समुहमा सङ्क्रमित भेटिन थाले, सङ्क्रमित भारतबाट आएकाहरुमा कडा निमोनिया 

काठमाडौं : कोभिड-१९को महामारी फेरी बढ्न थालेको छ । छिमेकी मुलुक भारतमा दोस्रो लहरका रूपमा तीव्र गतिमा बढिरहेका बेला नेपालमा पनि तथ्यांक अनुसार बढ्न थालेको हो । जसले गर्दा दोस्रो लहर आउने हो कि भन्ने आशङ्का बढ्न थालेको छ । पोखरा, काठमाडौं र वीरगञ्जमा सामुहिक रूपमा सङ्क्रमितहरू भेटिन थालेका छन् । 

इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पश्चिमाञ्चल क्याम्पस पोखराका ३२ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएको छ । विद्यार्थी दुई साताअघि जनकपुर, विराटनगर लगायत स्थानमा शैक्षिक भ्रमणमा गएका थिए । क्याम्पसमा जियोम्याट्रिक्स पढिरहेका चौथो वर्षका ४२ जना विद्यार्थी भारतको सिमानासम्म पुगेको जनाइएको छ ।

त्यही भ्रमणमा गएर फर्किएका एक जना विद्यार्थीलाई ज्वरो आयो । रुघाखोकीले सतायो । क्याम्पस बाहिर नै बस्ने ती विद्यार्थीले आफैँ पिसिआर परीक्षण गरे । नतिजा पोजेटिभ आयो । कोरोना सङ्क्रमण बढेको देखिएपछि थप ६४० जनाको स्वाब सङ्कलन गरियो । शनिवार सङ्कलन गरिएको स्वाबको पिसिआर परीक्षण रिपोर्ट सोमबार आयो । ६४० जनाको स्वाब लिएर कोरोना जाँच गर्दा थप ३५ जनामा पोजेटिभ रिपोर्ट आएको क्याम्पसका प्रशासन प्रमुख खेमबहादुर पुलामीले बताए । सुरुआतमा एक जनामा देखिएको कोरोना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा अहिलेसम्म ७६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये एक जना क्याम्पसमा अध्यापन गराउने शिक्षक समेत छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाका अनुसार केही दिन अघि काठमाडौँको एक होटेलमा ५० जनाको जमघट हुँदा त्यहाँ सहभागी भएकामध्ये ४० जनाले पिसिआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमण देखिएकामध्ये ७ जना अस्पताल भर्ना भएको उनले जानकारी दिए । ‘५ घण्टा एउटा जमघटमा भेला भएका ५० मध्ये १९ जना सङ्क्रमित हुनु र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य कुरा होइन’, उनले भने, ‘यसले कोरोना भाइरसको सङ्क्रमण फरक ढङ्गले हुँदैछ की भन्ने आशङ्का बढाएको छ । यो भाइरस कति संक्रामक किसिमको होला भनेर चिन्ता लिन जरुरी छ ।’

विगतमा दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपालमा पनि बढेको थियो । जसको मुख्य कारण थियो, खुल्ला रूपमा सीमामा आवतजावत । अहिले भारतमा पनि दैनिक ४५ हजार बढी सङ्क्रमित भेटिन थालेका छन् । जसले गर्दा प्रभावित महाराष्ट्र, तमिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात लगायतका राज्यबाट नेपाल आउनेको सङ्ख्या बढिरहेको छ । उनीहरू खुल्ला रूपमा गाउँघरमा पुग्दा जोखिम बढेको छ ।

भारतमा देखिन थालेको कोरोना सङ्क्रमण नयाँ प्रजातिको हो वा पुरानै हो भन्ने यकिन भइसकेको छैन । तर भारतबाट नेपाल आउनेहरूमा पनि कडा खालको निमोनिया देखिनुले पनि यो नयाँ भाइरस भित्रिएको हो की भन्ने चिकित्सकहरूको आशङ्का छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार मंगलबार ४ हजार ३२ जनाको परीक्षण गर्दा १ सय ८८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सोमबार भने १ सय ५० जनामा कोभिड-१९ को सङ्क्रमण भेटिएको थियो । दैनिक रूपमा केही सङ्ख्यामा भए पनि कोभिड सङ्क्रमितहरू थपिन थालेका छन् ।

