धरान : पछिल्लो समय सुनसरीमा कोरोना संक्रमतिको सङ्ख्या दिनानुदिन वृद्धि हुन थाले पछि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधित क्षेत्र घोषणाको अवधि ६ दिन थपेको छ ।

यस भन्दा अघि साउन २२ गते देखि २६ गते राति १२ बजे सम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो । आज फेरी सुरक्षा समितिको बैठक बसी साउन २६ गते राति १२ बजे देखि साउन ३२ गते राति १२ बजे सम्म सुनसरी जिल्लामा निषेधित क्षेत्र घोषणालाई थप ६ दिन थपेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

समुदाय स्तरमा कोरोना परीक्षण भइरहेको र त्यत्तिकै मात्रमा संक्रमित बढिरहेकोले निषेधाज्ञा (कर्फ्यु) नभएर निषेधित क्षेत्र घोषणा गरी सर्वसाधारणलाई आवत जावतमा निषेध गर्नुका साथै बजार पसल सबै बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

निषेधाज्ञामा जिल्लाभित्र सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी, अत्यावश्यक सेवाका कर्मचारीले कार्यालय समय अघि र पछि हिँडडुल गर्न पाउने छन् । सरकारी नम्बर प्लेटका र कार्यालयका कर्मचारीले प्रयोग गर्ने सवारीसाधन, अत्यावश्यक सेवाका साधन, ढुवानी तथा निर्माण सामग्री बोकेका साधन बाहेक सबै प्रकारका साधनको आवागमन बन्द रहने जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको सूचनामा उल्लेख छ ।

यसै गरी औद्योगिक क्षेत्रको हकमा सबै उद्योग प्रतिष्ठानहरूले स्वास्थ्य प्रोटोकल पालना गरी सञ्चालन गर्न पाउने छन् । त्यस्ता उद्योगमा प्रयोग हुने कच्चापदार्थ ल्याउन र उत्पादित सामान बजारमा लैजान बाधा गरिने छैन भनिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको नियम उल्लङ्घन गरे सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम सजाय हुने छ ।

सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १९१ पुग्यो
सुनसरी जिल्लामा पछिल्लो कोरोना अपडेट अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या १९१ पुगेको छ ।

यी मध्ये अहिले सम्म १२४ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् । अहिले ६७ जना उपचाररत रहेको प्रजिअ पोखरेलले बताए ।

सुनसरीको उद्योगमा काम गर्ने मजदुरमा सङ्क्रमण छैन
सुनसरी जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरहरूमा कोरोना सङ्क्रमण नभएको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताए ।

सुनसरीका विभिन्न उद्योगहरूमा पुगेर अनुगमन गर्दा अहिले सम्म मजदुरमा कोरोना सङ्क्रमण नपाइएको र धरानको प्रीति भल्भमा पनि मजदुरमा कोरोना सङ्क्रमण नभई कर्मचारीमा भएको पाइएको प्रजिअ पोखरेलले बताए ।

सुनसरीको अरिहन्त लगायतका ठुला जुट मिल र अरू उद्योगहरूमा पुगेर अवस्थाको अनुगमन गर्दा मजदुरले स्वास्थ्य प्रोटोकल कायम गरी काम गरेको संक्रमित भएको नपाइएकोले आफूले उद्योगहरू मिलेर कोरोना सङ्क्रमण भइहालेमा सङ्क्रमितलाई राख्न क्वारेनटाइन तयारी गर्न भनेको पनि प्रजिअ पोखरेलले बताए । उद्योगहरूले पनि सहमति जनाएका छन् ।

Nisedhit-Chetra-ghosana