धरान: प्रदेश १ सरकारले प्रदेशको कृषि र भुमी व्यवस्थाको लागि कुल ४ अर्ब बजेट विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला मन्त्री इन्द्र आङबोले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा समग्र कृषि, पशुपंक्षी तथा सहकारी क्षेत्रका लागि ४ अर्ब विनियोजन गरिएको जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत बाली बिशेष सम्भाव्यताका आधारमा नयाँ पकेट तथा ब्लक कार्यक्रमहरु सञ्चालन गर्न ७४ करोड २१ लाख विनियोजन गरिएको छ ।

हरित अभियान अन्र्तगत कम्तीमा १०० विघाह जमिन हुने गरी जग्गा धनी किसानहरुलाई कम्पनीमा आवद्ध गरी प्रदेश सरकारसमेतको लगानीमा एक नमुना कृषि परियोजना सञ्चालन गर्न र कृषक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ । प्रादेशिक योजनाको लक्ष्य अनुसार खाद्यान्न उत्पादन तथा उत्पादकत्व वृद्धि कार्यक्रमको लागि १९ करोड ४७ लाख बजेट विनियोजन गरिएको छ ।

निजी क्षेत्रसँगको साझेदारीमा प्रांगारिक मल कारखाना जैविक बिषादी तथा उत्पादन केन्द्र स्थापना गर्नको लागि १६ करोड ६० लाख रुपैया विनियोजन गरिएको छ । पशु वधशाला निर्माण तथा सुधार, मासु पसल सुधार, पशु हाटबजार तथा खसीबोका संकलन केन्द्र स्थापना र जनचेतना अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिन १४ करोड विनियोजन गरिएको छ ।

प्रदेशका भुमि बैंक स्थापना गर्न आवश्यक बजेट विनियोजन गरिएको छ भने चक्लाबन्दी खेती प्रर्वद्धन कार्यक्रमको लागि ६ करोड विनियोजन गरिएको छ । प्रादेशिक पहिचानयुक्त विशिष्ट बालीकोरुपमा चिया, अलैची, किवि तथा सुन्तला उत्पादन, भण्डारण, प्रशोधन तथा ब्राण्डिङमा जोड दिदै यस्ता बालीहरुको उत्पादन वृद्धि गरी निर्यात प्रवद्र्धन गर्न १६ करोड ८७ लाख विनियोजन गरिएको छ ।

यस्तै, हुलाकी राजमार्ग, कोशी, मेची र अन्य मुख्य राजमार्गको आसपासका क्षेत्रमा सम्भाव्यताको आधारमा व्यवसायिक तरकारी उत्पादन, फलफुल खेती, बाख्रा पालन तथा दुध उत्पादनका कार्यक्रमहरुको लागि ५ करोड ९७ लाख विनियोजन गरिएको छ । साझेदारीमा शितभण्डार तथा मिनि कोल्डस्टोर निर्माण कार्यलाई निरन्तरता दिदै यसको लागि १५ करोड २५ लाख विनियोजन गरिएको छ ।

विदेशबाट फर्केका युवाहरुसँगको सिप र पुँजी परिचालन गर्न तथा बेरोजगार युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न एक पालिका एक नमुना कृषि फर्म स्थापना गर्न युवा लक्षित कृषि तथा पशुपालन कार्यक्रमको लागि ७ करोड बजेट विनियोजन गरिएको छ । ताप्लेजुंग, संखुवासभा, सोलुखुम्बु,भोजपुर,तेह्रथुम, खोटांग र ओखलढुंगा जिल्लाका उच्च पहाडी भेगमा कोदो, फापर, लट्टे, जौ र उवा जस्था रैथाने बालीहरु उत्पादनमा प्रोत्साहन गर्न ३ करोड ३१ लाख विनियोजन गरिएको छ ।

यस्तै, प्रदेशमा चिया तथा अलैची अनुसन्धान केन्द्र स्थापना गर्न पहल गरिने पनि बजेटमा उल्लेख छ । प्रदेश सरकार, डेर सहकारी र निजी डेरी उद्योगहरुको लागत साझेदारी तथा सहकार्यमा इटहरी उपमहागरपालिका, तरहरामा स्थापना गरिएको धुलो दुध कारखानाको निर्माण कार्य सम्पन्न गरी धुलो दुत उत्पादन गर्न १५ करोड ५० लाख विनियोजन गरिएको छ ।