धरान: विराटनगर ५ की चम्पा नेपाल करिब ६ बर्षअघि घरेलु कार्यालयले दिएको एउटा तालिममा सहभागी भइन् । करिब १० दिनको उक्त तालिममा उनले जुत्ता र चप्पल गरी २ आइटम बनाउन सिकिन् ।
मात्र २ आइटम जुत्ता र चप्पल बनाउन सिकेकी नेपालसँग अहिले झण्डै ४० वटा जति विभिन्न प्रकारका जुत्ता, चप्पल बनाउने सिप छ । उनी आफ्नै पौरख र मेहनतले महिला उद्यमी बन्न सफल भएकी छिन् । उनी जुत्ता, चप्पल बनाउन सिपालु छिन् । उत्पादन गर्न मात्र होइन, अचेल उनी विभिन्न ठाउँमा तालिम दिन पनि पुग्छिन् । आइतबारदेखि धरान १० स्थित सैनिक भवनमा आयोजित महिला उद्यमी मेला २०७५ मा उनले उत्पादन गरेको जुत्ता, चप्पलले सबैको ध्यान आकृष्ट गर्न सफल भएको छ ।
मेलाबाट आफ्नो उत्पादनको प्रर्वद्धन भएकोमा निक्कै खुशी नेपाल भन्छिन्,‘दोस्रो दिन बिक्री पनि राम्रो भयो । यस्तो उद्यमी मेलाले हामी जस्तो घरेलु उत्पादन गरिरहेकालाई फाइदा पुग्छ । हाम्रो समानको प्रचार हुन्छ, बजार पाउछ ।’ नेपालले तालिम लिएपछि घरमा नै मेशिन राखेर २०७० सालदेखि जुत्ता, चप्पल उत्पादन गर्न थालेकी थिइन् । उनले घरेलु उद्योगमा चम्पा सु सेन्टर दर्ता गरेर उद्यमतर्फ पाइला चालेकी थिइन् । मेहनत र परिश्रमले उनी छोटो समयमा नै सफल उद्यमी बनिसकिन् । अहिले उनको घरेलु उद्योगमा छाला, ढाका र मखमलीको विभिन्न डिजाइनको जुत्ता, चप्पल उत्पादन हुन्छ । उनले ७ जनालाई रोजगारीसमेत दिएकी छिन् ।

उनको उत्पादन विभिन्न पसलहरुले पनि बिक्रीको लागि लैजान थालेको छ । इटहरी, झापा, काठमाण्डौं र विदेश पनि निर्यात हुने गरेको छ । सिजन (दशैं तिहार) को बेला महिनामा एक लाखसम्मको कारोबार हुन्छ भने अरु समयमा पनि मासिक ३०, ४० हाराहारीमा कारोबार हुने गरेको उनले बताइन् । ‘शुरुमा त घरमा बाहुनकी छोरीले नि जुत्ता, चप्पल बनाउने भन्दै कराए, तर मेरो श्रीमान्बाट एकदमै साथ पाए । अहिले परिवारका सबै खुशी नै हुनुहुन्छ,’धरानको उद्यमी मेलाको स्टलमा भेटिएकी नेपालले भनिन् ।
धरान १२ चतरालाइनमा यमुना तुम्सा सङ्यकले चौबिसे सङयक ढाका बुटिक सञ्चालनमा ल्याएको एक बर्ष भयो । उनी आफै ढाकाको टोपी, साडी, खाडीको दौरासुरुवाल, कोट, इस्टकोट, मेख्ली, चौबन्दी, पछ्यौरी, रुमाल, मफलरलगायत सामान तयार गर्छिन् । ढाकाको कपडा पनि आफै तयार गर्ने यमुनाले पनि उद्यमी मेलामा स्टल राखेकी छिन् । भन्छिन्,‘हाम्रो ब्राण्डको प्रचारप्रसार राम्रो भयो । कतिलाई कपडा कहाँ पाइन्छ भन्ने थाहै हुदैन, खोजी गरिरहेको हुन्छ । मेलाको माध्यमबाट धेरैलाई थाह भयो ।’
चम्पा शु सेन्टर र चौबिसे ढाका बुटिकजस्तै उद्यमी मेलामा सुन्दर हरैचाबाट शुभ तालिम केन्द्रद्धारा निर्मित हस्तकला तथा सिलाईकटाईको उत्पादनहरुको स्टल राखेको छ भने वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुले उत्पादन गरेका घरेलु सामग्रीहरु पनि प्रर्दशनमा छ । यस्तै, इटहरीस्थित क्रिएटिम एग्रो प्रोडक्टको उत्पादनहरु, हातेमालो उद्यमी महिला समुह धरान र दन्तकाली महिला सशक्तिकरण समितिले पनि उत्पादन गरेको घरेलु, हस्तकलाका समानहरु उद्यमी मेलाका आकर्षणहरु हुन् । आयोजक महिला सञ्जाल धरानले उद्यमी महिलाहरुलाई प्रोत्साहन गर्न दोस्रो दिन सोमबार बि टु बि कार्यक्रम पनि आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रममा मितेरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले महिलाहरुलाई उद्यमशिल बन्न प्रोत्साहन गरेका थिए । कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका महासचिव शिवराज श्रेष्ठ, सञ्जालकी पुर्वअध्यक्ष मिना पुलामीले पनि महिलाहरुलाई उद्यमशील बन्न उत्प्रेरित गरेको अध्यक्ष सविता राईले बताइन् ।