झापा : कोभिड १९ भाइरसको डेल्टा भेरिएन्टको क्षति बिर्सन नपाउँदै दक्षिण अफ्रिकामा भाइरसको म्युटेसन भएर बी.१.१.५२९ को नयाँ भेरिएन्ट देखियो । विश्व स्वास्थ्य सङ्गठनले २६ नोभेम्बरमा उक्त म्युटेसनको नाम ओमिक्रोन राख्दै भेरिअन्ट अफ कन्सर्न घोषणा गर्‍यो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १५ मङ्सिरमा प्रेस विज्ञप्ति जारी गर्दै यसबाट आम नागरिकलाई विदेश भ्रमण नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। विश्वभर विभिन्न देशमा यो भेरिअन्ट फैलिसकेकाले नेपालमा पनि सतर्क हुनुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । डेल्टा भेरियन्टको क्षति नजिकबाट देखेका जनस्वास्थ्यविद्हरू नयाँ भेरिएन्टसँग सतर्क हुनुपर्ने बताउँछन् । 

कोरोनाभाइरसको नयाँ भेरिअन्टबारे दुई ठुला प्रश्नहरू छन् । ओमिक्रोन कति छिटो फैलिन्छ ? र यसले हामीलाई कति सिकिस्त बिरामी पार्छ ? यो कुरो बुझेपछि ओमिक्रोनले ल्याएको जोखिम र चुनौती बुझिन्छ । रोग प्रतिरोधी क्षमता ज्यादै महत्त्वपूर्ण छ ।

ओमिक्रोनले समयलाई उल्टो हिँडाएर हामीलाई महामारीको सुरुवाती अवस्थामा पुर्‍याएको छैन । तर अन्यौलताले सबै कुरालाई छोपेको छ र उल्लेखित प्रश्नको जवाफले यी भ्रमहरू चिर्न मद्दत पुर्याउने छ । अहिले नेपालमा देखिएको कोरोना ओमिक्रोनमा कुन बढी खतरनाक हुन्छ भन्ने प्रश्नमा कोरोना सम्बन्धीका अध्येयता दमक अस्पतालका डा. दिवस बोहोरा भन्छन् ‘अमिक्रोनसँग आत्तीहाल्नु पर्ने स्थिति छैन। यो सामान्य एउटा मौसमी रुगामर्की जस्तो मात्रै हो ।’ डा. बोहोरोले भने ‘अहिले देखिइरहेको कोरोनाको लक्षण र ओमिक्रोनको लक्षण पनि उस्तै नै हो ।

हालसम्म देखिएका मध्ये पाँच कोरोना भाइरसलाई ‘भाइरस अफ कन्सर्न’ को रूपमा विश्व स्वास्थ्य सङ्गठनले लिएको छ । यसमा अल्फा, बिटा, गामा, डेल्टा र ओमिक्रोन रहेका छन् । ओमिक्रोन भेरिअन्ट पहिलो पटक गत (नोभेम्बर) तारिखमा दक्षिण अफ्रिकामा देखिएको थियो। यसको सङ्क्रमण छिटो फैलिएपछि डब्लुएचओले चासोका साथ हेरेको थियो । यो नयाँ भेरिअन्ट एकदमै छिटो फैलिएको पाइएकोले सतर्कता रहन चाहिँ पर्ने डा. बोहोराको आग्रह छ ।

डेल्टामा भन्दा ओमिक्रोनमा अत्यन्तै धेरै म्युटेसन देखिएको डा. बोहोराको भनाई छ । भाइरसको स्वपाइक प्रोटिनमा डेल्टा र अल्फा भेरियन्टमा देखिएकासँगै थप नयाँ म्युटेसन देखिएको कारणले गर्दा सङ्क्रमण दर बढ्ने र कोभिड-१९ विरुद्धको एन्टीबडीले काम नगर्ने हो कि भन्ने शङ्का रहेको उनले बताए ।

'पुरानो भेरिएन्ट हराएर नयाँ भेरिएन्ट धेरै देखिनु भनेको सामान्यतया भाइरस धेरै सङ्क्रामक र पुरानो एन्टीबडीले काम नगर्ने अवस्थामा पुगेको हो। यसअघि डेल्टा भेरियन्टको प्रकोप भएका ठाउँमा अहिले ओमिक्रोन भेरिअन्ट फैलिँदै गएको हुँदा डेल्टाभन्दा यो अझै सङ्क्रामक हो कि भन्ने शङ्का गर्न सकिन्छ' डा. बोहोराले उल्लेख गरे। 

हाल उपलब्ध अधिकांश खोप कोरोनाको स्वपाइक जिनलाई नै लक्षित गरेर विकास गरिएका छन् । तर खोप लगाएपछि बनेका एन्टिबडीले स्वपाइक जिनमा अत्यधिक स्वरूप परिवर्तन भए त्यसको पहिचान गरी निष्क्रिय पार्न सक्ने सम्भावना कम हुने डा. बोहोराले बताए । यस्तै, सम्भावना र अनुमान ’डेल्टा भेरिअन्ट’मा पनि गरिएको थियो। ’

डेल्टा भेरिअन्ट विरुद्ध खोपको प्रभावकारिता क्लिनिकल ट्रायलमा देखिएकोभन्दा केही खस्किएको भए तापनि समग्रमा धेरैलाई जटिल वा मृत्यु हुनबाट जोगाएको थियो । त्यसैले अव खोप लगाउन बाँकी उमेर समूहलाई तत्काल खोपको व्यवस्था मिलाउन र दुवै डोज लगाइसकेकाहरूलाई बुस्टर डोज खोप लगाइहाल्न उनको सुझाव छ ।