धरान: पुर्व अर्थात प्रदेश नं १ मा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ शुरु भएको धरानमा भन्दा अगाडि नै कोशी पारी उदयपुर जिल्लाको बेलका नगरपालिकामा प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आउने भएको छ ।

बेलका नगरपालिका ८ स्थित वोप्ताङ डाँडाबाट साहसिक खेल पर्यटनअन्र्तगत प्याराग्लाइडिङ स्कुल सञ्चालनको तयारी भएको हो । प्याराग्लाइडिङको व्यावसायिक उडान पुर्वमा पहिलो पटक धरानमा दुई निजी व्यावसायिक संस्थाले गरेपनि पाइलट उत्पादन गर्ने प्रशिक्षण केन्द्र(स्कुल) सञ्चालनमा भने बेलका नगरपालिकाले धरानलाई पछि पार्न लागेको हो । बेलका नगरपालिका र नेपाल प्याराग्लाइडिङ एण्ड ह्याण्डग्लाइडिङ एशोसिएशन(नेफा)को सहकार्यमा चाडै स्कुल सञ्चालनमा आउनेछ । स्कुलको लागि धरानको बुढासुब्बा प्याराग्लाइडिङ प्रालिले प्राविधिकरुपमा सहयोग गरिरहेको छ ।

आउदो नोभेम्बर पहिलो साताबाट औपचारिक स्कुल शुरुवात हुने प्रालिका अध्यक्ष लेखमणी जिमीले बताए । ‘बेलका नगरपालिकाले प्याराग्लाइडिङ स्कुलको लागि चासो दिएर ठुलो सहयोग गरेको छ, नोभेम्बरबाट कोर्ष नै शुरु हुन्छ,’उनले भने । बेलकामा वोप्ताङ डाँडामा टेकअफ तयारी भइसकेको छ भने कोशी किनारको करिब २५ बिघा खाली जमिन ल्याण्डिङको लागि नगरपालिका र स्थानीय वन समुहले उपलब्ध गराइसकेको छ । यहाँ सोलो पाइलटको लागि कोर्ष हुनेछ । अहिलेसम्म पोखरामा र भर्खर स्याङ्जाको शिरकोटमा मात्र प्याराग्लाइडिङको स्कुल सञ्चानलमा छ । बेलकामा शुरु भए यो पुर्व एवं प्रदेश नं १ को लागि पहिलो स्कुल हुनेछ । ‘हाम्रो सम्भाव्यता अध्ययनको रिपोर्ट नेपाल उड्यान प्राधिकरण(क्यान)लाई दियौं, त्यहाँबाट मन्त्रालय पुग्यो, र भदौंमा स्वीकृति दियो,’प्रालिका सचिव एवं पाइलट राम राईले भने,‘अब एक पटक क्यान र सेफ्टी विभागबाट सम्भाव्यता र एरोनेटिक अवस्था हेर्न विज्ञ टोली आएपछि फाइनल हुन्छ ।’ क्यानको विज्ञ टोली दशैंलगत्तै आएर स्थलगत अध्ययन गर्नेछ ।

IMG_6063 copy

धरानमा यहाँ २०५७ सालमा प्याराग्लाइडिङको सफल उडान परीक्षण भएको थियो । धरान ४, छोटोमोरङ डाँडाबाट स्काई एडभेन्चर प्रालि र धरान २० स्थित चिण्डे डाँडाबाट बुढासुब्बा प्याराग्लाइडिङ प्रालिले व्यावसायिक उडान पनि शुरु गरिसकेको छ । तर, दुवै संस्थाले स्कुल सञ्चालनमा भने धरानमा सफलता पाउन सकेनन् । धरानमा स्कुल सञ्चालनको योजना नभएको पनि होइन । बेलका नगरपालिकामा भन्दा अघि धरानमा प्याराग्लाइडिङ स्कुल चलाउने तयारी भएको थियो । धरानमा आयोजना भएको एकुरेसी च्याम्पियनसिपको क्रममा नेफा पदाधिकारीहरुले नै धरान २० को चिण्डे डाँडा स्कुल चलाउने घोषणा गरेको थियो । यस्तै, बुढासुब्बा प्याराग्लाइडिङ प्रालिले नै वडा २० कै गोर्खा स्मृति पार्कमा टेकअफ बनाएर प्याराग्लाइडिङ स्कुल चलाउने अर्को विकल्पको तयारी पनि गरिसकेको थियो । तर, अहिले प्रालिका सञ्चालकहरु निराश छन् ।

