केही दशकदेखि, स्पाइन क्यान्सरको समस्या बढ्दो छ । जीवनको उतराद्र्ध्तिर अर्थात् उमेर बढ्दै गएपछि मेरुदण्डको क्यान्सर हुने सम्भावना पनि बढेर जाने गर्छ । स्पाइन क्यान्सरको जोखिम सबै उमेरका मानिसमा हुने भएता पनि ५० वर्षमाथिका व्यक्तिमा बढी देखिन्छ । स्पाइन क्यान्सर दुई प्रकारका हुन्छन् ।

मेरुदण्डमा हुने प्राथमिक ट्युमर र मेरुदण्डमा भएको ट्युमर बढ्दै गएर अन्य अंगमा समेत फैलने हुने ट्युमर । सामान्यतया बच्चामा हुने ट्युमर प्राथमिक ट्युमर हो, जुन सामान्य मानिन्छ । त्यस्तै, वयस्कमा हुने ट्युमर दोस्रो चरणको ट्युमर हो, जसलाई चिक्तिसकीय भाषामा मेटास्टेटिक ट्युमर भनिन्छ । र पछिल्लो तथ्यांकअनुसार मेटास्टेटिक ट्युमरको समस्या अत्यधिक रहेको पाइन्छ ।

धेरैमा देखिने समस्या

संयुक्त राज्य अमेरिकामा मात्रै प्रतिवर्ष १.६ मिलियन क्यान्सर रोगीको उपचार गरिन्छ, जसमा ३० देखि ७० प्रतिशतसम्म गर्दन र स्पाइन क्यान्सरका रोगी हुन्छन् । फोक्सो र कलेजोपछि सबैभन्दा बढी क्यान्सरको जोखिम हुने अंगको रूपमा मेरुदण्डलाई लिने गरिन्छ ।

लक्षण

सामान्यतया महिलामा स्तन क्यान्सर हुनु, पुरुषमा प्रोस्टेट क्यान्सर हुनु मेरुदण्ड क्यान्सरका प्रारम्भिक लक्षण मानिन्छन् । त्यस्तै महिला र पुरुष दुवैमा हुने फोक्सो र पेटसम्बन्धी क्यान्सर हुँदा स्पाइन ट्युमरको अत्यधिक सम्भावना रहन्छ ।
स्पाइन क्यान्सरको प्राथमिक लक्षण मेरुदण्डको दुखाइ हो । ढाडमा अत्यधिक दुख्ने र रातिको समयमा बढी गाह्रो महसुस हुने गर्छ । दुखाइ कम गर्ने औषधि र फिजियोथेरापीबाट समेत निको हुँदैन ।
अत्यधिक दुखाइका कारण हात–खुट्टा कमजोर हुने, मांसपेशी दुख्ने र पिसाब गर्नसमेत गाह्रो हुन्छ ।
कतिपय अवस्थामा मेरुदण्डमा हुने अत्यधिक दुखाइबाट पक्षघात हुन सक्छ । यसबाहेक असामान्य तरिकाले मांसपेशी दुखेमा चिकित्सकलाई देखाएर एमआरआई, सिटी स्क्यान, एक्सरे र रगत परीक्षणबाट स्पाइन क्यान्सर भएको थाहा पाउन सकिन्छ ।

उपचार

अहिले नेपालमा स्पाइन सर्जरीको पूर्ण व्यवस्था छ । स्पाइन ट्युमरको उपचार स्पाइन सर्जरी, विकिरण र किमोथेरापीबाट गर्न सकिन्छ ।

डा. गौरवराज ढकाल,स्पाइन सर्जन
राष्ट्रिय ट्रमा सेन्टर नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्र