अस्वस्थ खानपानका कारण अधिकांश मानिस ग्यास्ट्रिकको समस्या पाइन्छ । अनियमित खानपान, फास्टफुड र जंकफुडको बढ्दो प्रयोगजस्ता कारणले ग्यास्ट्रिकको समस्या हुने गर्छ । सामान्यतया पेटमा आमाशयको भाग सुन्निनुलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । पेटको कुनै भाग सुन्नियो वा इन्फ्लामेसन भएमा ग्यास्ट्रिक भएको बुझिन्छ । अब जानौँ, ग्यास्ट्रिकबाट बच्ने तरिका :-

१, समयमा खाना खाने वा सन्तुलित आहार गर्ने हो भने ग्यास्ट्राइटिसबाट बच्न सकिन्छ ।
२, तारेको वा भुटेको खानेकुरा धेरै खाने गर्नाले ग्यास्ट्राइटिस हुने सम्भावना बढी हुन्छ । अत्यधिक चिल्लो, पिरो र अमिलो खानेकुरा सकभर नखाने, वा खानैपरे कम गर्नुपर्छ । साधारण खाना खाने गरेमा ग्यास्ट्रिक हुनबाट बचिन्छ । त्यस्तै, फास्टफुड र जंकफुडको अत्यधिक सेवनबाट समेत ग्यास्ट्रिकको समस्या हुने भएकाले यस्ता खानेकुरा सकभर खानुहुँदैन ।
३, धूम्रपान, मध्यपान र सुर्तीजन्य पदार्थ सेवन नगर्ने र चिकित्सकको सल्लाहबमोजिम मात्र पेनकिलर खाने गर्नाले ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।
४, दीर्घरोगका लागि सेवन गरिने कतिपय औषधि ग्यास्ट्राइटिसका कारक हुन सक्छन् । विशेषगरी, पेनकिलर बढी खाएमा ग्यास्ट्रिक हुन्छ । त्यसैले, यस्ता चिज सकेसम्म कम मात्रामा प्रयोगमा ल्याउनुपर्छ ।
५, लागुपदार्थ सेवन पनि ग्यास्ट्रिकको कारण हुने भएकाले यसबाट टाढा रहनुपर्छ । अत्यधिक तनाव, पेट र खाद्यनलीको क्यान्सरले ग्यास्ट्रिक हुने गर्छ । तसर्थ, खानपानसँगै समग्र जीवनशैलीमा ध्यान दिन जरुरी छ ।

डा. जीवेश्वरलाल झा, जनरल सर्जन मनमोहन मेमोरियल अस्पताल