पछिल्लो समय स्वास्थ्यसंस्थामा डेंगुका बिरामीको संख्या बढ्न थालेको छ । खासगरी गर्मी बढी हुने स्थानमा यसको संक्रमण बढी देखिन्छ । डेंगु एडिज नामक लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । यो लामखुट्टे दिउँसोको समयमा सक्रिय रहने गर्छ । डेंगु भाइरस चार प्रकारका हुन्छन्, जसलाई भाइरस १, २, ३, ४ मा विभाजन गरीएको छ । एडिज लामखुट्टेको टोकाइबाट चिकन गुनिया, जिकालगायत संक्रमण पनि फैलिन्छन् ।

कसरी थाहा पाउने ?

अधिकांशमा डेंगुको लक्षण दैखिँदैन । जसमा देखिन्छ, उनीहरूमा सामान्य ज्वरो आँउछ । डेंगुको संक्रमण भएकामध्ये करिब ३ प्रतिशतमा मात्र बान्ता हुने, पेट दुख्ने, शरीरमा पानी जम्ने, रक्तश्राव हुने, मिर्गौलामा असर देखिनेजस्ता समस्या देखिन्छन् । यस्तै, भाइरस शरीरमा प्रवेश गरिसकेपछि डेंगी नामक कडा ज्वरो आउने
गर्छ ।

मांसपेशी दुख्ने र जोर्नी दुख्ने, आँखाको गेडी दुख्ने, ढाड दुख्ने, रगतमा सेता रक्तकोषको कमी हुने समस्या देखिन्छन् । डेंगुबाट एकपटक प्रभावित भएका व्यक्तिमा पुनः डेंगु हुने सम्भावना बढी रहन्छ । यसबाहेक डेंगु भएको समयमा जन्मिएका बच्चामा, प्रतिरोधी क्षमता उच्च भएका व्यक्तिमा जटिल समस्या निम्तिन्छ । जटिल खालको डेंगु भएमा मानिसको ज्यान पनि जान सक्छ । एउटा लामखुट्टेले एकपटकमा कम्तीमा आठजनालाई टोक्ने भएकाले यसले छिटो महामारीको रूप लिने गर्छ ।

कसरी बच्ने ?

एडिज लामखुट्टेले सफा पानीमा अन्डा पार्ने गर्छ । यसको लार्भा विकासका लागि अक्सिजनयुक्त पानी आवश्यक हुने भएकाले गमला, जथाभावी फालिएका बट्टा, पानी जमेका खाल्डाखुल्डी, टायर आदिमा लामखुट्टेले अन्डा पार्ने गर्छ । तसर्थ यस्ता ठाउँ सफा राख्नुपर्छ ।

पानी राख्ने भाँडा छोपेर राख्न सकिन्छ । बाहिर निस्कँदा लामो बाहुला भएको कपडा प्रयोग गर्नुपर्छ । यस्तै, लामखुट्टेको टोकाइबाट बच्न क्रिम, स्प्रे पनि प्रयोग गर्न सकिन्छ । सुत्ने ठाउँमा झुलको प्रयोग र झ्याल–ढोकामा जाली प्रयोग गर्नुपर्छ । यस्तै, पानी जम्मा हुने खाल्डाखुल्डीमा लामखुट्टे मार्ने स्प्रे प्रयोग गर्नुपर्छ । डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्नुपर्छ ।

डा. विमललाल कर्ण, बालरोग विशेषज्ञ उपप्राध्यापक पिपल्स मेडिकल कलेज