आपसी सद्भाव र रङ्गहरूको उमङ्गको पर्व होली आज पूर्वी र मध्य नेपालको तराइ क्षेत्रमा हर्षोल्लासका साथ मनाइदैछ । काठमाडौँमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रङ्ग र अबीर लगाएर होली पर्व मनाउँदै छन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात् फागु पर्व मनाउने चलन छ ।

दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रह्लाद बच्न सफल भएको खुसीयालीमा होली मनाइने गरिन्छ।

त्यसैगरि एक कथन अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसीयाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ।

होलीको महत्वपूर्ण अङ्ग रङ्गले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रङ्ग बढी प्रयोग हुन्छ। यी रङ्ग हरूका आआफ्नै विशेषताहरू छन्।

holi-itarie

रातो

रातो रङ्गलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। त्यसैले देवताहरूले रातो रङ्गको पहिरन लगाएका हुन्छन् । अधिकांशलाई मन पर्ने रङ्ग हो- रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ। रातो रङ्गलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ। रातो रङ्ग मन पराउने मानिसहरू महत्त्वाकाङ्क्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन्।

हरियो
हरियो रङ्गलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ। यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रङ्ग पनि भनिन्छ। हरियो रङ्ग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन्। उनीहरू झैझगडा पटक्कै मन पराउँदैनन्।

पहेँलो
यो रङ्गलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ। यो रङ्ग मन पराउने मानिसहरू धर्म कर्मप्रति बढी विश्वास गर्छन्। होली हिन्दु धर्मावलम्बीहरूको चाड भएकाले यो रङ्गको विशेष प्रयोग हुन्छ। मनोविज्ञहरूका अनुसार यो रङ्ग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन् ।

नीलो
नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नील वर्णका भगवान् विष्णुले अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको मान्यता पनि सुन्न पाइन्छ ।यो रङ्गलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ।यो रङ्ग मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन्। उनीहरू अलि बढी चिन्तित स्वभावका हुने मनोविद्हरू बताउँछन् ।

कालो
होलीमा कालो रङ्गको पनि व्यापक प्रयोग हुन्छ। यो रङ्ग ईर्ष्या र स्वार्थसँग सम्बन्धित हुन्छ। यो रङ्ग मन पराउने मानिसहरू आफ्नो इच्छा र भावना खुलस्त रूपमा भन्न चाहँदैनन्। तुरुन्तै रिसाउने खालका हुन्छन्।

सेतो
धेरैलाई मन पर्ने रङ्ग हो,सेतो। यो रङ्गलाई शुद्धताको प्रतीक मानिन्छ। कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रङ्ग मन पराउँछन्। चहकिलो सेतो रङ्गलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ।