झापा : हरेक वर्ष झैँ धान सुपरजोन झापाले आफ्ना क्षेत्रका कृषकहरुलाई अध्ययन अवलोकनका लागि वर्दिया जिल्लाको राजापुरसम्म पुर्याएको छ ।
झापाको दक्षिणि क्षेत्रमा पर्ने कचनकवल गाउँपालिकामा पर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोनको सेवा क्षेत्रका कृषकहरुलाई अध्ययन अवलोकनका लागि भ्रमणमा लगिएको हो । हरेक वर्ष अन्तरजिल्लामा सञ्चालित विभिन्न वालीहरुमा नेपाल सरकारले घोषित गरेका जोन सुपरजोन क्षेत्रको अध्ययन, अवलोकन तथा ज्ञान आर्जन गर्न भ्रमण कार्यक्रम गरिन्छ । यस आर्थिक वर्ष २०७५÷०७६ का लागि स्विकृत कार्यक्रम अन्तर्गत ३० जना कृषकको सहभागिता गराएर विभिन्न कृषि प्रविधि तथा गतिविधिको अध्ययन अवलोकन कार्यक्रम भएको छ ।
भाद्र २१ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको अध्ययन अवलोकन भ्रमण झापाबाट सुरु भइ नेपाल कृषि कम्पनीद्वारा सञ्चालित प्रविधि र प्रविधिमैत्री खेतीको अवलोकनबाट शुरुवात भएको थियो । भ्रमणमा सहभागी कृषकहरुलाई नेपाल कृषि कम्पनीले सञ्चालन गरेको मोरङ्गको डाँगिहाट कृषि फर्मका प्रमुख डाक्टर विवेकानन्द झाले मेसिन उपकरणका उपयोगिता तथा त्यसमा लाग्ने लागत र धानका सफल जातका बारेमा जानकारी गराएका थिए । त्यसपछिको कृषकहरुले धनुषा जिल्लामा रहेको राष्ट्रिय धानवाली अनुसन्धान केन्द्रमा पुगेर अवलोकन गरेका थिए ।
हर्दिनाथ, बनिनियाँ धनुषामा रहेको राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रले गर्ने काम र धानवालीमा प्रयोग हुने नविनतम प्रविधि तथा यन्त्र उपकरणका लागि केन्द्रका प्रमुख डाक्टर रामवरण यादवले कृषकहरुलाई जानकारी गराए । त्यहाँ विभिन्न जातका धानहरुको जानकारीसँगै पानी विनापनि फलाउन सकिने धानको जातको विकास भइरहेको टनेलको पनि अवलोकन कृषकहरुले गरेका थिए । सेन्सर जडित उक्त टनेल पानी पर्दा आफैँ वन्द हुने र घाम लाग्दा आफै खुल्ने प्रविधि देखेर कृषकहरुमा उत्साहित भएको भ्रमण टोलीका नेतृत्व एवं धान सुपरजोन वनियानी झापाका प्रमुख मेघनाथ तिमिल्सिनाले जानकारी दिए ।
धनुषाबाट कृषकहरुको टोली हेटौँडामा पुगेर बास वसेका थिए । खाना वासको ब्यवस्थापनका वाली संरक्षण अधिकृत सागर बिष्टले गरेका थिए । फिल्ड सहजिकरणका लागि प्रविधिक सहायक अम्बिका लुइटेललाई जिम्मेवारी तोकिएको थियो । हेटौँडाबाट टोली कपिलबस्तुको धान सुपरजोनमा अध्ययन गर्न पुगेको थियो । त्यहाँ दुवैतर्फबाट जानकारी तथा अनुभवहरु आदनप्रदान गरिएको थियो । टोलीले मकै सुपरजोन अध्ययनका लागि दाङको राप्ती गाउँपालिका पनि पुग्यो । दाङको अवलोकनमा भार्मिक कम्पोष्ट मल तथा कस्टम हायरिङ सेन्टर, सोलार सिचाई प्रविधिको अन्ययन गरिएको थियो । त्यहाँ चीनले प्रतिकठ्ठा ७ क्वीन्टल धान फलाउन सकिने धानको जात विकास गरेको जानकारी सञ्चालक समितिले जानकारी गराएको थियो ।
दुई वालीसम्म मकै फलाउन सकिने मकै सुपरजोन क्षेत्रमा यो भदौको सिजनमा भने चारैतिर धानवाली मात्र देख्न सकिन्छ । मकै खेतिमा आधुनिकीकरणका लागि केहि सामान्य मेसिन खरीद गरेको मकै सुपरजोनबाट कृषकहरु बढीनै आकर्षित भएको पाइएको थियो । दाङको सतबरियामा निर्माण गरिएको कष्टम हायरिङ सेन्टर अवलोकन पछि भ्रमण टोली वर्दियाको राजापुर पुगेको थियो । कर्णाली नदीले टापु वनाएको राजापुरमा धान सुपरजोन क्षेत्र छ । राजापुर क्षेत्र भारतको सिमावर्ती क्षेत्र हो । यहाँका अधिकांस कृषकहरु धान खेतीमा निर्भर छन् । धान सुपरजोन सञ्चालक समितिका संयोजक शिवप्रसाद चौधरी नै राजापुर नगरपालिकाका मेयर छन् । भ्रमण टोलीले राजापुरबाट फर्कदा कपिलवस्तुको तिलौराकोटमा रहेको राजा सुद्धोधनको राजदरवार, गौतम बुद्धको जन्मस्थल लुम्विनी अवलोकन गर्दै टोली झापा फिरेको छ । अध्ययन अवलोकन भ्रमणबाट कृषकहरुमा थप हौसला तथा उर्जा मिलेको प्रतिक्रिया दिएका छन् ।

IMG_9222