धरान : अनलाइनबाट हुने लेनदेन पैसाको कारोबार विकास सँगै सामाजिक सञ्जाल प्रयोगकर्ता ठगिन थालेका छन् । विभिन्न प्रकारका नयाँ एपहरू धेरै सञ्चालनमा आउन थालेकाले उनीहरू ठगिने गरेका हुन ।
हाल धरानमा अनलाइनबाट काम गर्नुपर्ने भन्दै मासिक १ लाख कमाई हुने प्रलोभन दिएर ह्वाट्सएपमा लिङ्क पठाई ठगी गरिएका घटना बढेको छ । यसरी ठगिएकी धरान-५ की ३० वर्षीया उषा राईले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
राईलाई उनको मोबाइलमा ह्वाट्सअप एपबाट लिङ्क आयो । खोल्दा सिधै टेलिग्राम एपमा गई लिङ्कमा भएको आइडीको मानिसले घर बसेर थोरै लगानीमा अनलाइनबाट ३० प्रतिशत कमिसन पाउनेमा लगानी गर्न आग्रह गरे ।
३० प्रतिशत कमिसन पाउने लोभमा बैकको क्युआरमा ५०० रुपैयाँ पठाएको पीडित राईले बताइन । ५०० पठाएपछि एउटा टास्क पुरा गर्नु भनियो । टास्क पुरा गरेपछि सावाँ र ३० प्रतिशत नाफा पठाइयो ।
उषाले भनिन् ‘उक्त काम फेरी गर्छु भनेपछि अर्को टास्क खेल्दा टास्क पुरा नभई फेरी लगानी लाउनुस् भनियो ।’ लगानी गर्दै जाँदा २ लाख १२ हजार ६०८ रुपैंया पठाइसके पनि टास्क पुरा भएन । अझै लगानी मात्र लगाउन भनिरहेकोले ठगिएको थाहा पाई इलाका प्रहरी कार्यालयमा उजुरी गरेकी हुन ।
कामको लागी रकम पठाउँदा धेरै जनाको बैङ्क खाता र ईसेवा मार्फत पठाएको राईले बताइन । त्यसपछि पैसा मात्र मागिरहने, टास्क पुरा नै नहुने उनको भनाई छ ।
अर्का पीडित धरान-११ की ३८ वर्षीया दुर्गा प्रधानले पनि त्यसरी नै टाक्स प्रयोगको काम सुरु गरेकी थिइन् । धेरै कमिसन दिएपछि दिएको टास्क पुरा नहुने र लगाएको लगानी आउँछ भन्दै १ लाख १५ हजार ६०० रुपैंया ठगिएको उनले बताइन् ।
धरान-११ का २० वर्षीय सुरज श्रेष्ठ त्यस्तै तरिकाले ३ लाख ५० हजार रुपैंया ठगिएका छन् । यसरी अनलाइनबाट धेरै ठगिने प्रायः युवाहरू रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले बताए ।
उनका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को असोज महिनामा मात्र १५ जनाको उजुरी परेको छ जसमा धेरै जसो युवाहरू रहेका छन् ।
सामाजिक सञ्जालमा फ्रेण्ड बनेर पार्सल पठाएको बहाना गरी रकम ठगिनेमा अधबैँसे महिलाहरू छन् । अनलाइनबाट समानहरू खरिद गर्दा समान नआउने, चिट्ठा नभरी चिट्ठा पर्यो भन्ने र विभिन्न चरणका प्रक्रियाहरू पूरा गर्न रकम मागेर ठगिएका धेरै पीडित रहेको बताइएको छ ।
गत आर्थिक वर्ष २०८०-८१ मा ६२ वटा उजुरी परेको थियो । ७ वटा उजुरी मिलेको छ भने ६ वटा मुद्दा दर्ता भएका छन् । ४९ वटा फर्छ्यौट बाँकी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
डिएसपी जवेगुले भने ‘सामाजिक सञ्जालको प्रयोग युवा वर्गहरूले धेरै गर्ने भएकोले ठगिने पनि युवाहरू नै धेरै रहेका छन् ।’ सजिलो काम, मेहनत गर्न नपर्ने घरमै बसी सजिलै पैसा कमाउने लोभ युवाहरूलाई हुने भएकाले युवाहरूलाई लक्षित गरी ह्वाट्सअप, टेलिग्राम लगायत अनलाइन एपबाट ठगी भएको उजुरी आउने गरेको छ ।
नेपालमा इन्टरनेट सम्बन्धी विज्ञको कमी र दैनिक परिवर्तिन हुने एप्सहरुको कारण ठगी गर्नेहरू पत्ता नलाग्ने हुँदा कतिले उजुरी दिने झन्झट नै गर्दैनन् । यसबाट ठग्नेहरू प्रोत्साहित गएको अधिवक्ता दीपक कुमार बुढाथोकीले बताए ।
यस्तो केशमा असली ठगहरू पत्ता लाग्न भने मुस्किल हुने गरेको डिएसपी जबेगुको भनाई छ । उनले भने ‘पडितहरुलाई असली ठगहरूको बारेमा केही थाहा हुँदैन उनीहरू सोसल मिडिया मार्फत बोलचाल हुने आइडीहरू अधिकांश विदेशबाट सञ्चालन गरेको हुन्छन् ।’
उनका अनुसार ठग पत्ता लगाउने उपाय पीडितहरूले रकम लगाएको बैङ्क एकाउन्ट हो । तर बैङ्क एकाउन्टका मानिसहरू नै पीडित हुन्छन् । उनीहरू कतिलाई आफ्नो बैङ्क एकाउन्ट थाहा हुँदैन ।
कतिलाई पैसा आएको गएको थाहा नै हुँदैन तर मुद्दा दर्ता हुने डरले कतिले पैसा फिर्ता गरिदिए पैसा पाउँछन् तर हाल सम्म असली ठग सम्म पुग्न भने सकिएको छैन ।