धरान : नेपालमा राणा शासनको जगजगी भएको बेला आज भन्दा सात दशक वर्षअघि राणा शासन विरुद्ध सङ्घर्षमा उत्रिएको नेपाली काँग्रेसका नेता बिपी कोइरालालाई राणा शासकले विराटनगरमा पक्राउ गरी अड्डासार गर्दै पैदल हिँडाएर काठमाडौँ सुन्दरीजल जेल पुर्‍याएका थिए । २००३ सालको त्यो इतिहासको साक्षी धरान बनेको थियो । त्यही इतिहास लाई धरानमा पछिल्ला पुस्ताले बिपी पथको रूपमा स्थापित गरेको छ ।

विराटनगर जुटमिल्समा भएको नेपालको पहिलो मजदुर आन्दोलनमा राणा शासनले पक्राउ गरेका बिपीलाई धरानबाट पैदल हिँडाएर लैजान विराटनगरबाट गाडीमा ल्याएर धरान-१३ फुस्रेमा रहेको सैनिक ब्यारेकमा एक रात राखेका थिए । त्यस बेला बिपीलाई भारतको गोरखपुर हुँदै रेल तथा यातायातको साधन बाटै काठमाडौँ पुर्‍याउन सकिन्थ्यो । तर राणा शासनले उनलाई पैदल हिँडाएर यातना दिएको हो । फुस्रे ब्यारेक बाट बिहान धनकुटा तर्फ हिँडाउनु अघि सर्दुको किनारमा बिपीलाई खाजा खुवाइएको थियो ।

उक्त इतिहास आठौँ दशकमा लाग्दा बिपीको राजनीतिक सङ्घर्षका पदचिह्न धरानबाट सुरु भएको उद्घोष गर्दै नेपाली काँग्रेस धरान नगर समितिले सर्दु खोला किनार लाई बिपी पार्कको रूपमा विकास गरेको छ । सोही पार्कमा शुक्रवार ७१ प्रजातन्त्र दिवस मनाउँदै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपी कोइरालाको पूर्ण कदका सालिक अनावरण गरेका छन् ।

वरिष्ठ नेता पौडेलले भने ‘बिपीको नेतृत्वमा भएको सातसालको क्रान्ति नै नेपाललाई प्रजातन्त्रको नयाँ युगमा प्रवेश गराउने मुख्य क्रान्ति हो ।’ त्यसपछि पटक पटक प्रजातन्त्रका लागि भएका आन्दोलन र सङ्घर्षहरू फागुन ७ गतेको परिवर्तनलाई निरन्तरता दिनका लागि भएको र हुँदै आएको उनले बताए । यसअघि २०७२ मा बिपी विचार यात्रा कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलले वृक्षारोपण गर्दै बिपी पार्कको संयुक्त शिलान्यास गरेका थिए ।

बिपीको पैदल यात्रा सुरु भएको विन्दुमा स्थापित बिपी पार्कको विकास र विस्तारको रूपमा बिपी कोइरालाको सालिक स्थापना गरिएको धरानका मेयर तथा काँग्रेस नगर सभापति तिलक राईले बताए । उनले भने ‘बिपीको पदमार्ग त्यस बेला पनि निरङ्कुश राणा शासन विरुद्ध अघि बढेको थियो, अहिले पनि काँग्रेसले त्यसैलाई पछ्याउँदै अधिनायकवादी प्रवृत्तिको विरोध गरिरहेको छ ।’ पार्कको भौतिक संरचना विकासका लागि दाताहरू सँग सहकार्य जारी रहने उनको भनाई छ । पार्कमा बिपीको सालिक परिवर्तनशील समाज नामक संस्थाले स्थापना गरेको हो । अनावरण समारोहका निर्माण तथा स्थापना समितिका संयोजक पूर्ण राईले दाताहरूको आर्थिक सहयोगबाट सालिक निर्माण र स्थापना गरिएको बताए ।

BP-slik-anawaran

उनको आम्दानी खर्चको विवरण अनुसार कुल अर्थ सङ्कलन १६ लाख ७३ हजार ६०५ रुपैयाँ भएकोमा कुल खर्च १५ लाख, ५२ हजार, ५९३ रुपैयाँ भएको छ । फाइबरको उक्त सालिक निर्माण धरानका कलाकार महेन्द्र राईले गरेका हुन् । धरान वडा १३ र २० को संगमस्थल रहेको सर्दु खोलाको पैदल बाटो बिपीको राजनीतिक सङ्घर्ष इतिहासको मात्र साक्षी नभई नेपालमा राणा शासन विरुद्ध प्रजातन्त्र प्राप्तिको सङ्घर्षको पनि साक्षी भएको समाजका अध्यक्ष विश्वराज शर्माले बताए ।

