अव्यवस्थित जीवनशैली, गलत खानपानका कारण नेपालमा क्यान्सरका रोगी दिन–प्रतिदिन बढ्दै गइरहेका छन् । विश्वमा बर्से्नि लाखौँ मानिसको मृत्यु फोक्सोको क्यान्सरले हुने गरेको छ । नेपालमा क्यान्सरमध्ये फोक्सोको क्यान्सर अग्रणी स्थानमा छ । हाम्रो शरीरमा दुईवटा फोक्सो हुन्छन्, जसले हावा शरीरभित्र तान्ने, अक्सिजन लिने र अन्य हावा बाहिर फाल्ने गर्छन् । कतिपय समयमा फोक्सोमा अप्राकृतिक रूपमा कोष (गिर्खा) बढ्न थाल्छ, यसले गर्दा फोक्सोले काम गर्न सक्दैन । ती गिर्खा बिस्तारै अन्य अंगमा पनि फैलिन थाल्छन्, जसलाई क्यान्सर भएको भनिन्छ ।

कारण

१, फोक्सोको क्यान्सर हुनुको प्रमुख कारण धूम्रपान हो । धूम्रपान गर्ने र त्यसको नजिकमा बस्ने मानिसमा क्यान्सर हुने सम्भावना उच्च रहन्छ । वरपर बस्नेलाई पनि धूम्रपान गर्नेलाई जत्तिकै असर गर्छ ।
२, करिब १० प्रतिशतमा वातावरणीय प्रदूषणका कारण पनि क्यान्सर हुन्छ । वातावरणमा रहेका विभिन्न रसायनले फोक्सोमा क्यान्सर गराउने गर्छ ।
३, ज्यादै थोरै प्रतिशतमा वंशाणुगत गुणका कारण फोक्सोको क्यान्सर हुन्छ ।

लक्षण

, खोकी लाग्नु, खकारमा रगत देखापर्नु, खान मन नलाग्नु तथा तौल घट्नु आदि फोक्साकोे क्यान्सरका लक्षण हुन् । सुरुवाती चरणमा कतिपयमा लक्षण नदेखिन पनि सक्छ ।
२, धूम्रपान गर्ने व्यक्तिमा माथि उल्लेखित लक्षण देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । छातीको सिटी स्क्यान, श्वासनलीको जाँच र
३, बायोप्सीबाट क्यान्सर भएरनभएको पत्ता लगाउन सकिन्छ ।

रोकथाम र उपचार

१, धूम्रपान नगर्नु फोक्सोको क्यान्सरबाट जोगिने सबभन्दा उत्तम उपाय हो । धूम्रपान गर्ने मानिसले कम्तीमा वर्षको एकपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
२, आफ्नोवरिपरि सकभर कसैलाई धूम्रपान गर्न दिनुहुँदैन । क्यान्सरका लक्षण देखापरेमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।
३, धुलो–धुवाँ भएका स्थानमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ ।
४, सामान्यतया, क्यान्सर चार स्टेजमा हुन्छन् । सुरुवाती चरणमा उपचार गरेमा क्यान्सर पूर्ण रूपले निको हुन्छ । समय बढ्दै जाँदा स्टेज पनि बढ्दै जाने भएकाले निको हुने सम्भावना घट्दै जान्छ । दोस्रो र तेस्रो स्टेजको क्यान्सर शल्यक्रियाबाट निको पार्न सकिन्छ । जसमा आवश्यकताअनुसार किमोथेरापी र रेडियोथेरापी गर्न सकिन्छ ।
५, फोक्सोभन्दा बाहिरसम्म फैलिएको क्यान्सर चौथो चरणको क्यान्सर हो । जो पूर्ण रूपमा निको हुने सम्भावना एकदमै न्यून हुन्छ । यसका लागि पनि आवश्यकताअनुसार किमोथेरापी र रेडियोथेरापी गर्न सकिन्छ ।

डा. रश्मी पुन गुरुङ, क्यान्सररोग विशेषज्ञ नेपाल मेडिकल कलेज तथा क्यान्सर रिसर्च सेन्टर काठमाडौं