धरान:‘किरात’ शब्लाई जातीसँग जोडिने गरिन्छ । तर, भाषाविद् प्रा.डा टंक न्यौपाने यो मान्न तयार छैनन् । उनी ‘किरात’ भनेको ‘सभ्यता’ हो, र यसले सबैलाई प्रतिनिधित्व गर्ने मान्यता राख्छन् ।

मंगलबार किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनको प्रचारअभियान अन्तर्गत आयोजित बास्केटबल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्रा.डा न्यौपानेले किरात सबैको साझा भएको बताए । ‘किरात भन्ने वित्तिकै यो जातीय हो भनेर धेरैले भ्रम पालेका छन्, यो एउटा सभ्यता हो,’उनले भने,‘बाहुन क्षेत्रीको धर्मग्रन्थमा कैरात देशे भनेर उल्लेख गरेको छ, त्यसैले आर्यहरुले पनि उत्तिकै सम्मान गरेका छन् ।’

उनले किरात भनेपछि संसारमा चिनाउनु नपर्ने बताउदै संसारको सबै भन्दा पुरानो वेद ऋग्वेदमा पनि ‘किरात’ शब्दको उल्लेख गरिएको बताए । राई, लिम्बू, याक्खा भन्दा सबैले कहाँको हो भनेर चिनाउनु आवश्यक पर्ने बताउदै किरात भनेपनि संसारले चिन्ने बताए । ‘धेरै अग्रेजी र ग्रिसेली किताबमा किरातको उल्लेख भएकोले संसारमा यो परिचित छ,’उनले भने । प्रा.डा दिनेशराज पन्तले किरातलाई ५ हजार वर्ष पुरानो भनेर एक कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेको स्मरण गदै न्यौपानेले यो एउटा सभ्यता रहेको बताए ।

किरात महाजाती भएकोले किरातले राई, लिम्बू, याक्खा र सुनवार जातीलाई समेट्ने बताए । धेरै राईहरुले किरात हैन भन्दा आफुलाई दुःख लागेको बताउदै व्यक्तिगत स्वार्थमा आफ्नो सभ्यतालाई भुल्न नहुनेतर्फ सचेत गराए । कुनै पनि संगठन र शक्ति एकतामा हुने भएकोले छुट्टिएर उपलब्धी हासिल गर्न नसकिने बताए । उनले १० औं महाधिवेशनमा सबैलाई संगठित गर्न सुझाब समेत दिए ।