श्रमिकहरुको अधिकार नियमन गर्ने श्रम तथा रोजगार कार्यालय विराटनगरको अवस्था बेहाल छ । विराटनगर महानगरपालिका ३ स्थित श्रम तथा रोजगार कार्यालयलाई प्रदेश १ भरिका निजी क्षेत्रमा कार्यरत मजदुर–कर्मचारीको अधिकार रक्षा अनि उद्योग र व्यापारिक प्रतिष्ठानहरुको वातावरणीय अवस्थाको नियमन गर्ने अधिकार छ । दक्ष जनशक्ति र भौतिक संरचनाको अवस्था बेहाल हुँदा कार्यालयले प्रभावकारी काम गर्नै सकेको छैन । अनुगमन नियमनका साथै न त उद्योग र मजदुरको विवरण छ, न त उजुरी, निवेदन अनि मुद्दाका रेकर्डहरु नै दुरुस्त छन् । महत्त्वपूर्ण अभिलेख राख्नुपर्ने कार्यालय प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले आमसर्वसाधारणको अधिकार बहालीका लागि स्थापना भएको नियमनकारी श्रम तथा रोजगार कार्यालय देखाउन मात्रै स्थापना गरेको अवस्थामा रहेको बताए ।

दक्ष कर्मचारी अभाव

पहिले कारखाना निरीक्षकहरुले नै कार्यबाहक भएर सञ्चालन गर्दै आएको कार्यालयमा हालै सरकारले श्रम कार्यालयहरुको स्तरोन्नति गराएर वैदेशिक रोजगारको अनुमति पनि दिने सोच बनाएको छ । सोही कारण एक महिनाअघि उपसचिवस्तरको कर्मचारीलाई वरिष्ठ श्रम अधिकृतका रुपमा खटाइएको छ । कार्यालय प्रमुख थपे पनि कार्यालयमा चाहिने भौतिक सामग्री, जनशक्ति र आवश्यक बजेट भने थपिएको छैन । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलका अनुसार कोसी अञ्चल श्रम कार्यालय हुँदा ११ जना कर्मचारीको दरबन्दी थियो । कार्यालयमा दुई सुब्बा, एक कमप्युटर अपरेटर, एक जनस्वास्थ्य निरीक्षक, एक प्रविधिकसहित ५ जना कर्मचारीको खाँचो छ ।

आफ्नो भवन छैन
श्रम तथा रोजगार कार्यालयको आफ्नो संरचनासमेत छैन् । कर्मचारीलाई क्वार्टर त परै जाओस् कार्यालय सञ्चालनका लागि मैत्रीपूर्ण भवन पनि छैन् ।

कुदाउनै नमिल्ने ३० वर्ष पुरानो थोत्रो जिप
कामको बोझ भएको यो कार्यालयमा अनुगमनमा जाने आउने गाडीसमेत छैन । कार्यालयले चलाउनै नमिल्ने ३० वर्ष पुरानो एउटा जीर्ण जिप प्रयोग गर्ने गरेको छ । चालक लक्ष्मण पोखरेलका अनुसार अति जीर्ण भएकाले कार्यालयको अर्मदा जिप ५० किमिभन्दा धेरै कुद्नै सक्दैन । जीपभित्र पानी चुहिने गरेको छ । टायरहरु सबै प्वाल परेको छ ।

नयाँ पत्रिका बाट साभार