इटहरी : शुक्रवार बिहान (असोज ११ गते) देखि बढेको पानीको बहावको कारण सप्तकोसी ब्यारेजका ५६ वटै ढोका खोलिए । आइतबार बिहान ६ लाख ६१ हजार ५ क्युसेक सम्म बहाव पुगेपछि प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गर्‍यो । पानीको सतह बिस्तारै घट्दै गएपनि खतरा भने कायमै रहेको बताइएको छ ।

यो सामग्री तयार पार्दा सम्म कोसीमा पानीको बहाव घटेर ३ लाख ५० हजार क्युसेक पुगेको छ । हाल पश्चिम कुसाह लगायत क्षेत्रमा सिपेच भएपछि भारतीय पक्षले नियन्त्रणको काम सुरु गरेको छ । २०६५ सालमा कोसी फुट्दा पानीको बहाव १ लाख ६८ हजार क्युसेक थियो । सोही आधारमा पनि खतरा भने टरिसकेको छैन ।

यस पटक कोसीले उदयपुर र सप्तरीका क्षेत्रमा (पश्चिम तर्फ) कटानको सङ्केत देखाएको छ । पश्चिमी भागमा कटान हुने भएपछि प्रशासनले उच्च सतर्कता अपनाएको छ ।

यसअघि सन् १९६८ मा (५६ वर्ष अगाडी) ९ लाख १३ हजार क्युसेक पानीको बहाव रेकर्ड भएको इतिहास छ । त्यस यता आइतबार बिहान सबैभन्दा धेरै पानीको बहाव मापन भएको देखिन्छ । सन् १९९० को अगस्टमा ५ लाख ९० हजार क्युसेक मापन गरिएको थियो ।

पानीको बहाव बढेसँगै कटान मात्र हैन ब्यारेज नै सङ्कटमा पर्ने देखिएको छ। सन् १९५४ मा भएको कोसी सम्झौता अनुसार १९५८ मा बनेको ब्यारेज जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने देखिन्छ । २५ वर्ष आयु तोकिएको ब्यारेजको आयु ६७ वर्ष पुगेको छ । म्याद गुज्रिएको ४२ वर्ष हुँदा समेत ब्यारेजको सामान्य मर्मत बाहेक अन्य विकल्प बारे टुङ्गो लागेको छैन ।

समस्या नदी बाहिर ब्यारेजमा मात्र हैन नदी भित्रै देखिएको स्थानीयहरू बताउँछन् । कोसी नदीको भन्दा बस्तीको जमिनको सतह गहिरो भएपछि कटान पछिको स्थिति भयावह हुने बताइएको छ । शनिवार कोसीको बाढी अवलोकन गर्न पुगेका प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्थानीयले बालुवा निकाल्ने वातावरण मिलाउन आग्रह गरे ।

बालुवा बढी भएको कारण बस्तीभन्दा अग्लो ठाउँमा कोसी बगेको भन्दै बेलैमा ध्यान पुर्‍याउन सचेत गराए । कार्कीले पनि बालुवा निकाल्नको लागि नेपाल सरकार र भारत सरकार बिच भएका सम्झौताको अध्ययन अनुसार योजना बनाउनु पर्ने बताए । कोसी ब्यारेजबाट ३२ किलोमिटर क्षेत्र भित्रको मर्मत तथा रेखदेखको जिम्मा भारतको हुने सम्झौता अनुसार भारतीय पक्षको स्वीकृति बिना बालुवा निकाल्न सम्भव देखिएको छैन ।

Koshi Pulkoshi-badi-gyanendra-karki