धरान : उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले शिक्षा महाशाखा प्रमुख गणेश खतिवडालाई बिदामा बस्नु भनि गरेको पत्राचार उत्प्रेषणको आदेशद्वारा बदर गर्दै काम गर्नु गराउनु भनि अन्तरिम आदेश जारी गरेको छ ।
नगर प्रमुख हर्क साम्पाङले गत चैत २९ गते चलानी नं ०८१/०८२/७०८९ को पत्रबाट खतिवडालाई पूर्व अख्तियारी विना बिदामा बस्न पत्राचार गरेका थिए । खतिवडाले प्रमुख साम्पाङको उक्त पत्राचार विरुद्ध वैशाख ५ गते उच्च अदालत विराटनगरमा अन्तरिम आदेशको माग गरी रिट दायर गरेका थिए ।
रिटमा सुनवाइ गर्दै उच्च अदालत विराटनगरका न्यायाधिशव्दय राजेन्द्र अधिकारी र सुर्यनाथप्रकाश अधिकारीको संयुक्त ईजलासले उक्त रिटमा सुनवाइ गर्दै वैशाख ७ गते आइतवार अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल सम्म नगर प्रमुखको पत्राचार कार्यान्वयन नगर्नु नगराउनु काम गर्न नरोक्नु भनि उच्च अदालतको नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिएको उल्लेख छ ।
खतिवडाको रिटमा यसअघि वैशाख ५ गते न्यायाधीश धरणीधर श्रीधर कुमारी पुडासैनीको ईजलासले कारण देखाऊ आदेश जारी गर्दै नगर प्रमुखलाई अन्तरिम आदेश दिनु पर्ने नपर्ने छलफलमा झिकाउने आदेश दिएको थियो ।
अदालतबाट म्याद तामेल गर्न आएको म्याद पत्र नगरप्रमुख साम्पाङले बुझेका थिएनन् । नगरप्रमुख साम्पाङले अदालतको म्याद तामेल पत्र नबुझेको कारण अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको कानुन व्यवसायीहरूले बताएका छन् । नगर प्रमुख साम्पाङले शिक्षा अधिकृत खतिवडाले फेक बिल बनाई कार्यालयमा पेस गरेको भन्दै उनलाई निलम्बन गर्न प्रशासकीय प्रमुख अम्बिका प्रसाद चौलगाईलाई निर्देशन दिएका थिए ।
नगर प्रमुख साम्पाङले निलम्बित अवस्थाको तलब भत्ता रोक्का गरी राख्न प्रशासकीय अधिकृत चौल गाईलाई पत्राचार गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत चौलागाईले भने नगर प्रमुखको पत्रको कानुनी हैसियतमा प्रश्न उठाई कुनै कारबाही अघि बढाएका थिएनन् ।
महाशाखा प्रमुख खतिवडाले २०८० सालमा नगर शिक्षा समितिले लिने आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा सञ्चालन गर्न परीक्षामा लाग्ने अनुमानित खर्चको लगत इस्ट मेटलाई प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत गरेका थिए ।
अधिकृत खतिवडाले रिटमा महाशाखाबाट खटाइएको कर्मचारी आफू नभई अधिकृत मनोज भट्टराई रहेको उल्लेख गदै तर नगर प्रमुखले आफू माथि प्रतिसोधको भावना राखी परीक्षा सञ्चालनका क्रममा खाजा खाएको होटेलको बिलको विषयलाई लिएर कुनै खास होटेल सञ्चालकको प्रभावमा परि आफू माथि अन्याय पूर्ण पत्राचार गरेको जिकिर गरेका छन् ।