धरान : प्रदेश एकमा लकडाउनको समयमा  आत्महत्याको सङ्ख्या अन्य अवस्थामा भन्दा बढेको छ । सामान्य अवस्था भन्दा लकडाउनको बेला आत्महत्याको सङ्ख्या बढ्दै गएको हो । अहिले प्राय प्रत्येक दिन आत्महत्याको विषय समाचार बन्न थालेका छन् ।

प्रदेश १ मा चालू आर्थिक वर्षको चैत्र १० गतेसम्ममा ८८ जनाले आत्महत्या गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि सरकारले कोरोना भाइरस विरुद्ध लड्न र भाइरसको सङ्क्रमण फैलिन नदिन चैत्र ११, २०७६ मा देशभर लकडाउन गर्ने निर्णय गर्‍यो । यो लकडाउनको अवधिभर प्रदेश १ मा भने आत्महत्याको ग्राफ ह्वात्तै बढेको पाइएको छ ।

लकडाउन सुरु भएयता प्रदेश १ का १४ जिल्लामा ६० जनाले आत्महत्या गरेको प्रदेश प्रहरीको तथ्याङ्कले देखाएको छ । लकडाउन अघि झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या अधिक रहेको थियो भने लक डाउनपछि झुन्डिएर, आफैले आफैलाई सेरेर, विष सेवन गरेर तथा हाम फालेर आत्महत्या गरेको पाइएको छ ।

चालू आर्थिक वर्षको गत चैत्र १० गतेसम्मको तथ्याङ्क हेर्ने हो भने, प्रदेश १ को झापा जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको छ । झापापछि सुनसरी र मोरङ जिल्ला दोस्रोमा पर्छन् । झापामा झुन्डिएर १५ जनाले आत्महत्या गरेका थिए भने विष सेवन गरेर दुई जनाले आत्म हत्या गरेका थिए ।

यस्तै सुनसरीमा १३ जनाले झुन्डिएर आत्महत्या गरेका थिए भने २ जनाले विष सेवन गरी आत्म हत्या गरेका थिए । यस्तै मोरङमा ९ जनाले झुन्डिएर आत्महत्या गरेका थिए भने ६ जनाले विष सेवन गरी आत्महत्या गरेका थिए । इलाममा १२ जनाले झुन्डिएर आत्महत्या गरेका थिए ।

झुन्डिएर आत्महत्या गर्नेमा उदयपुर जिल्लामा ४ जना, ओखलढुङ्गामा ३, खोटाङमा १, ताप्लेजुङमा ३, पाँचथरमा १, भोजपुरमा ४, सङ्खुवासभामा २, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ जना रहेका छन् । यस्तै धनकुटामा झुन्डिएर ४ जनाले आत्महत्या गरेका थिए भने विष सेवन गरेर १ जनाले आत्महत्या गरेका थिए ।

लक डाउनपछि यस्तो छ प्रदेश १ मा आत्महत्याको तथ्याङ्क

लक डाउनपछि आत्महत्या गर्नेको सङ्ख्या सुनसरी जिल्लामा बढी देखिएको छ । वैशाख २ गते सम्म प्राप्त तथ्याङ्क अनुसार सुनसरीमा लक डाउनको यो अवधिसम्ममा झुन्डिएर १३ जना र विष सेवन गरी १ जनाले आत्महत्या गरेको पाइएको छ । यस्तै मोरङमा झुन्डिएर ९ जनाले झुन्डिएर र ३ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।

इलाममा ५ जनाले झुन्डिएर र १ जनाले आफैले आफैलाई सेरेर आत्महत्या गरेको पाइएको छ । झुन्डिएर आत्महत्या गर्नेहरूमा ओखलढुङ्गामा ३, ताप्लेजुङमा २, भोजपुरमा २, सोलुखुम्बुमा २, तेह्रथुममा १ जना रहेका छन् । त्यसैसरि प्राप्त तथ्याङ्क अनुसार उदयपुरमा झुन्डिएर ३, विष सेवन गरी १ र हाम फालेर १ जनाले आत्महत्या गरेका छन् ।

खोटाङमा झुन्डिएर ३ र विष सेवन गरी १ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै झापामा झुन्डिएर ७, विष सेवन गरी १ जना, धनकुटामा हाम फालेर १ जनाले आत्महत्या गरेका छन् । यो लक डाउनको अवधिभर पाँचथर र सङ्खुवासभामा आत्महत्याको कुनै घटना नभएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

मानिसले किन आफैलाई आफैले मार्छन् त ?

मनोबिश्लेषक वासु आचार्यका अनुसार जीवन देखी हार खाएर वा आफूलाई सहयोग र माया गर्ने मानिसको अभावको कारण शून्यतामा जीवन पुग्ने र एक छिनको गलत निर्णयले मानिसले आफैले आफैलाई मार्ने गरेका छन् । प्रेममा असफल भएका वा धोका खाएका व्यक्तिहरू बढी जोखिममा हुने मनोबिश्लेषक आचार्यको भनाइ छ ।

त्यस्ता व्यक्तिहरूलाई बढी निगरानीमा राख्नुपर्ने र त्यस्ता व्यक्तिहरूले जुनसुकै बेलामा पनि आत्महत्या गर्न सक्ने सम्भावना बढी हुने भएकाले सचेत रहनुपर्ने आचार्यको सुझाव छ । आफूमा आत्महत्याको सोचाई आउन थालेपछि नजिकको बिशेसज्ञहरुलाई भेट्नु नै पनि आत्महत्याबाट जोगिने एउटा उपाय बन्न सक्ने बताइन्छ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमन कुमार तिम्सिना अनुसार आत्महत्या रोकथाममा परिवारको सामीप्य माया प्रेरणा चाहिन्छ जुन लकडाउन को उपयुक्त समय हो चौबिसै घण्टा परिवार साथ रहेको हुँदा आत्महत्याको संख्यामा कम आउन सक्ने बताउछन ।