमिसनको खेल भएपछि कमसल समाग्री र स्तरहीन छत लगाइएपछि निर्माण सम्पन्न नहुदै भत्किएर पानी चुहिन थालेकाले धरौटी जफत गरिएको प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारले बताए ।

उपकुलपति रौनियारले अघिल्लो पदाधिकारीहरुले एकेडेमीक भवन निर्माण गरेपनि पुर्णरुपमा संचालनमा ल्याउनै नसकिने गरी बनाएकाले पुन मर्मत गर्नु परेको बताए । पाँच बर्षअघिको लागत इस्टिमेटमा यति धेरै बजेटमा यो भवन अघिल्ला व्यबस्थापनले बनाएको रौनियारले बताए । प्रतिष्ठानले निर्माण कम्पनी लामा कन्ट्रक्सनलाई पटक पटक ताकेता गरेर मर्मत गर्न आग्रह गरेपनि वेवास्ता गरेपछि धरौटी जफत गरेर सोही रकम करिव ७० लाख रुपैयाँले एकेडेमीक भवन मर्मत सुरु गरेको प्रतिष्ठानका इन्जिनियर मदन साहले बताए । भारतीय सरकारको करिव १५ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्मित उक्त भवन डिप छिरिङ लामाले निर्माण ठेक्का पाएर बनाएपनि भवनको छत र भित्तामा प्रयोग गरिएका एकस्टिक सामाग्री हस्तान्तरण गर्नु अघि नै भत्किएर पानी चुहिन थालेपछि उपयोग विहिन भएको थियो ।

भवनमा रहेका चारवटा थिएटर मध्ये दुइवटामात्र सुखदुखले प्रयोगमा ल्याइएका थिए । बांकी थिएटर कमजोर छत र भित्ताका कारण पानी चुहिएर विद्युत सर्ट भएका, साउण्डप्रुफकालागि भित्तामा गरिएका एकस्टीक सामाग्री पानीले बिग्रेका र सिलिङ खस्न थालेपछि प्रतिष्ठान आफैले मर्मत गर्न थालेको इन्जिनियर साहले बताए । भवनको थिएटर भित्र चिकित्साशास्त्रका विद्यार्थी र अनुसन्धानकर्मीका लागि एयरकन्डिसन, मल्टि मिडिया साउण्ड सिष्टम भएको आधुनिक कक्षा कोठा, सेमिनार हल, प्रयोगशाला, लाइव्रेरी, सर्भर कन्ट्रोल, प्रोजेक्टर र साउण्ड प्रुफयुक्त शैक्षिक भवन निर्माण गरिएको बताइएको थियो । चिकित्सा शास्त्र पठनपाठनलाई सहज वातावरण बनाउन करोडौं खर्च गरेर निर्माण भएको आधुनिक एवं सुविधा सम्पन्न उक्त भवनमा २ सय विद्यार्थी क्षमताको एनाटोमी, फिजियोलोजी, वायोकेमिष्ट्री, माइक्रो बायोलोजी, प्याथोलोजी, फर्माकोलोजी र फरेन्सिक ल्यावको समेत व्यबस्था गरिएको प्रतिष्ठानले जनाएको थियो ।

पुर्व उपकुलपति प्रा. डा. बलभद्र प्रसाद दासको पालामा उक्त भवन निर्माण गरिएको थियो ।