धरान: धनकुटा र सुनसरीको सिमाना रहेको भेडेटार पर्यटकीय आकर्षणको केन्द्र हो । यसको चर्चा अहिले पनि सर्वत्र छ । जसको छाँयामा परेर नजिकैको सुन्दर नाम्जे गाउँ गुमनाम थियो ।
२०६८ सालमा अमेरिकी समाचार संस्था सिएनएनले यही गुमनाम गाउँलाई विश्वको १२ औं ग्रामिण गन्तव्यहरुको सुचीमा राख्यो । यसले भेडेटारको छाँयामा परेको नाम्जेलाई विश्व चर्चित बनायो । त्यसपछि चारैतिरबाट नाम्जेमा घुम्न आउने, बास बस्न आउने आन्तरिक, बाह्य पर्यटकहरुको घुइचो लाग्ये । स्थानीयहरु के गर्ने, कसो गर्ने भनेर मेसो पाइराखेका थिएनन् । त्यसबेला एक जना व्यक्ति अगुवा भई निस्किए । जसको नेतृत्वमा अहिले साँगुरीगढी गाउँपालिका ६ मा अवस्थित नाम्जे गाउँ पर्यटकीय केन्द्र बन्न सफल भएको छ । ति व्यक्ति हुन्, अनिल राना मगर ।
उनी ग्रामिण पर्यटन र होम स्टेको व्यवस्थापन गर्न अग्रसर नभइदिएको भए अहिलेको नाम्जे यो रुपमा हुने थिएन । नाम्जे गाउँलाई चर्चित बनाउन सिएनएनको जति भुमिका छ, त्यति नै महत्वपुर्ण भुमिका उनको छ । उनकै नेतृत्वमा गाउँलेहरुले होम स्टे तालिम लिएर अभ्यास गरे । अहिले नाम्जेमा होम स्टे बस्न पर्यटकहरुको घुइचो लाग्छ । यसले स्थानीयको आम्दानी पनि बढाएको छ । मगर साविक भेडेटार गाविसका दुई पटक निर्वाचत गाविस अध्यक्ष पनि हुन् । एमालेबाट उनी २०४९ र २०५४ सालको स्थानीय निकाय चुनावमा गाविस अध्यक्ष जितेर जनताको सेवा गरेका थिए । अहिले ग्रामिण पर्यटनमा सक्रिय हुदै देश, विदेशका पर्यटकहरुको सेवा, सत्कारमा रमाएका छन् ।

IMG_0006 copy

हुन त उनी अहिले पनि पुर्वएमाले जिल्ला सदस्य थिए । तर, सिएनएनले आफ्नो गाउँलाई विश्वचर्चित बनाएपछि २०६८ साल यता राजनीतिमा सक्रियता घटेको छ । त्यो समय ग्रामिण पर्यटन अभियन्ता र होम स्टेको प्रर्वद्धन, व्यवस्थापनमा सक्रिय छन् । ‘राजनीति कम गर्छु, म पर्यटन, होम स्टे व्यवस्थापनमा सक्रिय छुँ । पर्यटन गतिविधि कमजोर होला कि भन्ने चिन्ताले राजनीतितिर अलिक कम ध्यान छ,’उनी भन्छन् । विगतको राजनीति, जनप्रतिनिधिकोरुपमा गरेको काम, अनुभव र पर्यटनको सक्रियताले गएको स्थानीय तह चुनावमा पनि उनको सम्भावना थियो । तर, उनले टिकट पाउने लालसा लिएनन् । बाँकी समय पनि उनी पर्यटनमा नै बिताउन चाहन्छन् । भन्छन्, ‘होम स्टेले पर्यटनसँग जोडिए, यसको व्यवस्थापनमा सक्रिय छुँ, यसैमा खुशी र सन्तष्टी मिलेको छ ।’

