धरान : नगर प्रमुख हर्क साम्पाङले उक्साएर उनको समर्थकहरूले आफूलाई कुटेको आरोप लगाउँदै धरान–११ नगरकोट टिएलोका अध्यक्ष सन्तोष लिम्बूले प्रहरीका उजुरी दिएका छन् ।
लिम्बुले आज मङ्गलवार ईलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएको बताए । उनले नगर प्रमुख हर्क साम्पाङ, धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, धरान ११ का चङ्खे भन्ने जोन लिम्बू विरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा हालेका हुन ।
प्रमुख साम्पाङले सोमबार विवाद मिलाउन आउँछु भनेको तर नआएको र भोलिपल्ट आज मङ्गलवार पनि विवाद मिलाउनुको साटो उल्टै विवाद निकालेको सन्तोषको भनाई छ । उनले भने ‘मेयरकै अघि उसको समर्थकले म माथि हातपात प्रयास गरे त्यसैले कानुनी उपचार खोज्दै छु ।’
प्रमुख हर्क साम्पाङ र सन्तोष लिम्बूबिच सोमबार भनाभन भएको थियो । त्यस बेला लिम्बूलाई नगर प्रमुखले हैसियत सोधेका थिए । लिम्बूले आफू नागरिक भएको बताएका थिए ।
चर्काचर्की परिरहेका बेला साम्पाङले झोक्किएर तपाईँले के गर्नुहुन्छ ? भनेका थिए । लिम्बुले भने ‘लगत्तै साम्पाङका समर्थक चङ्खे भन्ने जोन लिम्बू म माथि आइलाग्यो ।’ जोन लिम्बू आफूमाथि आइलागेमनि उनलाई आफूले केही नगरेको तर नगर प्रमुखले उनका समर्थक आफू माथि आई लाग्दा पनि नरोकेको उनको भनाई छ । धरान ११ को नगरकोट–बान डाँडा सडकमा ड्रेन निर्माणमा विवाद बढेपछि उक्त घटना भएको हो ।
लिम्बु पूर्व कोशी सम्पर्क भू आर्जन अधिकृत हुन । माओवादी कार्यकर्ता लिम्बु नगरकोटमा माओवादी धरान नगर कमिटीको पहलमा २० लाखको योजनामा अगुवा बनेर आफै खटिरहेका छन् ।
उक्त ड्रेन कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मातहतको पूर्वाधार कार्यालयले ठेक्का लगाएर निर्माण गरेको हो । लिम्बुले २० लाख बजेट परे पनि ठेक्का १२ लाखभन्दा कममा लागेको बताए ।
५०० मिटर भनिएको ड्रेनको काम पूरा नभएपछि लिम्बूले ‘काम अपुरो’ भएको कुरा वडाध्यक्ष फागो र नगर प्रमुख साम्पाङलाई बताएका थिए । वानडाडा टोल विकासले बनाएको तटबन्धमा असर पुग्ने गरी पानीको निकासा निकाल्न खोज्दा लिम्बू नेतृत्वको काममा विवाद उत्पन्न भएको थियो ।