धरान : दशैंमा टिका थाप्न जानेहरूले अनिवार्य रूपमा केशेली बोक्ने 'स्याउ' धरान बजारमा यसपालि नेपालमै फलेको जुम्लाको स्याउले ओगटेको छ । 

धरान कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने ‘धरानमा कोसेली बोक्नेहरूले जुम्लाको स्याउ हारालुछ गरेर लगेका छन् ।’ स्वादमा मिठो बजार भाउमा सस्तो भएकोले देशैंको स्याउ बजारमा जुम्लाको स्याउले कब्जा जमाएको उनको भनाई छ ।

जुम्लाको स्याउ अहिले खुद्रा बजारमा प्रति केजी १४० देखी १५० रुपैयाँमा विक्री भइरहेको छ । भारत र चीनबाट आयात गरिएको स्याउको भाउ भने प्रति केजी २६० देखी ३०० रुपैयाँ पर्ने व्यवस्थापक भट्टराईले बताए ।

उनले भने ‘नेपालमा उत्पादन भएको स्याउ सिजनको बेलामा मात्र पाइने भए पनि अन्य स्याउको तुलनामा स्वादिलो हुने उपभोक्ताहरूको अनुभव छ ।’ यसपालि ठिक दशैंको बेला जुम्लाको स्याउ बजारमा आएकाले अधिकतम उपभोक्ताले स्याउको स्वाद पाएका छन् ।

आयातित स्याउ भने बाह्रमास पाइने भएकाले सिजन सकिएपछि उपभोक्ताहरू फेरि भारत र चीनको स्याउमा निर्भर रहने उनको भनाई छ । नेपाली स्याउलाई पनि बेमौसमको बोला बजारमा ल्याउन सके आयातित स्याउसँग बजारमा राम्रो प्रतिस्पर्धा गर्न सक्ने उनको भनाई छ ।

दशैंको चौथो दिन मङ्गलवार सम्म धरानमा जुम्लाको स्याउ ४० टन खपत भएको व्यवस्थापक भट्टराईले बताए । धरान र इटहरीको खुद्रा बजारमा स्याउ धेरै मात्रामा विक्री भएको बताउँदै उनले भने ‘अहिले कृषि बजारको थोक विक्रेताको भण्डारमा जुम्लाको स्याउ एउटै पनि बाँकी रहेको छैन ।’

स्टोरमा दशै अगाडी आएका भारत र चीनका स्याउ भने अझै बाँकी रहेको उनले बताए । तुलनात्मक रूपमा धरानको दशैं बजारमा यसपालि जुम्लाको स्याउ नै धेरै खपत भएको उनले दाबी गरे । 

Jumlas-Appleव्यवस्थापक भट्टराईले जुम्लाको स्याउ धरान आउने बित्तिकै धराने खुद्रा व्यापारीहरूले हारालुछ गरेको बताउँदै भने ‘अहिले पनि धेरै फोन आउने गरेको छ ।’ कृषि बजारमा आउने, बजारमा डुलाएर विक्री गर्ने व्यापारीहरू जुम्लाको स्याउ कहिले आउँछ भनेर सोध्ने गरेको उनले बताए ।

भारतबाट आउने सिमला र चीनबाट आउने फुजी स्याउको तुलनामा जुम्लाको स्याउ सस्तो रसिलो रहेको उनले बताए । बजारमा राम्रो क्वालिटीको जुम्लाको स्याउ आउने बित्तिकै सकिएको बताउँदै उनले भने ‘उत्पादनको सिजन नै सकिएकोले बजारमा आउनै छोड्यो ।’

कतिपय व्यापारीले आयातित स्याउ विक्री गर्न जुम्लाको स्याउ बिक्री नभएको भन्ने हल्ला समेत फिँजाएको उनले बताए ।

भट्टराईले भने ‘ग्रेडिङ भएका तल्लो गुणस्तरको स्याउ पनि व्यापारीले ल्याएकाले त्यस्तो हल्ला फैलाइएको हो ।’ स्तरीय र ग्रेडिङ भएका स्याउ कृषिमा आउन पनि नपाई उपभोक्ताले नै रित्याएको बताउँदै भने ‘कृषि बजारमै आएर लैजाने गरेकाले जुम्लाको स्याउ बजारमा समेत पुर्‍याउन भ्याइएन ।’

उनका अनुसार बजारमा जुम्लाको स्याउको माग भए पनि जुम्लामा स्याउ फल्ने सिजन सकिएकाले दशै सकिएसँगै जुम्लाको स्याउ अब बजारमा आउँदैन । 

अधिकांश फलफूल व्यवसायीले जुम्लाको स्याउ खरिद गरेर विक्री वितरण गर्दै आएका छन् । धरानमा नेपाली स्याउको माग बढी भए पनि बजारको मागलाई धान्न नसकेको उनले बताए ।  

मानिसहरूले स्याउ बर्षभरि नै उपभोग गर्ने गरेता पनि नेपालमा उत्पादन हुने स्याउ एक सिजन मात्र उत्पादन हुने भएकाले बाहिरबाटै स्याउ आयात गर्नुपर्ने हुन्छ । चिन र भारतबाट आउने सिमला र फुजी मात्र २०० मेट्रिक टन स्याउ चाडबाडमा भित्रिएको भट्टराईले बताए ।