धरान : एसइई परीक्षा लगत्तै निजी स्कुलहरू राम्रो अङ्क ल्याएका विद्यार्थीहरूलाई नगद पुरस्कारको आकर्षण समेत दिएर तान्ने प्रचारमा लागेका छन् ।
पठन पाठनलाई अङ्ग्रेजी माध्यम बनाएर निजीको समानान्तर प्रसिद्धि कमाएको धरान-१२ स्थित पब्लिक हाई स्कुलमा भने प्रचार बिना नै कक्षा ११ मा भर्ना हुने विद्यार्थीको चाप बढेको छ ।
धरानको सामुदायिक स्कुलको नमुना बनेको पब्लिक हाई स्कुलमा एसइई दिएका विद्यार्थीको चाप बढेकोले छनौटका लागि प्रवेश परीक्षा लिइएको छ ।
आज शनिवार पब्लिक हाई स्कुलमा कक्षा ११ मा भर्ना हुन आयोजना गरिएको प्रवेश परीक्षामा ५१७ जना  सहभागी भए ।
स्कुलमा छिमेकी नगरपालिका धनकुटा, तेह्रथुम, पाँचथर, सङ्खुवासभा, भोजपुर, सागुरीगढी गाउपािलकाका अधिकांश विद्यार्थीहरू प्रवेश परीक्षामा सहभागी भएको विद्यालयले जनाएको छ ।
विद्यार्थी सङ्ख्या र भौतिक पूर्वाधार
हाईस्कुलमा कक्षा नर्सरी देखि १२ सम्म ३ हजार ४ सय ४९ विद्यार्थी छन् । नर्सरी देखि कक्षा १० सम्म १८ सय ५०, कक्षा ११ देखि १२ सम्म १५ सय ९९ जना विद्यार्थी छन् ।
१ देखि १२ कक्षाका ९० वटा कक्षा कोठा (सेक्सन) छन् । प्रधानाध्यापक इन्द्रमोहन झाका अनुसार विद्यालयमा ३ सिफ्टमा पढाई हुँदै आएको छ । उनले भने ‘विद्यार्थीको अत्यधिक चाप बढेकोले २०७८ साल देखि प्रवेश परीक्षा गरेका हौँ ।’
एसइईमा सुनसरी जिल्ला पहिलो
पछिल्लो समय निजी विद्यालयहरूको मनोमानी खस्किँदै गएको छ । पब्लिक हाई स्कुलको भने बढेको दाबी गरिएको छ । स्कुलबाट यसबर्ष एसइईमा १९३ विद्यार्थीले परीक्षा दिएकोमा १५७ जनाले उत्तीर्ण भएका छन् । प्राविधिक धार तर्फ ३२ जना विद्यार्थीको रिजल्ट आउन बाँकी रहेको छ ।
नेपाल परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयबाट प्रकाशित नतिजामा सुनसरी जिल्ला भरबाट सामुदायिक विद्यालयहरू मध्ये पब्लिक हाई स्कुल पहिलो भएको छ । स्कुलकी छात्रा आकृति बराइली सुनसरी भरको सामुदायिक स्कुल मध्ये एसइईमा ३ं.८७ जिपिए ल्याउँदै टप भएकी छिन ।
एसइई २०८० मा १८ जना विद्यार्थीले ३.६-४ जिपिए, ६७ जनाले ३.२देखी ३.६ जिपिए, ५० जनाले २.८ देखी ३.२ जिपिए, २२ जनाले २.४ देखी २.८ जिपिए ल्याउँदै ८१.३५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
निजी श्रोतबाट व्यवस्थापन 
प्रधानाध्यापक झाका अनुसार सरकारले सामुदायिक स्कुलहरूलाई क्षमता अनुसार पर्याप्त मात्रामा सुविधा र शिक्षक दरबन्दी दिएको छैन । उनले भने ‘तथापि पब्लिक हाई स्कुलका अभिभावकको सक्रियताले विद्यालयको गुणस्तर वृद्धि गर्न सफल भएका छौँ ।’ अभिभावककै सहयोगमा ६ वटा बस सञ्चालन गर्न सफल भएको प्रधानाध्यापक झाले बताए ।
स्कुलमा सरकारी शिक्षक दरबन्दी ४० जना मात्र रहे पनि १८२ जना शिक्षक/कर्मचारीको व्यवस्थापन गरिएको छ । पब्लिक हाई
स्कुलमा निजी विद्यालयको तुलनामा न्यून शुल्क निर्धारण गरिएको छ । अन्य महँगा निजी स्कुलको तुलनामा शैक्षिक गुणस्तर, सुविधा सम्पन्न प्रयोगशाला र व्यवस्थित कक्षा कोठा रहेकाले अभिभावकहरूको आकर्षण बढेको प्रधानाध्यापक झाको भनाई छ ।
सरकारले ४० जना दरबन्दीका शिक्षकको तलबसँगै वार्षिक ३० हजार मसलन्द खर्च दिन्छ । तर स्कुलमा बिजुलीको बिल नै मासिक ४४ हजारको आउँछ । इन्टरनेट, टेलिफोन, इन्धन खर्च पनि अभिभावककै सहयोगले धानिएको प्रधानाध्यापक झाले बताए ।
जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
स्कुलले जेहेन्दार तथा गरिब विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था छ । उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान पनि गरिदैं आएको छ ।
व्यवस्थापन समिति अध्यक्ष हरि कार्कीले भने ‘अभिभावक, शिक्षक र विद्यार्थीको सहकार्यमा विद्यालय अघि बढेको छ । यसलाई अझै राम्रो बनाएर देशको भविष्यका आधारस्तम्भ तयार गर्न सबैको सहयोग आवश्यक छ ।’
Public-School-3public-School-Dharan-Kapuri