विश्व स्वास्थ्य संगठनका अनुसार पाठेघरको मुखको क्यान्सरबाट प्रत्येक वर्ष दुई लाख ७० हजारभन्दा बढी महिलाको मृत्यु हुन्छ । मृत्यु हुनेमा विकासोन्मुख देशका महिलाको संख्या धेरै छ । नेपालमा प्रत्येक वर्ष अनुमानित १० हजार २० जनामा यो रोग देखिन्छ । पाठेघरमा हुने संक्रमणबाट क्यान्सरको सुरुवात हुन्छ ।

पाठेघरको संक्रमण भन्नाले पाठेघर, नली र डिम्बाशयमा हुने संक्रमण हो । खासगरी मल्टिसेक्सुअल पार्टनर, असुरक्षित यौनसम्बन्ध, सरसफाइको अभाव आदि विभिन्न कारणले पाठेघरमा घाउ हुने र संक्रमण फैलने गर्छ । पाठेघरको संक्रमणले बिस्तारै क्यान्सर गराउने सम्भावना बढेर जान्छ । संक्रमण हुँदा विभिन्न जटिलता देखिन्छन् । धेरैजसोमा बच्चा पाठेघरमा नबसेर नलीमा बस्ने समस्या देखिन्छ । जसले गर्दा शल्यक्रिया गर्नुपर्ने, बच्चा खेर जाने, प्रजनन क्षमतामा असर पर्ने हुन्छ । कतिपय अवस्थामा संक्रमणका कारण बाँझोपनासमेत हुने गर्छ । लामो समयसम्म तल्लो पेट दुख्ने समस्या हुन्छ । यस्तै, डिम्बाशय र नलीमा पिप जम्ने समस्या हुन्छ ।

लक्षण

१, पाठेघरमा संक्रमण भइसकेपछि महिलामा तल्लो पेट दुख्ने गर्छ । यस्तै, ढाड दुख्ने पनि समस्या हुन सक्छ । बिस्तारै सेतो पानी बग्ने, गनाउने पानी बग्ने, यौनसम्बन्ध राख्दा पोल्ने वा दुख्नेजस्ता समस्या देखिन्छन् ।
२, कतिपयमा कमजोरीपन देखापर्ने, ज्वरो आउने हुन्छ । महिनावारीमा गडबडी हुने गर्छ । पिसाबमा समस्या देखिन्छ, पिसाब पोल्ने, छिटो–छिटो पिसाब लाग्ने हुन्छ ।

कारण

, धेरैजनासँग यौनसम्बन्ध कायम राख्ने महिला पाठेघरको संक्रमणबाट पीडित हुने सम्भावना अत्यधिक रहन्छ । यस्तै, सरसफाइको अभाव (नियमित तथा महिनावारीको समयमा पनि) संक्रमणको अर्को कारण हो । कम पोषणयुक्त खाना पनि पाठेघर संक्रमणको कारक बन्ने गरेको छ ।

रोकथाम र उपचार

१, यौनसम्बन्ध सुरक्षित बनाउनुपर्छ । सकेसम्म एकजनासँग मात्र यौनसम्बन्ध कायम राख्दा उपयुक्त हुन्छ । समय–समयमा रगत परीक्षण गर्ने, आफ्नो यौनसाथीको स्वास्थ्यबारे जानकारी लिनेसमेत गर्नुपर्छ ।
२, शरीरको सरसफाइमा ध्यान दिनुपर्छ । खासगरी महिनावारीको समयमा संक्रमण हुन सक्ने सम्भावना बढी रहने हुँदा सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ ।
३, पोषणयुक्त खानेकुरा सेवन गर्नुपर्छ । विवाहित महिलाले वर्षमा एकपटक पाठेघरको पानी जाँच गराउनुपर्छ । जसले गर्दा संक्रमण भएको पत्ता लाग्नुका साथै क्यान्सर हुनबाट बच्न पनि सकिन्छ । संक्रमणको लक्षण देखिएमा सकेसम्म छिटो चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ । यसको उपचार समयमा नहुँदा महिलाहरू क्यान्सरको सिकार हुन सक्छन्, त्यसैले समयमै सचेत हुन जरुरी छ ।

डा. दीपमाला कार्की, स्त्री तथा निःसन्तान रोग विशेषज्ञ एभरेस्ट हस्पिटल, नयाँ बानेश्वर