धरान : चासोक तङनाम लिम्बु समुदायको सांस्कृतिक चाड भए तापनि पछिल्लो समयमा आएर यसले राष्ट्रिय पर्वको रूप लिइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङले बताएका छन् । धरानमा पाँच दिन चासोक तङनाम उत्सवको आज आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि उनले भने ‘चासोक लिम्बूहरूको सांस्कृतिक चाड भए पनि अहिले आएर यसले राष्ट्रिय पर्वको रूप लिइसकेको छ ।’
उँधौली लागेसँगै मङ्सिरे पूर्णिमाका दिन देखी चासोक मनाइने भएकाले राज्यले त्यसलाई मान्यता दिएर उँधौलीको बिदा दिँदै आएको बताउँदै उक्त तिथिमा नै चासोक तङनामले राष्ट्रिय पर्वको मान्यता पाएको उल्लेख गरे । यसअघि धरान उपमहानगरपालिका उपमेयर आइन्द्र बेघाले लिम्बूहरूका बिच चाडपर्वको तिथि मिति, धर्मको नाममा भइरहेको विवादले लिम्बु समुदायलाई कमजोर बनाइरहेको बताएका थिए ।
यसअघि धरानमा युमा साम्यो महासभाले मङ्सिर १ गते चासोक तङनामको आयोजना गरेको थियो । यसबाट मङ्सिरे पूर्णिमामा मनाइँदै आएको चासोक पर्वको तिथि मितिका बारेमा लिम्बु समुदाय बिच अन्योल उत्पन्न हुने हो कि भन्ने आशङ्का थियो । उपमेयर वेघाले युमा साम्योको नाम नलिई भने ‘चासोकको मितिमै विवाद आउनु दुर्भाग्यपूर्ण हुन्छ ।’
चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेलाले चासोक तङनामलाई चुम्लुङले दशैंको विकल्पमा लिम्बु समुदायको रूपमा स्थापित गरेको बताए । २०५० साल मङ्सिरे पूर्णिमा देखी सामूहिक रूपमा मनाउन थालिएको चासोक अहिले आएर लिम्बु समुदायको पर्व बनिसकेको बताए । चुम्लुङको निर्णयलाई लागु गर्न यसको सुरुआत धरानबाटै भएकोले धरानको लागि गर्वको विषय बनेको उनको भनाई थियो । 
समारोहमा चुम्लुङ केन्द्रीय उपमहासचिव डा.योगन्द्र पालुङवाले राजनीतिक रूपमा हक अधिकार प्राप्तिका लागि लिम्बु समुदाय कमजोर देखिएका बताए । यस्तो अवस्थाले भाषिक, सांस्कृतिक रूपमा पहिचान स्थापित गर्न कठिन हुने उनको भनाई थियो । हालै सम्पन्न सङ्घीय र प्रदेश संसद् सदस्यको निर्वाचन परिणाम लिम्बु समुदायको भूमिका नदेखिएको कुरातर्फ सङ्केत गर्दै डा.पालुङवाले भने ‘अधिकार प्राप्तिका लागि पनि हामी सचेत हुनुपर्छ ।’
प्रदेश १ का पूर्व प्रदेश प्रमुख प्राडा. गोविन्द तुम्बाहाङले लिम्बु समुदायले आफ्नै मातृभाषा बिर्सँदा संस्कृति, संस्कार र राजनीतिक चेतनामा पनि अतिक्रमण भएको बताए । मातृभाषा नै नजानेपछि आफूलाई लिम्बु भन्ने भनी प्राडा.तुम्बाहाङले लिम्बु समुदायका प्रायः सबै सभा समारोहमा प्रश्न गर्दै लिम्बु भाषामा मन्तव्य प्रकट गर्दै आएका छन् ।
उद्घाटन कार्यक्रममा चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बा, उत्तम लिङथेप, केन्द्रीय सल्लाहकार नरप्रसाद लिम्बु, जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङ, राष्ट्रिय चुम्लुङ सदस्य ताजुब लिम्बुले चासोक तङनाम दशैंको विकल्पको रूपमा लिम्बु समुदायको मौलिक पर्वको रूपमा स्थापित भएको बताए । 
यसअघि चुम्लुङका वडा समितिहरू, आङ्गिक संस्थाहरूको सहभागितामा च्याब्रुङ नृत्य सहित र्‍याली प्रदर्शन गरिएको थियो । धरान-१ पुरानो अस्पतालबाट निस्किएको र्‍याली बजार परिक्रमा गरी धरान-१५ चुम्लुङ हिममा सभामा परिणत भएको थियो । र्‍यालीमा मन्त्री खापुङले पनि पैदल यात्रा गरेका थिए ।
chasok-khapung