इनरुवा: सुनसरीको सीमा नाकाबाट दैनिकरुपमा ठुलो परिणाममा मरिच भारततर्फ तस्करी हुने गरेको छ ।

भारतीय बजारमा अत्याधिक माग रहेको मरिच सीमाक्षेत्रमा सुरक्षाका लागि तैनाथ गरिएका सुरक्षाकर्मीहरुको सेटिङमा तस्करी हुने गरेको हो । बिराटनगरबाट खरीद भएको मरिच सुनसरीमा भण्डारण गरी भारततर्फ तस्करी हुने गर्छ । सुनसरीको रामनगरभुटाहा, देवानगञ्ज–कप्तानगञ्ज, साहेवगञ्ज र अमाहिवेला–अमडुवा, भाण्टावारीस्थित सीमानाकाबाट तस्करी हुने मरिच भारतको बथनाहा सोनापुर, धुर्ना, फुल्काहा, बस्मतीया बजारमा रहेका व्यापारीहरुले खरिद गर्ने गरेका छन् ।

हाल दैनिक बजारभाउमा फेरवदल भैरहने मरिच नेपालतर्फको सीमा नाकामा थोक मुल्य प्रतिकेजी नेपाली रुपैयाँ ४ सय ७० देखि ५ सय ७० सम्म खरिद बिक्री हुने गरेको स्थानीय व्यापारीहरुले जानकारी दिए । सुनसरीबाट भारतीय बजारसम्म ढुवानी गरेर लैजाने व्यक्तिले प्रतिकेजी नेपाली ३० रुपैयाको दरले पाउने गरेको छ । भारतीय व्यापारीहरुले त्यहाँ प्रतिकेजी नेपाली मुल्य ९ सय रुपैयाँ देखि ९ सय ५० रुपैयासम्म मरिच खरिद गर्ने गरेका छन् । मरिचलाई २५ केजीको दरले प्याकेजिङ गरिएको बोराहरु विरानगर बजारमा रहेको बजरङ्ग स्टोरबाट खरिद गरी सुनसरीमा भण्डारण गरिएको हुन्छ । त्यसपछि अमाहिवेला–अमडुवा नाकबाट ट्रयाक्टर र पिकअप भ्यान मारुतीमा लोड गरी लैजाने र अन्य नाकाबाट ५ वोरासम्म मोटरसाईकलमा लोड गरी भारततर्फ लगिने गरेको स्थानीयहरु बताउँछन् ।

सुनसरीबाट हिरोल भगत, विजय गुप्ता, भुप यादव र गञ्जे चौधरी नाम गरेका व्यापारीहरुले मरिचको संगठित कारोवार गर्ने गरेका छन् । भारतीय बजारका लागि त्यहीका नागरिक समसाद मियाँ, पहाडिया भन्ने अलाउद्धिन मियाँ र अमिन मियाँले थोक कारोवारीकारुपमा तस्करी गर्ने गरेको जानकारहरुले बताए । भारतमा मरिच लिएर जानेहरुले फर्किदा सोही सवारीसाधनहरुमा सुर्ति खरिद गरी नेपालमा भित्र्याउने गरेको समेत सीमाक्षेत्रका स्थानीयहरुले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी वलको वोर्डर आउट पोष्ट, नेपाल प्रहरीको स्थानीय चौकी र इलाका प्रहरी कार्यालयलाई दैनिक रकम बुझाउने गरेको कारोवारमा संग्लन भारतीय व्यापारीहरु बताउँछन । सुरक्षाकर्मीहरुले रकम लिएका कारण सीमाक्षेत्रमा खासै रोकटोक नहुने गरेकाले मरिचको व्यापार सीमाक्षेत्रमा आम्दानीको मुख्य स्रोत बन्दै गएको भारतीय व्यापारीहरुको दावी रहेको छ ।

भारतमा लगेको मरिच सीमाक्षेत्रको बजारबाट नरपतगञ्ज, सिमराही प्रतापगञ्ज, रानीगञ्ज, फारविसगञ्जसम्म लगेर अझ बढी मुल्य लिई बिक्री गर्ने गरेको ती व्यापारीहरु बताउँछन । सुपारीको चोरी तस्करी हुने गरेको यी नाकाहरुबाट हाल मरिचको कारोवार फस्टाउँदै गएपछि सानो-सानो परिणाममा समेत मरिचको ओसारपसार गर्न सीमाक्षेत्रका व्यापारीहरु सक्रिय हुन थालेपछि भारतमा बिहानको समयमा बोल कवोलमा मरिचको खरिद बिक्री हुने थालेको तस्करीमा संग्लनहरु नै बताउँछन् ।