झापा : घरबाट कार्यालय जाँदा होस वा, बजार वा विद्यालय या त कहीँ कतैको यात्रामा अहिले आम नागरिकको बानी नै परिसक्यो मास्क लगाउने । मास्क त लगाउने तर मास्क के जति बेलै लगाउने हो त ? दमक स्थित निम्स नेशनल हस्पिटलका मेडिकल अफिसर डा. सुरेश यादवले कस्ता बेलामा मास्क लगाउने र कहाँ चाहि नलगाउने भन्नेबारेमा जानकारी दिएका छन् । उनले दिएका केहि टिप्सहरु यहाँ प्रस्तुत गरिएको छ ।

१) घरबाट बजार जाँदा

बजारमा को कस्तो हुन्छ कसैलाई थाह हुँदैन । थेग्नै नसिकनेगरिको भिड बजारमा हुन्छ । हरेक प्रकारका मानिसको जमघट हुन्छ । को कहाँबाट आएका हुन कसैलाई थाह हुन्न । पसलहरूमा पनि भीड उस्तै हुन्छ । सामाजिक दुरीको पालना कमै भएको पाइन्छ । त्यसैले तपाई घरबाट केहि किनमेलकालागि जाँदै हुनुहुन्छ भने मास्क अनिवार्य लगाउनु पर्‍यो । आज त बिर्सिएछ भनेर हेलचेक्राई गर्नै भएन । तपाईँको अनिवार्य सामान जस्तै अव मास्कलाई पनि बनाउनुहोस् ।

२) अस्पताल जाँदा

अस्पतालमा विभिन्न प्रकारका रोगी बिरामीहरू आउने गर्नुहुन्छ । त्यसैले पनि अस्पताल अरुबेलै पनि जोखिम क्षेत्र हो । झन् यो महामारीको समयमा त अस्पतालमा अझ खतरा बढ्छ । त्यसैले अति आवश्यक बाहेक अस्पताल सके सम्म नजानुहोस् । टेलिफोनबाटै समाधान हुन सक्छ भने त्यसै गर्नुहोस् । जानुपर्दा अत्यन्तै सावधानी अपनाएर मास्क अनिवार्य लगाएर मात्र जानुहोस् ।

३) वित्तीय संस्था, विद्यालय तथा सरकारी कार्यालय

यी स्थानहरू सार्वजनिक स्थान हुन । यहाँ विभिन्न क्षेत्रका नागरिकहरुले सेवा लिन आउँछन् । सेवा प्रदायक संस्थामा त्यसमा पनि सार्वजनिक स्थान उसै पनि यस्ता ठाउँमा भिड हुन्छ । त्यसैले यस्ता ठाउँमा बिना मास्क जानु भनेको आफैमा जोखिम निम्त्याउनु हो ।

कहाँ लगाउनु पर्दैन .....

खागसरि यसभन्दा अघि घरमै बस्दा पनि मास्क लगाउने चलन थियो । मनमा डर भएकाले पनि घरमा बस्दा मास्क लगाएर मात्र बस्ने बानी नै परेको थियो । तर यदि घरमा बिरामी, सुत्केरी, ज्येष्ठ नागरिक वा बालबालिका छैनन् भने मास्क लगाएर बसिरहन पर्दैन । तपाईँले त्यस्तो अवस्थामा मास्क लगाए पनि हुन्छ ।

Maske

विद्यालय जाने बालबालिकामा मास्क प्रयोग गर्ने बानीको विकास कसरी गराउने ?

यो प्रश्न हामीले आम्दा अस्पताल दमकका इमेरजेन्सि इन्चार्ज डा. शखिर कट्टेललाई सोध्यौ । उनको सुझावलाई यहाँ प्रस्ट पारिएको छ ।

१) अभिभावकहरूले मास्क लगाउनुको महत् वका बारेमा आफ्ना छोराछोरीलाई उनीहरुलेनै बुझ्ने शैलीमा बताउने ।

२) विद्यालयका शिक्षकहरूले विद्यार्थीलाई कक्षाकोठामा लैजाने मास्कको बारेमा जानकारी दिने । मास्क लगाउने तरिका सहित यसको महत्त्वका बारेमा जानकारी गराउने ।

३) मास्क लगाउनुको अर्थ, लगाउने तरिका सहितका विभिन्न चित्र तथा कार्टनहरु विद्यालयका कोठा कोठामा टाँस्न पर्छ । यसले गर्दा साना बालबालिका तथा विद्यार्थीहरूले सहज रूपमा बुझ्न सक्ने छन् ।

कस्तो मास्क लगाउँदा छालामा चिलाउँछ ?

मास्क लगाउँदा कतिपय नागरिकको गुनासो हुन्छ , मास्क लगाएर मेरो नाक चिलायो । ओठ फुट्यो । कस्तो अनुहार नै चिलायो भन्ने जस्ता समस्या पनि सुन्ने गरिन्छ । खासमा कस्ता मास्क लगाउँदा यस्ता समस्या हुन्छन् र यसबाट बच्न के गर्नुपर्छ ? दमक अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. गुरु पौडेलका उपायहरू यहाँ राखिएको छ ।

१) सर्जीकल मास्क प्रयोगकर्ताले एक दिन भन्दा बढी लगाउँदा मास्क लगाउने भाग चिलाउन सक्छ । किनकि त्यसका प्वालहरू टालिसकिएका हुन्छन् । त्यसलै सर्जीकल मास्क लगाउनेले परिवर्तन गर्दै लगाउने ।

२) मास्कको बिच भागमा जति बेलै हातले चलाई रह्यो भने पनि मास्कले गर्ने काममा अवरोध हुन सक्छ र त्यसले छालामा असर गर्छ । त्यसैले मास्क लगाइसकेपछि कानमा अड्याउने डोरी बाहेक अन्त छुनुहुँदैन ।

३) सर्जीकल मास्क बाहेक कपडाको मास्क प्रयोग गर्नेले एक दिन प्रयोग गरेको मास्क बेलुका अनिवार्य ६० डिग्री सेल्सियस तापक्रममा उम्लिएको पानीमा राखेर धुने गर्नुपर्छ । एन ९५ मास्क दुई/दुई दिनमा तातोपानीमै धोएर मात्र लगाउन पर्छ ।

कोरोना कम भयो भनेर बिना सावधानी हिँडडुल गर्नु आफैमा जोखिम बढाउनु हो । त्यसैले विज्ञहरूले दिनुभएको सुझावलाई शिरोधार्य गर्ने हो भने पक्कै पनि जस्ता सुकै जटिल कोरोना आए पनि जित्न सकिन्छ ।