पथरीः भारतको सिमावर्ती सिक्टी देखी मोरङ्गको उत्तरी नाका जोडने सिक्टी–पथरी–जाँते–ज्यामिरे–मिक्लाजुङ सडक कालोपत्रेका लागि संघीय सरकार, अर्थ मन्त्रालयसँग स्थानीय सरकारहरुले रकम माग गरेका छन् ।
उक्त सडक खण्डमा पर्ने स्थानीय सरकार प्रमुखहरुबीच छलफलले उक्त सडकको लागि अर्थमन्त्रालयसँग आवश्यक बजेट माग गर्ने सहमति भएको हो । उनीहरुले सो मार्ग कालोपत्र गर्न सके भारत, नेपाल र चीन बीच व्यापार गर्न सहज हुने समेत बताएका छन् । भारतको दक्षिणी सिमानाको सिक्टीबाट पथरी, जाँते हुँदै पूर्वको प्रचुर पर्यटकीय सम्भावनाको ऐतिहासिक महत्वको मिक्लाजुङ् उक्त सडकले जोडिनेछ । यस्तै, त्यहाँबाट पाँचथर, ताप्लेजुङ हुदै चीन जोडने सडकमार्ग कालोपत्रे गर्नसके मोरङ्गको पहाडी भेगसहितका अन्य पहाडी जिल्लाको उत्पादन एवं व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


पथरीशनिश्चरे नगरपालिकामा हालै पथरीशनिश्चरे, लेटाङ र सुनवर्षी नगरपालिका प्रमुखहरुबीच यही सडकलाई व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो । बैठकमा पथरीशनिश्चरे प्रमुख दिलिप राईका साथै उपप्रमुख यमुना विष्ट वास्तोला, लेटाङ नगर प्रमुख शंकर राई र सुनवर्षीकय प्रमुख कालिप्रसाद दास सहभागी थिए । पथरीशनिश्चरेका मेयर दिलिप राईकय अनुसार मोरङको सुनवर्सी नगरको सिमानामा पर्ने भारतीय नाका सिक्टी हुदै मोरङका पथरीशनिश्चरे, लेटाङ र मिक्लाजुङ यो सडकले जोडने बताउँछन् । यसै गरी पाँचथर र ताप्लेजुङबाट चिनको नाका सम्म यो सडक विस्तार गर्न सके त्यहा पुग्न सहज हुने उनको तर्क छ । मोरङ, धनकुटा, इलाम र पाँचथरको सिमामा पर्ने पूर्वको पर्यटकीयस्थल मिक्लाजुङ्सम्म सो सडकले जोड्दछ ।


मिक्लाजुङ् गाउँपालिका प्रमुख देवीप्रसाद आचार्यले भने,‘यो सडक निर्माणले ज्यादै ठूलो महत्व राख्छ । स्थानीय सरकयरहरुले मात्र निर्माण गर्न सम्भव नभएकाले त्यसमा संघीय सरकारले ध्यान दिनैपर्छ ।’ भारतको सिमानादेखि आयात निर्यातको व्यवस्थापनमा सो सडक निर्माणको आवश्यकता परेको हो । यसबेला सामान्य सडक भएपनि ७० फिट चौडाईको कालोपत्रे सडक निर्माण गरी पहाडी जिल्ला हुँदै चीनसम्मको र यता भारतसम्मको व्यापार प्रवद्र्धन गर्न सिक्टी नाका महत्वपूर्ण हुने सुनवर्षी नगर प्रमुख दासको भनाई छ । सुनवर्षी ८ सिक्टीस्थित हचन्द्रगढी भन्सार जीर्ण वनेको छ । यसको मर्मत सम्भार आवश्यक रहेको दास वताउछन । कर्मचारीको अभाव झेल्दै आएको छोटी भन्सारको व्यावस्थापनमा ध्यान दिए राजश्व बढी संकलन हुने उनको भनाइ छ ।


मिक्लाजुङको तेर्सो बाटोबाट रवि, राँके हुँदै ताप्लेजुङबाट चीनसम्म जोड्न सहज पहुँच पुग्ने छोटो दुरीको बाटोका रुपमा सो सडक निर्माण गर्नु पर्ने स्थानीयवासीको माग रहेको छ । सिक्टीबाट १६ किलोमिटर उत्तर पथरीशनिश्चरे, त्यहाँबाट १२ किलोमिटर उत्तरमा पूर्वपश्चिम लोकमार्गमा पर्ने पथरीको जाँते मोड आउँछ । त्यसबाट साढे ११ किलोमिटरमा जाँते पुगिन्छ । सिक्टीदेखि जाँतेसम्म ४१ र त्यसमाथि ज्यामिरेसम्म साढे ६ तथा धनकुटाको चौविसे गाउँपालिको ६ नम्वर बुधबारेसम्म साढे १८ किलोमिटर गरी कुल साढे ६६ किलोमिटर सडक कालोपत्रे गर्नका लागि प्रधानमन्त्री कार्यालय, भौतिक मन्त्रालय, राष्ट्रिय योजना आयोग र १ नम्वर प्रदेशको मुख्यमन्त्री कार्यालयमा वोधार्थ पठाइने लेटाङ नगर प्रमुख शंकर राईले जानकारी दिए । ‘पथरीबाट जाँते हुँदै अनि लेटाङ बजारबाट समेत ज्यामिरे जोडेर लाने हाम्रो योजना छ,’उनले लेटाङतर्फको अभियानको कुरा समेत जोड्ने क्रममा भने,‘कालेबुदुली’ नामबाट २ दशक अघिदेखि लेटाङबाट ज्यामिरे सडक कच्ची रुपमा निर्माण गरी यातायात समेत सञ्चालन हुँदै आएको छ ।


यता पथरीबाट जाँतेहुँदै ज्यामिरेसम्मको बाटो पथरीशनिश्चरे र लेटाङ नगरपालिकाले वर्षामा मर्मत सम्हार गर्दै आएको छ । पहाही क्षेत्रबाट तराई जोड्ने छोटो र पुल हाल्नु नपर्ने अवस्थाको सो सडक निर्माणले यहाँका स्थानीयबासीमा सहजता आउने छ । सो बाटो कालोपत्रे गर्न सके उत्तरी भेगको यातायातको समस्या टर्ने, कृषिजन्य बस्तु बजार झार्न सहज भई भविष्य निर्माण हुने र तल्लो भेगको व्यापार प्रवद्र्धनमा ठूलो टेवा पुग्ने छ । सोही खण्डमा पर्ने पथरी–जाँते–ज्यामिरे सडकका लागि यो वर्ष प्रदेश सरकारले ३ करोड रुपैयाँ विनियोजन समेत गरेको छ । जसका लागि कार्यविधि बनेको र ठेक्का प्रक्रियामा जान बाँकी रहेको छ ।