धरान: नेपालीहरुको दोस्रो महान पर्व यमपञ्चक अर्थात तिहारको आज आइतबार दोस्रो दिन हो । आज एकै दिन कुकुर र लक्ष्मी पूजा परेको छ ।

आज बिहान घरघरमा कुकुरको पूजा गरिएको छ । साँझमा भने लक्ष्मीपूजा गरिन्छ । कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइने र कुकुर पूजाको भोलिपल्ट औंसीमा लक्ष्मीपूजा गर्नुपने शास्त्रीय विधान हो । तर, यस वर्ष तिथि घटबढका कारण आइतबार बिहान कुकुर र साँझमा लक्ष्मीपूजा परेको छ ।

कुकुरलाई पशुको प्रतिनिधि तथा यमराजको कागपछिको दोस्रो प्रियभक्त साथै कुकुरलाई भैरवको वाहन पनि मानिन्छ। यस दिन कुकुरको पूजा गरी कुकुरलाई टीकामाला लगाइदिएर मीठामीठा पक्वान्न खुवाउने चलन रहेको छ।

laxmi-puja

समुन्द्र मन्थन गर्दा यसै दिन लक्ष्मी प्रकट भएको शास्त्रमा उल्लेख भएको आधारमा आइतबार साँझ नै लक्ष्मीपूजा मनाइँदै छ। ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको श्रद्धापूर्वक पूजा गर्नाले वर्षभर लक्ष्मीको बास हुन्छ भन्ने मान्यता रहेको छ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा यस बिहानै घर सफासुग्घर र लिपपोत गरी साँझ दीपावली गरेर लक्ष्मीलाई बोलाइन्छ। विशेषगरी घरका झ्यालढोका, कोठा, ढुकुटी,सँघार, कौसी, अटाली र भ(याङलगायत स्थानमा दीपावली गरिन्छ।

लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने ठाउँसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे माटाको पालामा दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ।

आज लक्ष्मीपूजा पछि नै महिला दिदीबहिनी भेला भई समूहमा भैलो खेल्छन् भने समुह, सामाजिक संघसंस्था तथा क्लबहरु पनि नाचगानसहित देउसी खेल्न शुरु गर्छन् । कृष्ण चतुर्दशी, औंसी र कात्तिक शुक्ल प्रतिपदाका दिन भगवान् विष्णुबाट स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले मागेर यी तीन दिन राज्य सञ्चालन गरेकाले बलिराजाले पठाएको भन्दै भैलो र देउसी खेली माग्ने चलन रहेको छ।