४-९ जनवरी १९९८ मा सम्पन्न भएको भारत स्काऊट्स एण्ड गाईड्सको १३ औं राष्ट्रीय ज्याम्बोरीमा सहभागी हुने निर्णय गरेसँगै मैले त्यसको तयारी शुरु गरे । झण्डै पन्ध्र दिन अघिदेखी मलाई तयारीको चटारोले छोयो । भारतको उडिसा राज्यको खुर्दा भन्ने स्थानमा समग्र भारतका स्काउटहरु भेला हुने कुराले अत्यन्त महत्व राख्ने मैले ठहर गरेको थिंए ।

स्काउट भन्नु नै मित्रताको उदाहरण हो । यसको माध्यमबाट भएको मित्रता दिर्घकालिन र विश्वसनिय हुन्छ । अब केही दिनमा भारतका विभिन्न प्रान्तबाट आएका साथिहरु संग भेंट हुने र तिनीहरु मध्ये धेरैलाई साथि बनाउनु पर्ने थियो । यसका लागी म कुनै पृथक नेपाली बस्तु उपहारको रुपमा दिन चाहन्थेँ । सानो उपहार दिने टाइपको खुकुरी, ढाका टोपी, नेपाली कागजले बनाएको कार्ड आदि धेरै कुरा मनमा आए तर एउटा विद्यार्थीले ठूलो संख्यामा ती किनेर बाँड्न सक्ने औकात थिएन । केही न केही नेपालको चिनारी त बाँड्नु नै थियो । धेरै सोचें र अन्तमा अग्रजको विगतको अनुभव र यता लगभग सित्तैमा पाईने रुद्राक्षको दानामा मेरो मन अडीयो । मैले पाँच मुखे रुद्राक्ष लिएर जाने निर्णय गरें । यो संगै आफूलाई अत्यन्त गरिब अनुभुति पनि भईरह्यो ।

मैले दुई तिन सय दाना रुद्राक्ष भेला गरेर बोकें । ज्याम्बोरीमा सहभागिता जनाउने र स्काउटींगका विविध कृयाकलापहरुमा भाग लिने क्रममा नजिकिएर परिचय गर्न आउने र पत्रव्यवहार गर्न ठेगाना माग्ने साथीहरु बनिन थाले । पहिला पहिला हिनताबोधले मैले केहीलाई मात्र रुद्राक्ष उपहार दिंए, दिंदा आफू तुच्छ भए झैं लाग्थ्यो । तर विस्तारै विहान बेलुका मलाई खोज्नेहरु बढ्न थाले । उता भरतमा रुद्राक्षको भिन्नै महत्व रहेछ । परिचय आदान(प्रदान गरेपछि मैले रुद्राक्ष नदिंदा खै उपहार दिएको भनेर सिधै माग्ने काम गर्थे । मैले लगेको उपहार दाना दुई दिन मै सकियो, र सयौंको नाम ठेगानाले मेरो डायरी भरियो । पछी मैले बुझे, हाम्रो तिर बारीमा फालिने यस्ता दानालाई त्यहाँ दुर्लभ र भगवान मानेर राखिंदो रहेछ ।

Rudrakshaw3

रुद्राक्षको आफ्नै धार्मिक महत्व छ र मेरो अनुभवले अधिकांश हिन्दु भारतीय नागरिकहरुलाई यसै कारण नेपालमा आकर्षण गर्न सकिन्छ । उनीहरुमा यो नेपालको पहाडी भागमा फल्छ र नेपाली रुद्राक्षमा साक्षात् शिव हुन्छन् भन्ने विश्वास पनि छ । यदी हामीले धरानको रुद्राक्षारण्य(जहाँ पहिलो रुद्राक्ष उम्रियो र फल्यो)लाई प्रचार प्रसार गरि भारतको दक्षिण टुप्पोसम्म पुर्याउन सक्यौं, र यो फल्ने समयमा त्यहाँका धार्मिक पर्यटकलाई यहाँ तान्न सक्यौं भने यसले पिण्डेश्वर महादेव, रुद्राक्षारण क्षेत्र, धरान, हाम्रो प्रदेश र नेपालकै नाम उता चर्चामा आउने छ ।

विजयपुरलाई वा धरानलाई अमुक खाद्य पदार्थको शहर बनाएर प्रचार गर्नु भन्दा यसलाई रुद्राक्षारण्य भनेर प्रचार गर्दा पर्यटकीय दृष्टीले असल हुन्छ । तसर्थ विजयपुरका धार्मिक र सार्वजनिक एवं निजी जमिन समेतमा पनि अब रुद्राक्षको विरुवा रोप्न ढिलाई गर्नु हुन्न ।

(लेखक राजनीतिकर्मी र सामाजिक अभियन्ता हुनुहुन्छ ।)