धरान: धरान उपमहानगरपालिकाअन्र्तगतको नगर खेलकुद विकास समितिले धरानको खेलकुदको एकीकृतरुपमा डिपिआर बनाउन शुरु गरेको छ ।

धरानलाई प्रदेश नं १ को खेलकुद हब बनाउने उद्देश्यले खेलग्रामसहित यहाँको खेलकुदको संरचनाहरुको एकीकृत डिपिआर बनाउने काम शुरु भएको हो । काठमाण्डौंको ग्रिड कन्सल्टेन्सी डिपिआरको लागि सर्वेको काम ३ दिनदेखि गरिरहेको छ । धरानमा खेलग्राम बनाउन प्रदेश सरकारले ५ करोड बजेट विनियोजन गरेको छ भने धरान उपमहानगरले खेलकुदसहित विभिन्न क्षेत्रको डिपिआर तयार गर्न डेढ करोड बजेट विनियोजन गरेको हो । यही शिर्षकबाट खेलग्रामसहित समग्र खेलकुदको एकीकृत डिपिआर बनाउन शुरु भएको हो ।

उपमहानगरअन्र्तगतको खेलकुद विकास समितिले धरान १७, सप्तरंगी पार्क अगाडिको खाली जग्गामा खेलकुद ग्राम बनाउने अवधारणा अघि बढाएको थियो । गत आर्थिक बर्षमा कार्यपालिका बैठकले यो अवधारणा स्वीकृत गरेर प्रदेश सरकारमा प्रस्ताव पेश गरेको थियो । सरकारले चालु आर्थिक बर्षमा धरानमा खेलग्रामको लागि ५ करोड बजेट विनियोजन गरेको छ । ‘खेलग्रामको डिपिआर मात्र होइन, धरानको समग्र खेलकुदको नै डिपिआर बनाउदैछौं । सर्वेले कति जग्गा आवश्यक पर्छ, हामीसँग कति छ र कति अपुग हुन्छ भन्ने प्रष्ट हुन्छ । आवश्यक पर्ने जग्गाको खोजी पनि गरिरहेका छौं,’ नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले भने,‘हामीसँग भएको संरचना कुन अवस्था छ, र सुधार गर्नुपर्ने के छ ? के आवश्यक छ भन्ने प्रष्ट हुन्छ । यसले धरानको समग्र खेलकुदको भिजन बन्छ ।’

sports-village1

खेलग्राम निर्माण गर्ने भनिएको धरान १७ स्थित सप्तरंगी पार्क क्षेत्रमा विभिन्न खेलकुदको एकीकृत संरचनासँगै आवसिय भवन पनि हुनेछ । त्यहाँ भलिवल, कराते, उसु, सुटिंग, सेपाकताक्रो, बास्केटवल, स्वीमिङ, टेबलटेनिस, ब्याडमिन्टनलगायत इन्डोर खेलको आवासिय सुविधासहित प्रशिक्षण केन्द्र बनाउने योजना हो । यस्तै, एथलेटिक्स ट्रयाक, साइक्लिङ, फुटबल, हकी, आर्चरी, क्रिकेटको वलिङ र ब्याटिङ अभ्यासस्थल लगायतको पनि आवासिय सुविधासहित प्रशिक्षणस्थल हुनेछ । खेलग्राम अवधारणामा नै साहसिक खेलकुदको एक्स्ट्रीम पार्कको अवधारणालाई पनि डिपिआरले समेट्नेछ ।

खेलग्राम बाहेक धरान ६ स्थित पानवारीमा हकीको एकेडेमी निर्माण गर्न अध्ययन हुदैछ भने धरान १५ स्थित खोरिया वस्तीमा अन्र्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण भइरहेको छ । यी दुवै संरचना पनि डिपिआरमा समेटिनेछ । यस्तै, धरान ४ स्थित दानाबारीमा टेकअफ र वडा ५ मा ल्याण्डिङ भएको प्याराग्लाइडिङ, विजयपुर गढीस्थित पञ्चकन्या जंगलमा साइक्लिङ ट्रयाक, धरान १६ स्थित रंगशाला, वीपी प्रतिष्ठान भित्रको गल्फ कोर्ष र स्कस, नेपाल प्रहरी महाविद्यालयअन्र्तगतको ब्याडमिन्टन हल पनि डिपिआरमा समेटिनेछ ।

sports-city

यस्तै, धरान १७ स्थित उदय सामुदायिक वन समुहमा निर्माणाधिन आर्चरी रेञ्ज र फुटबल खेल मैदान पनि डिपिआरमा हुनेछ । ती खेल स्थानहरुलाई कसरी लिंक गर्ने भनेर भौतिकरुपमा भनेर पनि योजना आउछ । धरान १६ स्थित रंगशालालाई यो डिपिआरमा समेटिए पनि त्यहाँ राष्ट्रिय खेलकुद परिषदले अलग्गै डिपिआर बनाएर लगानी गरिरहेको छ । राखेपले त्यहाँ साढे १ अर्बको संरचनाको डिपिआर बनाइसकेको छ । ‘यी सबै खेलकुद संरचनाहरुबीच कसरी लिंक गर्ने भन्ने डिपिआरमा आउछ,’अध्यक्ष राईले भने ।

डिपिआरको लागि खटिएका सर्वेयर सुदीप कार्कीका अनुसार सर्वेबाट लोकेशन, वस्तुस्थिति पत्ता लगाउने काम भइरहेको छ । यसपछि डिजाइनको काम शुरु हुने कार्कीले बताए । ‘सर्वेबाट लोकेशन, वस्तुस्थिति के छ, त्यो आउछ,’सर्वेयर कार्कीले भने,‘त्यसको आधारमा डिजाइन बन्छ ।’ फिल्डमा ५ जना सर्वेयर खटिएका छन् । दुई दिनमा धरान १५ स्थित निर्माणाधिन क्रिकेट मैदानको सर्वे सकिएको छ भने क्रमशः आर्चरी, खेलकुद ग्राम, साइक्लिङलगायत सबै संरचनाहरुको सर्वे गर्ने कार्कीले बताए ।