सरुवा रोग अस्पतालका चिकित्सक अनुप बास्तोला कोरोना भाइरस समुदायकै बिचमा हुँदा पनि महामारी सकिएको भनेर नजरअन्दाज गर्नुको परिणाम देखिएको बताउँछन् । डाक्टर बास्तोलाका अनुसार पछिल्लो समय प्रत्येक महिना २८/३० जना बिरामी टेकु अस्पतालमा भर्ना भएका छन् । यसरी सङ्क्रमित भेटिइरहेको बेलामा महामारीलाई नजरअन्दाज गरेकाले अहिले सङ्क्रमण बढेको उनको तर्क छ । ‘सङ्क्रमण नभएको अवस्थामा पनि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्थ्यो’ डाक्टर बास्तोला थप्छन्, ‘तर सङ्क्रमित भेटिइरहेको बेलामा पनि हामी पार्टी, भोज, नारा, जुलुस र सभा सम्मेलन गर्न थाल्यौँ, गल्ती यहीँ भयो ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको (ईडीसीडी)  निर्देशक डाक्टर कृष्ण पौडेलका अनुसार नयाँ प्रकारको कोरोना भाइरसमा ‘एस जिन’ देखिँदैन् । पछिल्लो समय भेटिएका केही सङ्क्रमितमा एस जिन नदेखिएकाले नयाँ भेरियन्ट छ कि भनेर आशङ्का गर्न सकिने डाक्टर पौडेल बताउँछन् । भाइरसको भेरियन्ट पत्ता लगाउने स्रोत साधन व्यावस्थापनको लागि नेपाल जनस्वास्थ्य प्रयोगशाला, टेकु, त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी ल्याब, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको विज्ञ सम्मिलित टिम बनेको छ । ‘केही दिनमा हामी नेपालमा देखिएको कोरोना नयाँ भेरियन्टको हो कि पुरानै हो भनेर भन्नसक्छौं’ डाक्टर पौडेल सुनाउँछन् ।

भारतमा कोरोना सङ्क्रमण बढेसँगै सरकारले नेपाल प्रवेशमा कडाइ गर्ने तयारी गरेको छ । भारतबाट नेपाल प्रवेश गर्नेहरूको सीमा नाकामा चेक जाँच हुनेछ र कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिए क्वारेन्टिनमा राखिनेछ । टेकुका निर्देशक पौडेलले भारतबाट नेपाल आएका र कोरोना सङ्क्रमणको शङ्का लागेका व्यक्तिलाई क्वारेन्टिनमा राखिने बताए । सोमबार मात्रै विभिन्न नाका भएर ३ हजार ३ सय जना नेपाल प्रवेश गरेका छन् । यसरी आएकाहरूलाई हेल्थ डेस्कमा ज्वरो जाँचेर पठाइएको छ ।

ज्वरो आएका यात्रुहरूको मलेरियाको आडीटी र सम्भव भएसम्म कोभिड-१९ को एन्टिजिन टेस्ट गर्ने व्यवस्था मिलाउन भनेको छ । कोही सङ्क्रमित भेटिएमा उपचारका लागि स्वास्थ्य संस्थामा पठाइनेछ । महाशाखाले पालिकाहरूमा हट स्पटको पहिचान गर्न र समुदाय स्तरमा एन्टिजिन परीक्षणसम्बन्धी मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ ।

पश्चिमी सीमावर्ती जिल्ला कञ्चनपुरमा मंगलबार रातिदेखि विभिन्न गतिविधिमा रोक लगाइएको छ । मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले एक आदेश जारी गर्दै होलीलगायतका भिडभाड हुने कार्य गर्न रोक लगाएका छन् ।