धरानः नेपालीहरुलाई वडा दशंैले छोपिसकेको छ । दशैंको अष्टमीमा खसी वा बोका वलि दिइन्छ । त्यसैले अष्टमीको अघिल्लो शुक्रबार धरान वडा नं १३ स्थित कृर्षि उपज बजारस्थलमा लाग्ने साप्ताहिक खसी बजारमा किसान, व्यापारी र ग्राहक सर्वसाधारणहरुको अत्यधिक भिड लाग्छ ।
धरानको यो कृर्षि बजारमा दशैंमा धरान र आसपासको क्षेत्रबाट मात्र होइन, मोरङ, धनकुटा र भोजपुरबाट पनि किसान र व्यापारीहरु खसी, बोका बिक्री गर्न आएका हुन्छन् । यहाँ खसी, बोका बिक्री गरेर आएको पैसाले दशैं मनाउने उनीहरुको उद्देश्य हुन्छ । दशैं नजिकिदै गर्दा यो बजारमा करोड बढीको खसी,बोका बिक्री हुने गरेको कृर्षि बजारका व्यवस्थापक लक्ष्मण भटराई बताउँछन् । उनका अनुसार गएको शुक्रबार(असोज १९ गते) १ करोड भन्दा बढीको खसी बोका बिक्री भएको थियो भने आज शुक्रबार(असोज २६ गते) दोब्बर कारोबार हुने उनले बताए ।
‘अघिल्लो शुक्रबार १ हजार वटा खसी, बोका बिक्री भएको तथ्यांक छ, सरदर २० हजार केजी पुग्छ र ५ सय प्रतिकेजीको दरले हिसाब गर्दा १ करोडको कारोबार अघिल्लो शुक्रबार मात्र यहाँ भएको छ,’उनले भने,‘आज त झन् त्यो भन्दा बढी बिक्री हुन्छ । अष्टमीमा वलि दिन आज किन्न आउनेहरुको भिड छ ।’

3 11

पुलिस, सशस्त्रलाई पैसा नदिए दुःख दिन्छन्ः किसान, व्यापारी
भोजपुरको याकुबाट ५ वटा खसी बिक्री गर्न आएका गजेन्द्र कार्की ठाउँ ठाउँमा तिर्नुपर्ने कर र घुसले किसान, व्यापारी हैरान भएको बताउँछन् । उनका अनुसार एउटा जिल्लामा निकासी कर तिरे पछि अर्को जिल्लामा तिर्नुपर्दैन । तर, उनले भोजपुरको जरायोटारमा निकासी कर तिरेपछि पुनः धनकुटाको भेडेटारमा पनि जिल्ला निकासी कर तिर्नुपर्यो । त्यति मात्र होइन, मुलघाट र भेडेटारमा सशस्त्र र ट्राफिक प्रहरीलाई पनि थप पैसा दिनुपरेको उनले बताए ।
‘मुलघाटमा क्वारेन्टाइन खै भन्दै दुःख दिएन । पैसा नदिए खसी,बोका गाडीबाट उतारेर राखिदिन्छन्, त्यसैले सशस्त्र प्रहरीलाई २ सय रुपैया तिर्नुपर्यो, विल दिनु न भन्दा चिया खाने पैसा हो, छैन भने,’उनले भने,‘भेडेटारमा पनि ट्राफिकले मान्छे बोक्ने गाडीमा किन खसी, बाख्रा बोकेको भन्दै ५ सयको चिट काट्यो । अब पशु बोक्ने छुट्टै गाडी पहाडमा छैन, के मा ल्याउनु ?’
मुलघाटमा सशस्त्रलाई र भेडेटारमा ट्राफिकलाई पैसा बुझाउनुपर्ने बाध्यता उनको मात्र होइन । पहाडी जिल्लाबाट धरानको कृर्षि बजारस्थित हटियामा दशैंको लागि खसी, बोका बिक्री गर्न आउने सबै किसान, व्यापारीले बुझाएका छन् । राज्यले पनि गैरकानुनीरुपमा दोहोरो, तेहेरो निकासी कर लिइरहेको छ । ‘निकासी कर पनि जिल्लापिच्छे लिने होइन, तर लिइरहेको छ । प्रहरीले पनि ठाउँ ठाउँमा पैसा मागेर दुःख दिइरहेको छ,’कृर्षि बजारका अध्यक्ष पर्शुराम कटवालले भने,‘नाफा जति कर तिरेरै सकिन्छ, अनि किसान, व्यापारीले कसरी बाच्नु ?’

तस्बिर क्याप्सन :

1 14 4 3 2 17