इटहरी : तीनजुरे मिल्के जलजले क्षेत्रको वनमा २८ प्रजातिका गुराँस फुल्ने कारण विश्वभर चर्चित छ । लालीगुराँसको राजधानी समेत भने चिनिने टिएमजे क्षेत्रलाई चिनिन्छ ।

राष्ट्रिय गौरवको कोसी कोरिडोर २२० किभिए लाइन तिनजुरेको लालिगुरास फुल्ने स्थानबाटै ल्याएर जैविक विविधता मास्न खोजेको भन्दै प्रदेश एक सभामा प्रश्न उठेको छ ।

संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले आइतबारको प्रदेशसभाको शून्य समयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् । विधुत प्रसारण लाइन टिएमजे क्षेत्रबाटै ल्याएर जैविक विविधता मास्न खोजेको बारे तुम्बाहाम्फेले सो कदम सच्याउन आग्रह गरेकी थिइन् ।

आयोजनाले टिएमजे क्षेत्रको ९ वटा सामुदायिक वनको रुख काट्ने छ । तेह्रथुमका चार वटा, सङ्खुवासभाका चार वटा र ताप्लेजुङको एक गरी ९ वटा सामुदायिक वनको रुख काटिने छन् ।

प्रारम्भिक वातावरण परीक्षण गर्दा सिमसार लगायतका जैविक महत्त्वको ठाउँबाट डोजर चलाउन नपाइने व्यवस्था भए पनि वन मास्ने तरिकाले डोजर काम भइरहेको तुम्बाहाम्फेले बताइन ।

तुम्बाहाम्फेले भनिन '१० हजार लालीगुराँसको रुख कटान गरी जैविक विविधता नै मासिने गरिको कस्तो विकास हुन खोज्दैछ ।'

विधुत प्रसारण आयोजनाले रुख काट्दा टिएमजे वसन्तपुर खानेपानी लसुने खानेपानी देउराली खानेपानी लगायतका १७ वटा खानेपानीको मुहान, ६ वटा पोखरी, ४ वटा धापहरू र ५ वटा सिमसारहरू सुक्न सक्ने तुम्बाहाम्फेले सदनलाई जानकारी गराएका छन् ।

'विधुत नल्याउने वा नबाल्ने भन्ने हैन तर हामीले वातावरण पनि संरक्षण गर्नु पर्दछ,तीनजुरेका केही प्रसारणलाई लाइनका टावरहरू सार्नुपर्ने देखिन्छ । यदि सामान्य परिवर्तन समेत गरिएन भने तिनजुरेको अस्तिव मेटिन सक्छ । ठुला आयोजना कार्यान्वयन गर्दा तिनै तहको सरकारको समन्वय गरी काम होस् ।'

यसअघि पनि तेह्रथुमको लालीगुराँस नगरपालिकाले टिएमजे क्षेत्रको गुराँस वन मासेर निर्माण गर्न लागिएकामा आपत्ति जनाएको थियो । पत्रकार सम्मेलन गर्दै टिएमजे क्षेत्रको जैविक विविधता बचाउन आग्रह गर्दै गरेको थियो ।

भारतीय एक्जिम बैङ्कले ९० मिलियन डलर ऋण सहयोग यो प्रसारण लाइनका लागी पूर्वका पाँच वटा जिल्लालाई समेट्ने छ । अरुण–३ बाहेक पूर्वका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा उत्पादन भएको २ हजार मेगावाट यो मार्फत विधुत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।