धरान : लिम्बु जातिमा ५ छुट्टाछुट्टै थर लेखिँदै आएकाहरूको अगुवाले उनीहरूको पुर्ख्यौली वंश एउटै भएको घोषणा गरेका छन् । उनीहरूले लिम्बु जातिमा खिम्दिङ, उसुक, फालेछुवा, मेन्याङ्बो, आङ्बुहाङ भनेर लेखिँदै आएकाहरू एउटै वंशका भएको घोषणा गरेका हुन् ।

पाँचै थरका लिम्बु अगुवाहरूले लामो छलफल गरी धनकुटाको भेडेटार र ताप्लेजुङको थेचम्बुमा परम्परागत मिलन ढुङ्गा चुम्मालुङ गाडेर दुवो ढुङ्गो छोएर एउटै वंशको दाजुभाइ भएको घोषणा गरेका छन् ।

मुन्धुम बिच लक्ष्मण मेन्याङबोका अनुसार करिब १ हजारको सङ्ख्याका प्रतिनिधिहरूको भेलाले चुम्मालुङ गाडेको हो । भेलामा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, ललितपुर, काठमाडौँ, भक्तपुर, हङ्कङ, बेलायत र अमेरिकाका पाँचै थरका लिम्बुहरू सहभागी थिए ।

उनले भने, ‘विभिन्न कालखण्डमा छुटिएर बेग्लै थरले चिनिए पनि अव कुनै पनि वैवाहिक सम्बन्ध नगाँसी एकै वंश भएर आपसी सहयोग गर्ने निर्णय समेत गरिएको छ ।’ कालखण्डमा छुटिएका दाजुभाइ बिचको वंशावली खोज्ने कार्यमा यो पहिलो घटना भएको उनले बताए ।

किरात याकथुङ चुम्लुङका केन्द्रीय सल्लाहका प्राध्यापक ध्रुव सुब्बा मेन्याङ्बोका अनुसार लिम्बु भाषा चुम्मा भनेको भेला हो भने लुङ भनेको ढुङ्गा हो । उनले भने, ‘तुम्याहाङको विशेष भेलाले पक्ष विपक्षका कुरा सुनेर न्याय निसाफ गर्ने र त्यसपछि साक्षी प्रमाणका लागि लामो ढुङ्गा गाड्ने चलन अझै पनि गाउँघरमा छ । यसैको ऐतिहासिक निरन्तरता हो यो चुम्मालुङ ।’

थिन्दोलुङ खोयाहाङ वंशज सङ्घका केन्द्रीय अध्यक्ष दीपक मेन्याङ्बोका अनुसार इतिहासकारहरूले प्राचीन कालमा पूर्वमा शासन गर्ने आठ राजा येत्हाङहरू र दश राजा थिबोङ याकथुङहरू मध्ये थिन्दोलुङ खोयाहाङले याङवरक क्षेत्रमा शासन गरेको उल्लेख गरेका छन् । हाल ३२ औँ पुस्तामा चलिरहेको थिन्दोलुङ खोयाहाङको समय करिब ९ सय वर्ष अघिको मानिएको छ ।

लिम्बुको वंश एउटै हो होइन भनेर थाहा पाउन मुन्धुमी परम्परा अनुसारको माङ्गेना यक र मिङ्श्रा छुट्टाउनु पर्ने बताउँदै भने, ‘पछिल्लो समय हामी पाँच उपथरी लिम्बुहरूको माङ्गेना यक र मिङ्श्रा उत्पत्ति थलो एउटै भएको पत्ता लागेपछि पाँचै थरीले थिन्दोलुङ खोयाहाङलाई पहिलो पहिलो पुस्तालाई पुर्खा मानेर बिचमा छुट्टै भएर बसे पनि अहिले एकै भएको घोषणा गरेका हौँ ।’

उनका अनुसार खिम्दिङ समाजका तर्फबाट खिम्दिङबाट कुमार खिम्दिङ, उसुकबाट यामबहादुर उसुक, फालेछुवाबाट तेजबहादुर फालेछुवा र मेन्याङ्बोबाट दीपक मेन्याङबोले संयुक्त घोषणा गरेका थिए । चुम्मालुङको अनावरण पूर्व मन्त्री रामकुमार मेन्याङ्बो र प्राध्यापक ध्रुव कुमार मेन्याङबोले गरेका थिए ।

मुन्धुमी परम्परा अनुसार छुट्टिँदा वा सिमाना कायम गर्दा सेम्मालुङ गाड्ने र एक हुँदा चुम्मालुङ गाड्ने चलन छ । त्यसै अनुसार थोदिङ्ग ताङसाङ सावारोहाङ हुँदै थिन्दोलुङ खोयाहाङ पछिको वंश पिँढी खिम्दिङ्ग, उसुक, फालेछुवा, मेन्याङ्बो, आङबुहाङ एक ठाउँ भएको सन्देश दिन चुम्मालङ स्तम्भ कायम गरेको आङबुहाङ समाजका अध्यक्ष प्रशुराम आङबुहाङले बताए ।

chummalung 2