धेरै नवजात शिशु संक्रमण भई जन्मेको एक महिना नपुग्दै मर्छन् । संक्रमण के होे ? किन हुन्छ ? र यसबाट कसरी शिशुलाई बचाउने ? यसबारे सामान्य जानकारी भएमा शिशुलाई मृत्युको मुखबाट बचाउन सकिन्छ ।

समस्या

१, नवजात शिशुमा संक्रमण भन्नाले जन्मेको २८ दिनभित्र शिशुको रगतमा कीटाणुले खराबी गर्नु हो । संक्रमण भन्नाले निमोनिया मेनेन्जाइटिस, मिर्गाैलासम्बन्धी समस्या आदिलाई जनाउँछ ।

२, प्रत्येक एक हजार जीवित जन्ममध्ये १ देखि ८ नवजात शिशु संक्रमणको उच्च जोखिममा हुन्छन् ।

३, नेपालमा १९ प्रतिशत नवजात शिशुको मृत्यु संक्रमणकै कारणले हुन्छ ।

४, जन्मेको पहिलो घन्टा तथा पहिलो दिन र पहिलो हप्ता शिशुलाई राम्रो स्याहार दिएमा रोकथाम गर्न सकिने मृत्यु दुईतिहाइले कम हुन्छ ।

संक्रमणको जोखिम कसमा बढी ?

१, तौल कम भएमा (२५०० ग्राम भन्दा कम)
२, जन्मनासाथ निस्सासिएको भएमा वा नरोएमा
३, प्रसूतिको केही दिनअघि आमालाई ज्वरो आएको भएमा वा संक्रमण भएमा
४, नवजात शिशुलाई आमाको दूधबाहेक अन्य चिज खुवाएमा
५, नाभीमा तथा आँखामा विभिन्न चिज लगाएमा
६, नवजात शिशुलाई छुनुपूर्व हात राम्रोसँग नधोएमा वा सरसफाइको कमी भएमा

संक्रमण भएको कसरी थाहा पाउने ?

१, छिटो–छिटो सास फेरेमा, कडा कोखा हानेमा
२, शिशुले आमाको दूध राम्ररी चुस्न नसकेमा
, कम्प छुटेमा, ठसठस कनेमा
४, छाम्दा बढी तातो वा धेरै चिसो भएमा
५, तारन्तार बान्ता गरिरहेमा
६, शिशुको चाल सुस्त भएमा
७, नाइटो रातो भएमा वा पिप बगेमा

रोकथाम र उपचार

१, गर्भावस्थामा आमाले नियमित गर्भजाँच गराउने
२, तालिमप्राप्त स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने
३, गर्भका वेला आमा बिरामी भए तुरुन्त उपचार गराउने ।
४, शिशुलाई जन्मेको जतिसक्दो छिटो आमाको दूध चुसाउने र यसलाई निरन्तरता दिने
, नाभीमा केही नलगाई सफा र सुक्खा राख्ने
, शिशुमा खतराको चिह्नको शंका लागेमा डाक्टरको सल्लाह लिन तुरुन्त स्वास्थ्य संस्था जाने ।
७, शिशु कमतौलको भएमा आमा वा अभिभावकको नांगोे छातीमा शिशुको छाती टाँसी न्यानो बनाएर राख्ने (मायाको अँगालो) ।
डा. प्रज्ज्वल पौडेल, बालरोग विशेषज्ञ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय्र काठमाडौं

(नयाँपत्रिका दैनिक)