धरान : कोशी नाम खारेजी र पुनः नामाङ्कनको आन्दोलनले पछिल्लो समय मुलुकमा पहिचान सहितको सङ्घीयताको बहसलाई नयाँ मोडमा ल्याएको छ । आन्दोलन पुनः सडकमा आएको बेला बौद्धिक वर्ग पहिचान र सङ्घीयताको पक्षमा पैरवी गर्न थालेका छन् ।

यसको पछिल्लो उदाहरण डा.युवराज लिम्बु बनेका छन् । पेशाले मुटु रोग विशेषज्ञ उनी लामो समय सहिद गङ्गालाल हृदय रोग केन्द्रमा सेवारत रहे । उनी स्वास्थ्य सेवाबाट अवकाशको जीवनमा पहिचान सहितको सङ्घीयताको राजनीतिसँग जोडिएका छन् ।

उनको यो चिन्तन नयाँ भने होइन । पेशागत अध्ययनका क्रममा विदेशका सहयात्रीहरूसँग स्वदेशको राजनीति बारे छलफल हुँदा देखी नै उनमा यसको चासो बढेको हो । मुलुकमा भएका पहिचान सहितको स्वायत्तता, सङ्घीय संविधानको आन्दोलनका प्रत्यक्षदर्शी उनले पेशामा रहँदै आफ्ना विचार प्रकाशित गर्न थालेका हुन् ।

हालै डा.युवराज लिम्बुले ‘अस्तित्व पहिचान र सङ्घीय सन्दर्भमा’ नामक पुस्तक प्रकाशित गरेका छन् । पुस्तकमा सङ्कलित उनको पहिचान अस्तित्व र सङ्घीयताका विचारहरूका बारेमा लिम्बुवान स्टडी सेन्टरद्वारा बुधवार आयोजित विमर्शमा उनले भने ‘विदेशमा अध्ययनको क्रममा मलाई जातिको अस्तित्व र पहिचानको बारेमा उत्प्रेरणा जागेपछि मैले लेख्न थालेँ ।’

हार्ड कभर बाहेक १९४ पृष्ठको पुस्तकमा विभिन्न समयमा लेखिएका २९ वटा प्रकाशित लेखहरू सङ्कलित छन् । उनले पहिचानको राजनीतिक धारणाका बारेमा २०६१ साल देखी पत्रपत्रिकाहरूमा लेखहरू प्रकाशित गर्दै आएको लेखमा उल्लेखित मितिबाट पुष्टि हुन्छ ।

डा.युवराजको चिन्तन तथा लेखनका बारेमा प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले भने ‘उहाँको लेखन समग्रमा आदिवासी जनजातिहरूका खोसिएका अधिकार, संस्कृति उनीहरूको पहिचान हो, त्यसको पुनः बहाली नभइन्जेल सङ्घीयता पूर्ण हुँदैन भन्ने रहेको छ ।’

आदिवासीको मौलिक पहिचानको मुख्य आधार मातृभाषा भएको बताउँदै प्रा.डा. तुम्बाहाङले भने ‘पहिचानको ठुला कुरा गर्ने अगुवा नेताहरूका सन्तान भने विदेशमा पढ्छन् ।’ मातृभाषा बिना संस्कार र संस्कृति पनि व्यवहारमा उतार्न नसकिने भएको उनले बताए । त्यस बारेमा भने लेखिने नगरेको उनको भनाई थियो ।

चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेला लिम्बुले डा.युवराजको लेखहरूमा गहन अध्ययन पाइने बताए । पहिचान र अस्तित्व गणतन्त्रीक शासन व्यवस्थाबाट मात्र हासिल हुनसक्ने धारणाप्रति विश्वास रहेको पाइने उल्लेख गरे । कतिपय लेखमा सन्दर्भहरू दोहोरिएको बताउँदै, केही लेख निष्कर्ष विहीन टुङ्गिएको बताए ।

प्राध्यापक बालजीत राईले लिम्बुवानको सवालमा लेखकको धारणा एकाङ्गी पाइएको बताए । आदिवासी जातिहरू नेपालका मूलवासी भएको बताउँदै उनले पहिचान र अस्तित्वको सवालमा समग्र आदिवासीका सवाल बहसका विषय बन्न जरुरी हुने उनको भनाई थियो । उनले भने ‘डा.युवराजका लेखहरूमा उल्लेखित धारणाहरू पढ्नै पर्ने आदिवासी आन्दोलनलाई ऊर्जा दिने खालका छन् ।’    

विमर्श कार्यक्रममा लिम्बुवान स्टडी सेन्टरको गतिविधिका बारेमा अध्यक्ष नरप्रसाद लिम्बुले जानकारी गराउँदै भने ‘यस्ता बौद्धिक छलफलहरूले पहिचानको आन्दोलनलाई फिडब्याक दिने भएकाले महत्त्वपूर्ण रहँदै आएको छ ।’

सहभागीहरू डा.रामनारायण कन्दङवा, लेखक केशु विरही, चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बा लगायतले लेखक, समीक्षकले व्यक्त गरेका धारणाका बारेमा जिज्ञासा राखेका थिए । लेखक डा.युवराजले जिज्ञासाको जवाफ दिएका थिए ।