हुन पनि उनी नहुने हो भने नाम्जेको होम स्टे व्यवस्थापन अहिलेको जस्तो हुदैन । कोही नाम्जे होम स्टे बस्न आउनुपर्दा उनैलाई फोन गर्छन् । कस्लाई कुन घरमा राख्ने भनेर उनले नै व्यवस्थापन गर्छन् । सबै घरधुरीमा समानरुपमा पाहुनाको व्यवस्थापन गर्छन् । जसले गर्दा सबैले आम्दानी गर्ने अवसर पाउछन् । होम स्टेको कारणले नाम्जेबासीहरुले पनि राम्रो आम्दानी गरिरहेका छन् । होम स्टेमा दिनहुँजसो पाहुना बास बस्न आउछन् । उनीहरु बिहान, बेलुकी पाहुनाको स्वागत, सत्कार गर्न भ्याइ नभ्याई हुन्छ । अझ शुक्रबार आउनु हुन्न, गुड फ्राइडे मनाउन सहर, तराईबाट हुलका हुल आन्तरिक पर्यटकहरु नाम्जे पुग्छन् । घरमा जे पाकेको हुन्छ, त्यही खान्छन् र बास बस्छन् । पाहुनाहरुले खाएको, बास बसेको पैसा तिर्छन् । हिजोआज उनीहरुले कतै ऋण पान खोज्नु परिरहेको छैन । ‘हाम्रो आर्थिक अवस्थामा धेरै सुधार आएको छ । कतैबाट केही किन्नु पदैन्, सबै आफ्नै घरमा, बारीमा हुन्छ,’स्थानीय धनमाया मगरले भनिन्,‘हरियो तरकारी, फलफुल पाहुनाहरुले किनेर लैजानु हुन्छ, यसले पनि थप आम्दानी बढेको छ ।’

IMG_2689 copy

सिएनएनले नाम्जेको मगर सँस्कृति, प्रकृति, थुम्की डाँडास्थित मगर पुर्खाहरुको चिहानलाई भत्काएर बनाएको आत्मा बस्ने घर, अग्र्यानिक खेती र होम स्टेको चर्चा गरेको थियो । यो चर्चाले टाढा टाढाबाट देशी, विदेशी पर्यटकहरु नाम्जे गाउँ आउन थाले । घरमा बास बसेको र खाएको पैसा तिरे । त्यसपछि मात्र स्थानीयले पर्यटन र होम स्टेको महत्वलाई बुझे । ‘पाहुनाहरु त पहिलादेखि नै राख्थ्यौं, तर सिनएनएनले प्रचार गरेपछि मात्र होम स्टेबारे बुझ्न सक्यौं । पर्यटकहरु हाम्रो गाउँ खोज्दै आउन थाले, हामीलाई एकै चोटी अवसर र चुनौती आइलाग्यो,’अध्यक्ष राना मगर भन्छन्,‘बाध्य भएर पनि होम स्टे शुरु गर्यौं, अहिले हाम्रो जिविकोपार्जनमा धेरै मद्दत पुगेको छ ।’

चर्चित पर्यटकीयस्थल भेडेटारबाट करिब ४ किलोमिटर पुर्वमा अवस्थित छ नाम्जे गाउँ । यहाँका ३० घरधुरी मिलेर पञ्चकन्या कृषक समुह बनाएका छन् । स्वागत सत्कार गर्नुपर्यो, कतै श्रमदान गर्नुपर्यो भने यो समुह एकजुट भएर लागिपर्छ । तिमध्ये १९ घर होम स्टेमा दर्ता भएपनि अहिले १३ घरधुरीले मात्र होम स्टे सञ्चालन गरेका छन् । अब ३० घरमा नै होम स्टे चलाउने तयारी व्यवस्थापन समितिले गरिरहेको छ । होटलमा भन्दा होम स्टेमा पर्यटकहरुलाई खान, बस्न सस्तो पर्छ । एउटा घरमा बसेको पाहुनाहरुले कम्तीमा ४ हजारदेखि १० हजारसम्म खर्च गर्छन् । एउटा घरले महिनामा कम्तीमा पनि ५० हजारको कारोबार गरेका हुन्छन् । बढीमा ८० जना राख्ने क्षमता भएको होम स्टेमा शुक्रबार त सय देखि डेढ सयसम्म पाहुनाहरु बास बस्न आइपुग्छन् । एक साता अघिदेखि नै होम स्टे बुक गर्नुपर्छ । सरकारी उच्च अधिकारीहरु पनि नाम्जेमा पटक पटक पुगेका छन् ।

IMG_9986 copy

IMG_0002 copy