धरान: सरकारले नेपालको पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि थप १ सय नयाँ गन्तव्यहरुको सुची सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बिहिबार सार्वजनिक गरेको सय नयाँ गन्तव्यहरुको सुचीमा १ नं प्रदेशका १४ वटै जिल्लाका पर्यटकीय गन्तव्यहरु पनि समेटिएका छन् । सरकारले स्थापित भइसकेको पर्यटकीय गन्तव्यहरुलाई प्रर्वद्धन गर्नुपर्ने सुची र नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यहरुको सुची गरेर दुई किसिमले सार्वजनिक गरेको छ ।

new

प्रदेश १ को सुनसरीबाट धरान, इटहरी, बराहक्षेत्रसहित सबैभन्दा धेरै पर्यटकीय क्षेत्र समेटिएको छ भने मोरङको एउटा मात्र समेटिएको छ । मोरङको बेलबारीस्थित धनपालगडी पर्यटकीय क्षेत्र मात्र नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सुचीमा परेको छ । सुनसरीमा भने कोशीटप्पु वन्यजन्तु आरक्ष, धरान, बराहक्षेत्र नगरपालिकास्थित बराहक्षेत्र र इटहरी उपमहानगरस्थित तालतलैया स्थापित तथा प्रर्वद्धन गर्नुपर्ने गन्तव्यहरुको सुचीमा परेको छ । यसैगरी, धरानकै पिण्डेश्वर–दन्तकाली पदमार्गलाई नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सुचीमा राखिएको छ । झापाको बाँसबारी सिमसार पर्यटन पुर्वाधार केन्द्र स्थापित गन्तव्यको सुचीमा छ । यस्तै, झापाकै विर्तामोडस्थित सहीद नेत्रलाल पार्क, गौरादह कृर्षि पर्यटन केन्द्र र अर्जुनधारा पर्यटकीय क्षेत्र पनि नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सुचीमा छ ।

 

ताप्लेजुङ जिल्लाको स्थापित तर प्रर्वद्धन गर्नुपर्ने गन्तव्यमा पाथीभारा र साँवा गाउँपालिकामा अवस्थित फुङफुङे झरनालाई समेटेको छ भने नयाँ गन्तव्यकोरुपमा सिदिंग्बा गाउँपालिकास्थित तिङबुङ पोखरीलाई समेटेको छ । यसैगरी, पाँचथरको नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यमा गुरु फाल्गुनन्द सर्किट(लोब्रे कुटी–गजुरमुखी धाम–लारुम्बा–चुक्कीनाम्बा)लाई समेटेको छ भने इलामको सन्दकपुर–माइपोखरीलाई स्थापित गन्तव्यकोरुपमा सुचीकृत गरेको छ । तेह्रथुमको तिनजुरे–मिल्के–जलजले(टिएमजे)लाई नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सुचीमा पर्दा संखुवासभाको अरुण उपत्यका स्थापित गन्तव्य र बोलेश्वर ऐतिहासिक गुफा नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सुचिमा अटाइएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित नमस्ते झरना स्थापित गन्तव्यको सुचीमा परेको छ भने छ थर गाउँपालिकाको हलदे पटके डाँडा पर्यटक ट्रेल नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सुचीमा छ । भोजपुर जिल्लाको ट्याम्के डाँडा(मुन्धुम ट्रेल) नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सुचीमा समेटिदा खोटाङको हलेसी महादेव स्थापित तथा प्रर्वद्धन गर्नुपर्ने गन्तव्यको सुचीमा छ भने बराह गाउँपालिकाको बराह पोखरी नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सुचीमा छ ।

1

यस्तै, सोलुखुम्बुको स्याङ्बोचे र सगरमाथा स्थापित गन्तव्यको सुचीमा समेटिदा महाकुलुङ गाउँपालिकास्थित पाँच पोखरी नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सुचीमा छ । ओखलढुंगाको पोकली झरना स्थापित तथा प्रर्वद्धन गर्नुपर्ने गन्तव्यको सुचीमा परेको छ भने थोलेदम्बा डाँडा नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सुचीमा अटेको छ । उदयपुरको उदयपुरगढी नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सुचीमा छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको सरकारले नयाँ पर्यटकीय गन्तव्यहरुको सुची सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार नयाँ गन्तब्यको पूर्वाधार विकास गर्न चालु आर्थिक बर्षमा नै बजेट विनियोजन गरिनेछ । नयाँ गन्तव्यहरुको लागि पुर्वाधार र स्थापित भइसकेका गन्तब्यहरुका लागि पनि थप प्रचार प्रसार गर्न बजेट विनियोजन गरिने मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

3