नेपालमा माउथ क्यान्सरका रोगीको संख्या बढिरहेकोे छ । सरकारले सार्वजनिक स्थानका धूमपान तथा मद्यपान नगर्ने र गरेको पाएमा कारबाही गर्ने भने पनि व्यवहारमा लागू नहुँदा समस्या बढ्दै गएको छ । माउथ क्यान्सरको प्रमुख कारण धूमपान र मद्यपान हो । यसबाहेक खराब जीवनशैली, खानपानमा ध्यान नदिनेलगायत कारणले पनि समस्या निम्त्याउन सक्छन् ।

समयमा परीक्षण

मुखमा समस्या आएको लामो समयसम्म पनि स्वास्थ्य परीक्षण नगर्दा क्यान्सर हुने खतरा रहन्छ । धेरै ढिला परीक्षण गर्दा शल्यक्रिया गर्नुपर्ने अवस्था पनि सिर्जना हुन सक्छ । त्यसैले समयमै सचेत हुन जरुरी छ । नेपालमा दाँतसम्बन्धी समस्या हेर्ने फोकलपर्सनको कमी छ । जब कि, गाउँ–गाउँमा धेरैजना यस्तो समस्याबाट पीडित छन् ।

सरसफाइमा ध्यान

हामीले दाँत ब्रस गर्ने शैलीमा परिवर्तन ल्याउन आवश्यक छ । कतिपयको ब्रस गर्ने बानी छैन भने कतिपयले हतारमा गर्छन् । ब्रस नै नगरी खानेकुरा सेवन गर्दा मुखमा विभिन्न समस्या देखिन सक्छन् । अधिकांशले कस्तो खाने र कस्तो नखाने भन्ने कुरामा पनि ध्यान दिँदैनन् । जसले गर्दा दाँतसहित मुखका विभिन्न अंगमा असर देखिन थाल्छ ।

मानिसले दाँतको सुरक्षा कसरी गर्ने भन्नेमा पनि सोच्नुपर्ने हुन्छ । दाँत सुरक्षित रहेको अवस्थामा मात्रै सेवन गरेका कुरा राम्रोसँग चपाएर खान सकिन्छ, जुन स्वास्थ्यका लागि राम्रो हुन्छ । खानेकुरा राम्रोसँग चपाएर निल्ने गरिएन भने पाचन प्रणालीमा असर परिरहेको हुन्छ । तसर्थ, खाने शैलीमा पनि ध्यान
दिनुपर्ने हुन्छ । मुखको क्यान्सरबाट बच्न कम्तीमा वर्षको दुईपटक अनिवार्य रूपमा दाँत तथा मुखको परीक्षण गर्नुपर्ने हुन्छ । आफूले दैनिक रूपमा प्रयोग गर्ने खानेकुराको राम्रोसँग ख्याल गर्नुपर्छ ।

लक्षण

सामान्यतया मुखको क्यान्सर चुरोट, खैनी, पान परागजस्ता निकोटिनयुक्त वस्तुको प्रयोगले धेरै हुने गरेको पाइएको छ । क्यान्सर हुँदा गाला, गिजाको भाग बिस्तारै टाइट हुँदै जान्छ अर्थात् मुखको आकार बिस्तारै सानो हुँदै जाने गर्छ । यो क्यान्सरको मुख्य लक्षण हो ।
कतिपय अवस्थामा जिब्रोमा समेत क्यान्सर हुँदै जान्छ । यसका लागि बायोप्सी गर्नुपर्ने हुन सक्छ । जसबाट मुखको क्यान्सर कुन चरणमा छ भनेर थाहा पाउन सकिन्छ ।

कसरी सुरक्षित बन्ने ?

बढ्दो मुख क्यान्सरबाट बच्न कम्तीमा वर्षको दुईपटक अनिवार्य रूपमा दाँत तथा मुखको परीक्षण गर्नुपर्ने हुन्छ । आफूले दैनिक रूपमा प्रयोग गर्ने खानेकुराको राम्रोसँग ख्याल गर्नुपर्छ । समस्या देखिए चिकित्सकसँग परामर्श लिनुपर्छ । हरेक मानिसले वर्षमा दुईपटक दाँतको पूरै सरसफाइ (स्केलिङ) गर्नु राम्रो हुन्छ । यसो गर्दा गिजा स्वास्थ्य रहन्छ र रोगसँग लड्ने क्षमता बढ्छ ।

डा. नीरज पन्त, दन्तचिकित्सक नेपाल मेडिकल कलेज, जोरपाटी