बिपी लाई पक्राउ गरेको मजदुर आन्दोलन नै नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा राणा शासन विरुद्ध पहिलो जनविद्रोह बनेको पाइन्छ । सुनसरी काँग्रेसका संस्थापक सचिव गिरिराज आचार्य भन्छन् ‘धरान बाट बिपी लाई काठमाडौँ सम्म पैदल हिँडाएर लैजानु नै पूर्व देखी काठमाडौँ सम्म नै राणा शासन विरुद्ध विद्रोहको सन्देश फैलने काम भएको थियो ।’

बिपीले राणाहरूको बन्दीका रूपमा हिँडेको बाटोको अनुभवबाटै देशमा परिवर्तन आएपछि पहाडी क्षेत्रबाटै सडक बनाएर राजधानी जोड्ने परिकल्पना गरेका मानिन्छ । विराटनगर जुट मिल हड्तालको निहुँमा २००३ मा तत्कालीन राणा शासनले बिपी कोइराला, तारिणिप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र युवराज अधिकारीलाई पक्राउ गरेको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ पद्म शमशेरको हुकुम बमोजिम पक्राउ परेकाहरूलाई मोरङ विराटनगर गोश्वाराले अड्डासार गर्दै काठमाडौँ पुर्‍याउन फागुन १२ गते साँझ धरान ल्याइ पुर्‍याएका थिए । त्यस बेला धनकुटामा राणा बडाहाकिम बस्थे । धरानको फुस्रेमा सेनाको गण बस्थ्यो । बडाहाकिमले सुनुवाइ गर्ने पूर्वका बन्दीहरू धनकुटा पुर्‍याउन अघि धरान बास राखी बिहानै हिँडाउने चलन थियो । काठमाडौँ पुर्याउनु पर्नेहरूलाई बडाहाकिमसमक्ष हाजिर गराई दोलालघाट हुँदै २० देखि २५ दिन पैदल हिँडाएर पुर्‍याइन्थ्यो ।

बिपीको यो बन्दी पैदल यात्रा उनलाई देशका पहाडी बाटोहरू अध्ययन गर्ने ऐतिहासिक अवसर प्रदान गरेको गिरिराज आचार्य बताउँछन् । उनी भन्छन् ‘यसै यात्रामा बिपीले धरान धनकुटा सडकको महत्त्व बुझे र प्रधानमन्त्री भएपछि योजना समेत कार्यान्वयन गरे ।’ त्यस बेला राजधानी उपत्यकालाई सर्वसाधारणले नेपाल भन्थे । धनकुटा बाहेक नेपाल पस्ने भीमफेदीबाट चित्लाङ हुँदै अर्को पैदल बाटो थियो ।

भीमफेदीबाट काठमाडौँ पुग्न ३० दिन लाग्दथ्यो । उनका अनुसार बिपी धनकुटाबाट दोलालघाट हुँदै २० दिनमा काठमाडौँ पुगेका थिए । यो यात्राले बिपीमा तराईभन्दा पहाडी क्षेत्रबाट सडक बन्न सके काठमाडौँ जोड्न नजिक हुने र त्यसले पहाडमा विकास पुर्‍याउन सक्ने धारणा बनाए । २०१७ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेपछि उनले धरानलाई धनकुटासँग सडकले जोड्ने योजनालाई प्राथमिकता दिए ।

राणा शासनपछि लोकतान्त्रिक सरकारले तत्कालीन सोभियत सङ्घबाट पहिलो वैदेशिक सहायता पाएको हो । राजनीतिक विश्लेषक भवानी बरालका अनुसार उक्त सहयोग बिपीले धरान धनकुटा सडकका लागि उपयोग गरेका थिए । त्यस बेला सडकको योजना धराननजिक हालको विष्णुपादुका गाविस, धनकुटाको मुगा हुँदै बजार पुर्‍याइने थियो । सोभियत सङ्घको विकास अनुदान एजेन्सी आरटीओ अन्तर्गत सहयोग आएकाले धरानमा निर्माण सुरु गरिएको धनकुटे सडकलाई आरटीओ रोड पनि भनिन्छ ।

धरान-७ भोटेपुलदेखि पश्चिम वडा १८ रत्नचोकसम्म बनेको २ किलो मिटर सडकलाई अहिले पनि धनकुटे रोड भनिन्छ । बिपीको पहाडी क्षेत्रबाट सडकले राजधानी जोड्ने योजना धनकुटाबाट सुरु गर्ने थियो । त्यही अवधारणालाई वैकल्पिक सडकको रूपमा पछिल्लो समय सिन्धुलीबाट राजधानी जोड्ने बिपी राजमार्ग बनेको हो ।

फागुन ७ प्रजातन्त्र दिवसमा शुक्रवार बिपी हिँडेको बाटोमा पूर्ण कदको सालिक अनावरण गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ।