इटहरी: प्रशोधित पिउने पानी उत्पादन निर्देशिका २०७४ उल्लंघन गरी प्रशोधित पानी उत्पादन गरिरहेका उद्योगहरुलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीले कारबाही गर्न सकिरहेको छैन ।

निर्देशिका विपरीत पानी उद्योगमा हातले नै पानी भरेर उपभोक्ताहरुमाझ पुर्याउने गरेपनि ती उद्योगहरुलाई कडा कारबाही भइरहेको छैन । नियमावलीमा स्वचालित मेशिनबाट मात्र पानी भर्नुपर्ने उल्लेख भएपनि सुनसरीका उद्योगहरुले हातले नै पानी भर्ने गरेका छन् । यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड भइरहेकोछ । नियमनकारी निकाय डिभिजन कार्यालय भने बेलाबखत अनुगमन गरेर मौन बस्ने गर्छ ।

सरकारले गत बर्षको चैत्र महिना सम्म उद्योगहरुलाई स्वचालित मेशिन हाल्नका लागि समय दिएको थियो । निर्देशिका गत बर्ष नै तयार भएपछि उद्योगहरुलाई चैत महिनासम्म स्वचालित मेशिन राख्न समयसिमा दिइएको थियो । तर, अझै पनि अधिकांश पानी उद्योगहरुले हातैले पानी भरेर बेच्ने गरेको अनुगमनको क्रममा भेटिएको थियो । सुनसरीमा रहेको १८ वटा पानी उद्योगमध्ये आधा दर्जन जति उद्योगले मात्रै स्वचालित मेशिन राखेको व्यवसायीहरु नै बताउँछन् ।

मेशिनविना हातैले पानी भरेर निर्देशिका उल्लघंन भइरहेको छ । गत माघ २४ गते डिभिजन कार्यालयले इटहरीका केही पानी उद्योगहरुमा अनुगमन गरेको थियो । त्यसबेला ३ वटा उद्योगले निर्देशका उल्लंघन गरेको भेटेपछि पानी उत्पादनमा डिभिजन कार्यालयले रोक लगाएको थियो । त्यसपछि डिभिजन कार्यालय मौन छ । सुनसरीमा २०७४ मा प्रशोधित पिउने पानी उत्पादक ब्यबसायी संघ स्थापना भएको थियो । उक्त संस्थाले पनि उद्योगहरुलाई कडाई गर्ने प्रयास गरेपनि अहिले संस्था निष्क्रिय छ । पानी उद्योगहरुको लापरवाही रोकिएको छैन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख बिक्रम लिम्बू जारको लागि स्वचालित मेशिन नचाहिने भएपनि बोतलको लागि अनिबार्य मेशिन चाहिने बताउँछन् । ‘हामीले एक महिना अगाडि सुनसरीका सबै उद्योगहरु निरीक्षण गरिसकेका छौं, स्टक रहेको पानी बजारमा गएको हुनसक्छ,’उनले भने । लिम्बूका अनुसार सुनसरीमा अहिलेसम्म ६ वटा उद्योगमा मात्र स्वचालित मेशिन छ । त्यसबाहेक अरु उद्योगले बोतलमा पानी उत्पादन गर्न पाउदैन । ‘बोतल उत्पादन गर्ने अधिकार स्वचालित मेशिन लगाएकालाई मात्र छ,’उनी भन्छन् ।

पहिले नै उत्पादन भएको पानी उत्पादन मितिले ६ महिनासम्म प्रयोग गर्न सकिने उनले बताए । ‘हामीले सबै उद्योगलाई पत्राचार गरेर निर्देशन दिएका छौँ, स्वचालित मेशिनबाट उत्पादन नगरी हातैले पानी भरेर बजारमा पठाएको पाइएमा हामी कारबाही गर्छौ,’उनले भने । लिखित उजुरी आएमा अनुसन्धान गरी कारबाही गर्ने लिम्बूको भनाई छ । आफुहरुले एक महिना अगाडि मात्रै सबै उद्योगहरुमा अवलोकन गरेकाले नयाँ पानी उत्पादन नभएको डिभिजन प्रमुख लिम्बुको दाबी थियो ।