धरान: गत बर्ष ईटहरी उपमहानगरपालिकामा सोलर बत्ति जडानमा भ्रष्टचार भएको प्रकरणले निक्कै हंगमा मच्चाएको थियो । यता धरानमा पनि सोलर बत्ति जडान गरिए पनि अनियमितता भए नभएको बारे अहिलेसम्म कतैबाट कुरा उठेको थिएन ।

धरानमा झण्डै ४ बर्षअघि सोलार बत्ति जडान गरिएको थियो । यतिका समय मौन रहेको यो बिषय अहिले सामाजिक सञ्जालमा उठाइएको छ । खास गरी नेपाली कांग्रेसका जिल्ला सचिव तथा आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा धरानको मेयर पदका आकांक्षी सुजेन्द्र गोले तामाङले धरानको सोलार बत्तिमा पनि भ्रष्टचार भएको भन्दै फेसबुकमा पोष्ट गरेपछि यो चर्चामा आयो । हुन त उनी मेयरको उम्मेदवारका आकांक्षी हुन्, र चुनाव लागेकोले नै चुनावी एजेण्डाको लागि उनले पोष्ट गरेको बुझाई पनि छ ।

उनले भानु चोकदेखि बरगाछीसम्म लगाएको ३८ वटा सोलार सडक बत्ति मध्ये २९ वटा नबल्ने र छाता चोकदेखि लक्ष्मी चौकसम्म लगाएको १६ वटा मध्ये १० वटा बत्ति नबल्ने दाबी गरेका छन् । यस्तै, सिंहदेवि चोकदेखि माथि लगाएको ४ वटा मध्ये २ वटा नबल्ने पनि उल्लेख गरेका छन् । जम्मा ४१ वटा बत्ति काम नगर्ने अवस्थामा भएपनि उपमहानगरपालिका चुपचाप रहेको र प्रति गोटा(पोलसहित) डेढ लाख रुपैयामा गुणस्तरहीन बत्ति जडान गरेर जनताले तिरेको करको चरम दुरुपयोग गरेको भन्दै उनले छानविनको माग गरेका छन् ।

यता, धरान उपमहानगरपालिकाका आर्थिक पुर्वाधार महाशाखा प्रमुख एवं इञ्जिनियर सुरज श्रेष्ठ भने झण्डै ५ बर्षअघि जडान गरिएको बत्ति फेर्नुपर्ने भएकोले उपमहानगरले नै बन्द गरेको बताउछन् । तामाङले भनेजस्तो डेढ लाखमा नभै ८५ हजार रुपैयामा पोलसहित जडान गरिएको पनि उनले खुलाए । सोलार बत्ति जडानको लागि सुनसरी उवा संघको पहल भएको र एउटा छुट्टै उपभोक्ता समिति बनेर जडान गरिएको श्रेष्ठले बताए । 'जडान गरिएको ५ बर्ष जति भयो,अहिले अपग्रेड गर्ने काम भएकोले नै बन्द गरिएको छ,'उनले भने ।

मुख्य राजमार्गमा २ सय वाटको सोलर ल्याम्प लगाउनुपर्ने भन्ने मन्त्रालयको कार्यविधि बनेको छ । तर, धरानमा भने १४० वाटको मात्र बत्ति लगाइएको छ । धरानमा सोलर जडान गरिदा कार्यविधि नभएकोले कम क्षमताको बत्ति लगाइएको उनले बताए । 'त्यतिबेला कार्यविधि थिएन, र कम क्षमताको लगाइएको हो, अहिले अपग्रेड गर्ने काम हुदैछ,'उनले भने ।