धरान : माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरहरूमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । आज सम्पूर्ण विद्यालयहरूमा विशेष विधिले विद्यार्थीहरू द्वारा सरस्वतीको पूजा गरिँदै छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला-साधनाका वस्तु कलम, कापी, र वाद्य यन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

सरस्वतीलाई नैवेद्यका रूपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, बयर, बेल, अदुवा अर्पण गरिन्छ ।

सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन,आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्री ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ । यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ । यसपछि सरस्वती कवच पाठ गरिन्छ ।

आज देखि सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।

आजको दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन।यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक-कान छेडिदिने गरिन्छ ।

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे।

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी।।

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी।।

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।

अर्थात् चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्याका पिपासुहरूले यस नामलाई प्रतिदिन प्रातः श्रवण किर्तन गर्नाले विद्यामा सिद्धि प्राप्त हुने शास्त्रोक्त वचन रहेको छ ।