तेह्रथुम: प्रदेश नं १ सरकारले खडेरी पीडित तेह्रथुम, पाँचथर र धनकुटाका किसानलाई राहत वितरण गरेको छ ।

यो वर्ष यी जिल्लाका विभिन्न स्थानीय तहका सुख्खाग्रस्त क्षेत्रका किसानले लगाएको वर्षे र हिउँदे बालीमासमेत खडेरीले क्षति गरेपछि किसानले भोकमरी लाग्ने अवस्था आएको भन्दै राहतको माग गरेका थिए । प्रदेश सरकारले खडेरी पीडित किसानको क्षतिको अनुगमन गरी पहिलो चरणमा चाडवाडलाई लक्षित गरी राहतस्वरुप नगद सहयोग गरेको हो । प्रदेश र स्थानीय सरकारले संयुक्त रुपमा तीन जिल्लाका सुख्खाग्रस्त क्षेत्रका करिब चार हजार किसानलाई राहत वितरण गरेका छन् । खडेरीका कारण पुगेको क्षतिपुर्ति स्वरुप पहिलो पटक राहत पाएको भन्दै किसानहरु समेत खुसी भएका छन् ।

6 copy

तेह्रथुमको म्याङलुङ नगरपालिकासहित छथर, फेदाप र आठराई गाउँपालिकाका पीडितहरुलाई राहत वितरण गरेको छ । यस्तै, पाँचथरको तुम्बेवा र कुम्मायक गाउँपालिका तथा धनकुटाको चौबिसे गाउँपालिकाका खडेरी पीडित किसानलाई पनि सरकारले राहत वितरण गरेको छ । प्रदेश सरकारबाट ५ हजार रुपैयाँ र त्यसलाई ७० प्रतिशत मानेर बाँकी ३० प्रतिशत अर्थात् २ हजार १ सय ५० रुपैयाँ स्थानीय तहबाट थप गरी प्रति परिवार ७ हजार १ सय ४२ रुपैयाँका दरले राहत वितरण गरेको छ ।

प्रदेश सरकारको सहयोगमा नगर क्षेत्रका २ सय २९ किसानलाई शनिबार राहत वितरण गरिएको म्याङलुङ नगरपालिकाका प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले बताए । किसानलाई प्रतिनिधि सभाका सदस्य डा. विजय सुब्बा र प्रदेश सभा सदस्यद्धय लक्ष्मण तिवारी र तेजमान कन्दङवा, जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई लगायतले राहत वितरण गरेका थिए । खडेरीका कारण किसानले लगाएको मकै, धान, कोदो, मास, मटर लगायत अन्न र फलफुल बाली नष्ट भएको थियो । खडेरीका तेह्रथुमको म्याङलुङ नगरपालिकाका २ सय २९, छथर गाउँपालिकाका ८ सय ४५, आठराई गाउँपालिकाका ४ सय ८६ र फेदाप गाउँपालिकाका ६ सय ३५ परिवार प्रभावित भएका थिए ।

1 copy

यस्तै पाँचथरको तुम्बेवा गाउँपालिकाका ६ सय ७९, कुम्मायक गाउँपालिकाका ३ सय ११ र धनकुटाको चौबिसे गाउँपालिकाका ५ सय ३१ परिवार खडेरीबाट पीडित भएका थिए । कुल ३ हजार ७ सय ९० परिवारलाई प्रदेश सरकारबाट १ करोड ८९ लाख ५० हजार रुपैयाँ र स्थानीय सरकारबाट ९४ लाख ७५ हजार गरी २ करोड ८४ लाख ८५ हजार रुपैयाँ राहतस्वरुप वितरण गरिएको छ । प्रदेश सरकारले खडेरी पीडितका समस्याबारे अनुगमन गरी सुल्झाउन आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले सुख्खाग्रस्त गाउँहरुको अनुगमन गरी प्रतिवेदन समेत बुझाएको छ । सोही प्रतिवेदन बमोजिम खडेरी पीडितका लागि तत्कालिन, अल्पकालिन र दीर्घकालिन योजनाहरु सहित राहतका कार्यक्रम अघि सारिएको कार्यदलका एक सदस्य तथा तेह्रथुम प्रदेश सभा (क) का सांसद लक्ष्मण तिवारीले बताए ।

जलवायु परिवर्तनले जैविक विविधतामा पु¥याएको असरका कारण पनि पछिल्ला वर्षहरुमा पानीका मुहानहरु सुक्नेक्रम बढ्दो छ । तेह्रथुम, पाँचथर र धनकुटामा तमोर नदी आसपासका डेढ दर्जन बढी गाउँहरु अहिलेपनि सुख्खाग्रस्त क्षेत्रको रुपमा रहेका छन् । त्यस्ता गाउँको समस्या समाधानका लागि प्रभावकारी कदम चालिनु आवश्यक जरुरी रहेको छ ।

3 copy

7 copy

rahat5 copy

rahat1 copy

raht4 copy

rahat2 copy