विराटनगर : सहिद रङ्गशाला विराटनगरमा फ्लड लाइटको परीक्षण गरिएको छ ।

हिजो साँझ जनप्रतिनिधि, खेलकर्मी, प्राविधिक लगायतको उपस्थितिमा फ्लड लाइटको परीक्षण गरिएको हो । फ्लड लाइट जडानको काम करिब सकिएको निर्माण पक्षले जनाएको छ ।

गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीवीच सहिद रङ्गशालामा फ्लड लाइट जडानको सम्झौता भएको थियो । २१० दिनभित्र काम सक्ने सम्झौता भए पनि कोरोनाका कारण निर्धारित मितिमा काम सम्पन्न गर्न नसकिएको कार्की बन्धु अमर जेभीका प्रबन्ध निर्देशक गणेश कार्कीले बताए ।

कोरोनाका कारण सम्झौता अवधि गुज्रिएपछि तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरेले चालु आर्थिक वर्ष भित्रमा फ्लड लाइट जडानका लागि लिएको पहलका कारण काम सम्पन्न भएको उनले बताए ।

नेपालमै नयाँ परियोजना भएका कारण काम गर्न धेरै चुनौती भए पनि सम्पन्न गर्न सफल भएको उनले बताए । एक साता भित्रमा काम सम्पन्न गरेर सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिने कार्कीले बताए ।

फ्लड लाइटको परीक्षणको अवलोकन गर्दै निवर्तमान सामाजिक विकास मन्त्री घिमिरेले प्रदेशवासीका लागि गौरवको आयोजना तयार भएको बताए ।

उनले सबैको साथ सहयोगले रङ्गशालामा फ्लड लाइट स्थायी व्यवस्थापन भएको बताए । उनले सम्बन्धित निकायले फ्लड लाइटको दिगो व्यवस्थापनका लागि आवश्यक कार्यविधि मापदण्ड बनाउन आवश्यक रहेको बताए ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का सहायक महासचिव वसन्त अर्यालले फ्लड लाइटको जडानका कारण रात्री कालिन प्रतियोगिता सञ्चालनका लागि सहज हुने बताए । उनले गर्मी मौसममा पनि प्रतियोगिता आयोजना गर्न सकिने बताए ।

अर्यालले भने,‘ चैत–वैशाखको समयमा पनि प्रतियोगिता गर्न सकिने भयो ।’ विराट गोल्ड कपले मात्र रङ्गशालाको लागत धान्न नसक्ने भएकाले महिला लिग, मुख्यमन्त्री कप, प्रदेश स्तरीय प्रतियोगिताहरू, प्याव्सन, हिसानले आयोजना गर्ने प्रतियोगिता पनि रात्रीकालिन गरेर आम्दानी बढाउनुपर्ने बताए ।

दशरथ रङ्गशाला व्यवस्थापनको जिम्मेवारी एन्फाले लिए जस्तै यहाँ पनि कार्यविधि बनाउन आवश्यक रहेको उनको सुझाव छ ।

सहिद रङ्गशालामा प्रतियोगिता बाहेकका अन्य गतिविधिमा रोक लगाउनुपर्ने जिल्ला खेलकुद विकास समिति मोरङका पुर्वअध्यक्ष किशोरलाल अमात्यको सुझाव छ । मैदानलाई बर्षैभरि हरियो राख्नका लागि प्रशिक्षण पनि गर्न नहुने उनले बताए । प्रशिक्षणका लागि अन्यत्र नै व्यवस्थापन गर्नुपर्ने अमात्यले बताए ।

फ्लड लाइट व्यवस्थापन हेर्दै आएका सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिका चौलागाईले सरकारले जहिल्यै खर्च व्यवहोर्न नसक्ने भएकाले आवश्यक कार्यविधि र मापदण्ड बनाएर सञ्चालन गर्नुपर्ने बताए । कार्यविधि बनाएर सञ्चालन गर्न सकिए आवश्यक मर्मत सम्हारमा समस्या नहुने उनले बताए ।

सहिद मैदानको चार कुनामा जडान गरिएको १ सय ८ फिट अग्लो मास्टमा १ सय ८ वटा बल्ब जडान गरिएको छ । सामाजिक विकास मन्त्रालयले कार्की बन्धु अमर जेभीलाई ४ करोड २९ लाख रुपैयामा ठेक्का दिएको थियो ।

फ्लड लाइट सञ्चालनका लागि प्रतिघण्टा २७ लिटर डिजेल खर्च हुने प्राविधिकले बताएका छन् । लाइट जडानको काम गरेको भारतको ट्रान्सरेल लाइट लिमिटेडका केएन सत्यालले लाइट जडान राम्रो भएको बताए ।

उनले रात्रीकालिन प्रतियोगिता आयोजनाका लागि लाइट ठिक रहेको बताए । उनले अहिले परीक्षणका क्रममा सामान्य सुधार गर्न आवश्यक देखिएको बताए । उनले भने,‘ सुधारको काम दुई दिन भित्रमा सक्छौँ ।’