धरान : बजारमा खाना पकाउने ग्याँस अभाव देखिनुको मुख्य कारण हल्लाको भरमा उपभोक्ताले ग्याँस भण्डारण गर्दा भएको ग्याँस उद्योगहरुले बताएका छन् ।

विश्वमा फैलिरहेको कोरोना भाईरसको कारण बजारमा ग्याँस लगायत अरु उपभोग्य वस्तुहरु आयात नहुने अफवाहका कारण यसरी ग्याँस अभाव जस्तो अवस्था देखिएको सबै भन्दा बढी ग्राहक भएको  कोशी ग्याँस उद्योगका मेनेजर सचित उपाध्याय बताउछन् । जति मात्रमा सधै नेपालमा ग्याँस आयात हुनुपर्ने हो भईरहेको छ , तर एकै जनाले ५ देखि १० वटा सम्म ग्याँस सिलिण्डर लिएर भण्डारण गर्ने भएकोले ग्याँस अभाव जस्तो देखिएको हो ।

सोमबार धरानमा २ हजार सिलिण्डर पठाएको बताउदै उनले भने एकै जनाले ५ देखि १० वटा सिलिण्डर लिन आए पछि कसरी पुग्छ त ? अहिले बजारमा कोशी ग्याँसले नपुग्नु भनेको सबै भण्डारणको कारणले हो भन्दै मेनेजर उपाध्यायले भने अहिले ग्याँस भण्डारण गरेका उपभोक्ताले फेरी केही महिना सिलिण्डर नकिन्नुले ग्याँस विक्रिमा समस्या हुने ग्याँस उद्योगीहरु बताउछन् ।

सोमवार धरानमा साच्चै ग्याँस अभाव भएको झल्को दिने गरी लाईनमा उपभोक्ताहरु बसे । तर यो सव उपभोक्ताहरु अफवाहमा लागेर ग्याँस भण्डारण गर्न थाले पछि यस्तो देखिएको धरान १२ चतरालाईन को कोशी ग्याँस डिलर सुगम सप्लायर्सका भोला बरालले बताए । दैनिक त ग्याँस आउदैन तर केही दिन अन्तरमा आउने ग्याँसमा यस्तो उपभोक्ताको लाईन गलत हल्लाकै कारण भएको उनी बताउछन् ।

धरानमा ६ वटा फरक फरक ग्याँस उद्योगका डिलरहरु छन् । कोशी, प्रिमा, सुविधा, कामक्ष, रिजाल र त्रिशक्ति ग्याँस उद्योगका ग्याँसको डिलर छन् । अहिले अभाव जस्तो देखिएको कोशी र प्रिमा ग्याँस हुन् । यी दुई ग्याँस वजारमा सहजै नपाउनुको मुख्य कारण उपभोक्ताको भण्डारणनै भएको ग्याँस उद्योगहरुले बताएका छन् ।

धरानमा अहिले सहजै पाईने ग्याँस सुविधा ग्याँस भएको सुविधा ग्याँसका शंकर श्रेष्ठले बताए । उनी पनि अरुबेला जति ग्याँस आउने हो त्यही मात्रमा धरामा ग्याँस आए पनि बढी हल्लाका कारण उपभोक्ताले ग्याँस लुकाउनाले ग्याँस अभाव देखिएको बताउछन् ।

निगमको आग्रह :
नेपाल आयल निगमले ग्याँसको अभाव नहुने भएकाले एकैपटक धेरै भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

निगमले सूचना निकालेर उपभोक्ताले ग्याँस अभाव हुने डरका कारण घरमा रहेका सबै खाली सिलिण्डर भर्न खोज्दा उपभोक्ताको लाइन देखिएको भन्दै ग्याँस अभाव नहुने बताएको छ ।

अहिले खाना पकाउने ग्याँस उपभोगको औषत परिमाण ३८ हजार मेट्रिक टन रहेकोमा फागुन महिनादेखि ४५ हजार मेट्रिक टनका दरले आपूर्ति गर्ने व्यवस्था मिलाइसकेको निगमले बताएको छ । औषतभन्दा ७ हजार मेट्रिक टन ग्याँस थप आयात हुने भएकाले बजारमा ग्यासको अभाव नहुने निगमको भनाई छ ।

अनावश्यक ग्याँस भण्डार गर्दा बजारमा लाइन लाग्नुपर्ने अवस्था हुने, तथा दुर्घटनाको सम्भावना पनि बढ्ने र आपूर्ति व्यवस्था असहज हुनेहुँदा आफ्नो आवश्यकता अनुसार मात्र ग्याँस खरिद गर्न र आवश्यक बाहेक नयाँ सिलिण्डर नकिन्न पनि निगमले आग्रह गरेको छ ।