धरान : सिआइबीले अनुसन्धान गरिरहेको एक सय केजी सुन पक्राउको प्रतिवेदन बुझाउने अवधि तिन साता बढी बाँकी रहेको सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताएका छन् ।

धरानमा बुधवार सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै उनले सिआइबीको प्रतिवेदनले सुनकाण्डको सबै कुरा खुलासा गर्ने बताए । धनकुटा हिँडेका मन्त्री किरातीसंग प्रेस सेन्टर सुनसरीले धरानमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको हो ।

सिआईविको छानबिन गर्ने अवधि ६० दिनको भएकाले प्रतिवेदन बुझाउन अझै २६ दिन बाँकी रहेको उनले बताउँदै उनले सुनकाण्डमा अन्तर्राष्ट्रिय तस्करहरूको सञ्जाल संलग्न रहेको बेल्जियमका नागरिक पक्राउ भएको कुराले प्रमाणित भएको उल्लेख गरे ।

मन्त्री किराँतीले प्रतिपक्षले भने झैँ ठुला खालका सुन तस्कर समात्न उच्चस्तरीय छानबिन बनाउन सरकार तयार भएको बताउँदै भने अन्तर्राष्ट्रिय स्तरकै आपराधिक गिरोहको अनुसन्धान गर्न राज्यद्वारा गठित सिआईबि संवैधानिक अङ्ग भएको स्मरण गराए ।

उनले भने ‘यो घट्नाको साआईबिबाटै छानबिन गर्नु पर्दछ भनेर सिआईबिलाई छानबिन गर्ने अनुमति दिएको हो ।’

सिआईबिले  छानबिन गरेर एक तहमा पुगेको अनुसन्धान भङ्ग गर्न नहुने उनको भनाई छ । पहिला पनि धेरै उच्चस्तर छानबिन समिति बनेको तर परिणाममुखी काम नभएको बताउँदै उनले भने ‘वाइड बडी काण्ड, न्यारोवडी काण्डमा केही निष्कर्ष ननिकालेको बरु सबै दलको नेतालाई जोगाउने काम गरेको सर्वविदितै छ ।’

उनले भ्रष्टाचारी विरुद्ध अभियानमा माओवादी भित्रकै ठुला ठुला नेता र सरकार पक्षकै ठुला नेता रहे पनि नजोगाउने कारबाही गर्ने बताए । उच्चस्तरीय छानबिन समिति पवित्र मनले बनाउन सरकार तत्काल लागेको तर त्यो छानबिनले विभेद गर्ने हो कि भनेर सरकार डराएको बताए ।

भ्रष्टाचार नै समाज राष्ट्र र राज्यको प्रमुख शत्रु हो । हिजो गणतन्त्र ल्याउन घोषित रूप राजासँग लडाई रहेको र देश समृद्धिका निम्ति घोषितरुप भ्रष्टाचारसँग नलडी भ्रष्टाचार पूर्णरुपमा  पराजित नगरी देश समृद्ध नहुने भएकाले संविधानमा उल्लेखित समाजवादको पहिलो पाइला भ्रष्टाचारको सबल अन्त्य भएकाले भ्रष्टाचारको लडाई नरोकिने बताए ।

नेपालको पर्यटन नेपाली पनको हुनुपर्ने उनको भनाई छ । नेपालको प्राकृतिक सम्पदा र सामाजिक सम्पदाहरूको समायोजनबाट निर्माण हुने पर्यटनमा नेपालीपन हुने बताउँदै उनले भने ‘रैथाने स्वाद र स्थानीय स्वामित्व सहितको उत्पादन बेच्ने पर्यटनलाई ब्रान्डीङ र रिमान्डिङ गर्नु पर्छ ।’

मन्त्रालयले पर्यटन प्रवर्द्धनको शीर्षकबाट धरानमा प्याराग्लाइडिङ महोत्सव आयोजना गर्ने जानकारी उनले दिए । भने ‘धरानलाई ब्रान्डीङ गर्न प्याराग्लाइडिङ महोत्सव गर्नु भन्दा अगाडी मुन्धुम ट्रेलमा सिलिचुङबाट साइक्लिङ र ताप्लेजुङबाट र्याफ्टिङ गदै चतरा, धरान आएर प्याराग्लाइडिङ गरिने छ ।’

धरानको खानेपानी समस्याको स्थायी समाधान गर्न सबै लागि पर्नुपर्ने बताए । उनले पर्यटन मन्त्रालयको बजेट धरानमा तुलनात्मक रूपमा बढी विनियोजन भएको दाबी गरे । फुस्रे देखि साँगुरी भन्ज्याङ ‘तराई पहाड पदमार्ग’को बजेट छुटिएको उल्लेख गरे ।

मन्त्री किराँतीले श्रम संस्कृति अभियान माओवादीले जनयुद्ध काल देखि नै सञ्चालन गरेको बताउँदै धरानको श्रम संस्कृति अभियान नौलो नभएको बताए । उनले भने ‘समाजका लागि श्रम गर्नुपर्ने कुराको सन्देश आफै हरेक शनिवार सरसफाइ अभियानमा लागेर दिइरहेको छु ।’

धरानमा डेङगुको नियन्त्रण र रोकथाम गर्न नेपाल सरकारको स्वास्थ्य मन्त्रालय लागि परेको बताए ।