कोशी कोरिडोरअन्र्तगतको विद्युत प्रसारण (हाइटेन्सन)लाइनको कारण चिण्डे डाँडा र गोर्खा पार्कको प्याराग्लाइडिङ विस्तापित हुने अवस्थामा पुगेको छ । ‘गोर्खा पार्क, चिण्डे डाँडा नजिक हुदै हाइटेन्सन जाने भएछ, यसले दुवै ठाउँको प्याराग्लाइडिङलाई विस्थापित बनाउनेछ,’प्रालिका सचिव राईले गुनासो गर्दै भने,‘हामीले हाइटेन्टसन त्यहाँबाट नलगोस भनेर धेरै प्रयास गर्यौं, नगरपालिकामा पनि भन्यौं, तर असफल भयौं ।’ पर्यटन विकासको नारा दिने धरान उपमहानगरपालिकाले नै नो अब्जेक्सन लेटर दिएकोले प्याराग्यालाइडिङ विस्थापित हुने अवस्थामा पुगेको उनले बताए । ‘स्कुल चलाउने योजना पनि तुहियो, तारै तार भएको ठाउँमा जोखिम हुन्छ,’उनले भने ।

IMG_6066 copy

धरानमा स्कुल सञ्चालनको योजना तुषारापात भएपनि बेलकामा स्कुल सञ्चालनमा आउदा पुर्वमा प्याराग्लाइडिङ पाइलटको अभाव पुर्ति भन्दै प्याराग्लाइडिङ सम्बद्ध पर्यटनकर्मीहरु खुशी छन् । पयाराग्लाइडिङको व्यावसायिक विकासमा टेवा पुग्नेछ । नेपालमा साहसिक खेलकुदको प्रचुर सम्भावना भएकोले प्याराग्लाइडिङ व्यावसायिकरुपमा शुरु हुदा युवाहरुले रोजगारी पाउनेछ । ‘चुरे, महाभारत रेञ्ज प्याराग्लाइडिङको लागि अति उत्तम ठाउँ हो, उड्न र ल्याण्डिङ यहाँ राम्रो हुन्छ,’अध्यक्ष जिमिले भने,‘यही स्कुल भएपछि पाइलट बन्न पोखरा गइरहनु पर्दैन, सस्तोमा नै कोर्ष हुन्छ ।’ गत असार, साउनमा प्रालिले नै करिब एक महिनासम्म बेलका नगरपालिकासँगको सहकार्यमा युवाहरुलाई प्रि बेसिक कोर्षअन्र्तगत ग्राउण्ड ह्याण्डलिङ तालिम गराइसकेको थियो । ती युवाहरुले अब टेकअफबाट सहजै प्याराग्लाइडिङ गर्न सक्ने अध्यक्ष राईको भनाई छ । ‘उहाँहरु उड्नसक्ने भइसक्नुभएकोछ, अब बेसिक कोर्षबाट पक्का पाइलट बन्नुहुन्छ,’उनले भने ।

बेसिक कोर्ष १५ दिनको हुनेछ । यो कोर्ष गर्न एक जनालाई १ लाख ५० हजार मात्र खर्च लाग्छ । यही कोर्ष गर्न पोखरा र शिरकोटमा २ लाख ५० हजार तिर्नुपर्छ भने अन्य खर्चको पनि हिसाब गर्दा अत्यधिक लाग्छ । बेलाका वडा नं २ का युवा कमल राईका अनुसार नगरपालिकाले कोर्ष गर्न इच्छुक युवाहलाई प्रतिव्यक्ति ५० हजारसम्म लगानी गरिदिने बताएको छ । ‘प्रि बेसिक कोर्ष गरिसकेकाहरु बेसिक कोर्ष गर्न चाहदा ५० हजार लगानी गरिदिने भएको छ, बाँकी खर्च आपैmले जुटाउनुपर्ने छ,’प्रि बेसिक कोर्ष गरिसकेका उनले भने,‘हामी ७, ८ जना तयार भइसकेका छौं, भविष्यमा यसैमा लाग्ने भनेर उत्साहित छौं ।’

IMG_6069 copy

IMG_6055 copy

IMG_6071 copy