झापाः दिपावलीको अवसरमा आइतबार पूर्वी नेपालका आदिवासी समुदायले धुमधामसंग सामुहिक हुक्काहुक्की खेलको आयोजना गरेर मनाउँदैछन् ।

तराईका आदिवासी समुदायले परम्परागतरुपमा मनाउदै आएको हुक्काहुक्की खेल दादो दादी भनेर हजुरबा हजुरआमालाई सम्झिदै मनाउने गरेका छन् । हर्साेल्लासका साथ मनाइने गरेको हुक्काहुक्की मनाउन पूर्वका राजवंशी, ताजपुरिया, गन्गाई, माझी समुदायमा त्यस किसिमको सांस्कृतिक खेलहरु सामूहिकरुपमा आयोजना गरिने गरिन्छ । दादो दादी हुक्का दे भन्दै सुन्ठीमा आगो बालेर आकाशतिर फाल्ने खेल हुक्का हुक्की विशेषतः लक्ष्मीपूजाको दिन साँझमा खेल्ने गरिन्छ ।

दिवंगत हजुरबुबा, हजुरआमा वा जोसुकै पितृहरुलाई ‘हामीले तिमीलाई सम्झिएका छौं हामीलाई आशीर्वाद देउ’ भनी आशीर्वाद माग्दै हुक्काहुक्की खेल्ने परम्परा रहेको युवा समाजसेवी कमल प्रसाद राजवंशी बताउँछन । लक्ष्मी पूजाको विहानै आ–आफ्नो धान खेतमा गई ‘लोकेर धान आउल बाउल हामार धान दुधेर चाउल, लोकेर धान हेकाबेका हामार धान दुधेर टेका सोरा‘. सोरा’ ( अरु भन्दा हाम्रो धान राम्रो फलोस, अरुको धान भन्दा हाम्रो धान दुधको जस्तो होस) भन्दै आर्शिवाद माग्ने गर्छन् । खेतबाट इलुवा (एकप्रकारको घाँस) घरमा ल्याएर सुन्ठीलाई बाधेर हुक्का बनाउँछन् । घरको देवता र महाराजथानमा हुक्का चडाएर देवतासँग घरका सबै सदस्यलाई वर्षभरि निरोगी र सुख सयलमा राख्नु भन्दै आर्शिवाद लिने चलन छ ।

hukka-hukki1

साँझपख सामुहिक रुपमा हुक्कामा आगो सल्काएर हुक्का हुक्की खेल खेल्ने गर्छन । हुक्का हुक्की खेल खेलिसकेपछि मान्यजनहरुबाट आर्शिवाद लिई प्रसादको रुपमा पिठ्ठ (चामलको पिठोले बनाएको एक परिकार ) खाने चलन रहेको छ । राजवंशी समाज विकास समिति झापाका जिल्ला अध्यक्ष पुकार राजवंशीले हुक्काहुकी खेल आदिवासी समुदायमा विशेष महत्व रहेको बताउँछन् । आदिवासी समुदाय बसोवास रहेको स्थानमा हुक्काहुकी खेल परापूर्वदेखि खेल्दै आएको उनले बताए । तर समयको परिवर्तनसँगै सांस्कृतिक महत्व बोकेको हुकाहुकी पर्व सुन्ठीको अभाव र युवापुस्तामा पर्वबारे जागरुकताको कमीले दिनानुदिन लोप हुदै गएको छ ।

सोही अवसरमा कोचिला गाभुर फ्रन्ट गौरीगंजले सामुहिक हुक्काहुक्की खेलको आयोजना गरेको छ । हुक्काहुक्की खेल खेली सकेपछि प्रसादका रूपमा पिठ्ठ (एक प्रकारको चामलको पिठोबाट बनाएको परिकार) खुवाईने तयारी गरेको समितिकी अध्यक्ष वविता राजवंशीले बताइन् ।

hukka-hukki2