धरान : खानेपानी महशुल अवैधानिक रूपमा अवैज्ञानिक रूपमा वृद्धि खारेज गरी पुरानै दरमा कायम नभए सम्म धरानका १० राजनैतिक दलहरू चरणबद्ध आन्दोलन सुरु गरेका छन् ।

बिहीबार अन्तरक्रिया कार्यक्रम गर्दै दलहरूले आन्दोलन दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेका हुन् । उद्योग वाणिज्य सङ्घका सभा हलमा सरोकारवाला पक्षहरूसँग अन्तरक्रिया गरिएको हो ।

उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष गिरिधारी सापकोटाले खानेपानी बोर्ड अवैधानिक रहेको बताउँदै  उनले भने ‘स्वघोषित अध्यक्षले आर्थिक मन्दीको बेला छुट दिनुको साटो जनताको ढाड भँचाउने काम गरेको छ ।’

उनले भने ‘धरान खानेपानी संस्थान हुँदा नाफा कमाएर अरू ठाउँतिरको घाटा धरानबाट परिपूर्ति गर्ने गरेको थियो तर अहिले कसरी बोर्ड घाटमा गयो बोर्डमा आफू अनुकूलका कर्मचारी मात्र भर्ना भएकाले तँ होइन ?’ धरानमा खानेपानी बोर्ड नै अहिले नभएकोले शुल्क वृद्धि गर्न नमिल्ने बताए ।

नेपाल सुकुम्वासी सङ्घ अध्यक्ष सुवास राईले खानेपानी बोर्ड विस्थापन गरेर खानेपानी संस्थान सञ्चालन गर्छु भन्नेले कसरी शुल्क वृद्धि गर्न सक्यो भन्दै गरिब र सुकुम्वासी जनताले सुकुम्वासी जनताले धारा जडान गर्न नसकोस् भन्ने नियतले पानी नखुवाउन शुल्क बढाएको बताए ।

निर्वतमान मेयर तिलक राईले खानेपानी बोर्ड अध्यक्ष नै अवैधानिक भएको स्मरण गराउँदै महशुल वृद्धिको तौरतरिका हेर्दा स्वतन्त्र बोर्ड अध्यक्षको यो हर्कत तल्लो स्तरको देखिएको बताए । उनले भने ‘त्यसैले खानेपानी बोर्डको अध्यक्ष राजनैतिक दलबाटै हुनु पर्दछ, दलबाट भए तल देखि माथि सम्म लगाम लगाउन सकिन्छ ।’

मेयर हर्क साम्पाङ अभियन्ता हुँदा उनीसँगै रहेका गङ्गा राईले नगर प्रमुख साम्पाङको विरोध गर्दै खानेपानीमा शुल्क वृद्धि कुनै पनि अवस्थामा मान्य नहुने बताइन् ।

वडा १५ कार्यालयका वडा सदस्य, कार्यवाहक अध्यक्ष बादल भट्टराईले भने ‘भालुलाई पुराण सुनाए जस्तै हर्कलाई पुराण सुनाएर काम छैन ।’ उनले दलहरूलाई अदालती प्रक्रियामा जान सुझाव दिए ।

पूर्व मेयर मनोजकुमार मेन्याङबोले धरान खानेपानी बोर्डको व्यवस्थापन अध्यक्ष नगर प्रमुख हुने व्यवस्था हटाएर उपभोक्ता समितिबाट अध्यक्ष हुनुपर्ने बताए । उनले भने ‘हर्क साम्पाङको क्रियाकलाप र बोलीचाली थर्ड क्लासको छ ।’

नगर प्रमुखमा हुनुपर्ने गुण साम्पाङमा छैन । उनले प्रश्न गरे ‘धरानको सवालमा धरान उपमहानगरपालिकाले एडिबीसँग ऋण लिएको हुँदा स्वतः नगर प्रमुख बोर्ड अध्यक्ष हुने व्यवस्था रहेता पनि हाल बोर्डमा कुनै पनि पदाधिकारी छैनन् त्यस्तो अवस्था शुल्क कसरी वृद्धि भयो ?’

बोर्डमा पदेन सदस्यले अध्यक्ष नियुक्ति गर्ने हो तर अध्यक्ष नै नियुक्ति भएको नभएकोले वृद्धिको अवैधानिक छ अधिकार दुरुपयोग भयो । अदालतको फैसला न आइन्जेल अध्यक्ष को हो थाहा छैन मै हुँ भन्नू गलत अवैज्ञानिक छ, पूर्व मेयरको भनाई थियो ।

धरान होटेल एसोसिएसनका अध्यक्ष सरोज भट्टराई, उद्योग वाणिज्य सङ्घ पूर्व अध्यक्ष पवन अग्रवालले खानेपानीको शुल्क वृद्धि अवैधानिक भएकाले उद्योगी व्यवसायी र व्यापारीलाई मान्य नहुने बताए ।

धरान १० की महिला सञ्जालकी  निर्मला नेपालले बर्खाको समयमा समेत धारामा पानी नआएको अवस्थामा खानेपानीमा बढाएको शुल्क कसरी तिर्नु ? भनी प्रश्न गरिन् ।

धरान १७ निवासी पत्रकार तथा नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठले बोर्डमा बर्खा नलागेको कारण घर घरको धारामा पानी नआएको बताउँदै भने ‘अनुचित ढङ्गले वृद्धि भएको महशुल मान्य हुँदैन ।’ यसलाई तत्काल खारेज गरिनु पर्ने माग गरे । 

अन्तर्क्रियामा नेकपा एसका धरान अध्यक्ष रेवतीरमण राईले पहिलो चरणको आन्दोलन सकिएसँगै बाध्यता बस दोस्रो चरणको आन्दोलनमा उत्रिनु परेको बताए ।

माओवादीका इन्चार्ज चोत्लुङले पुरानै महशुल यथावत् राख्न ७२ घण्टे अल्टिमेटमलाई साम्पाङले बेवास्ता गर्दे आन्दोलन गर्न बाध्य बनाएकाले धराने जनतालाई महशुल दर नबुझाउन दलहरूले अपिल जारी गरेको बताए ।

एमाले इन्चार्ज नारायण सुवेदीले खानेपानी बोर्ड साम्पाङको प्राइभेट कम्पनी नभएकोले आधिकारिक रूपमा बोर्ड बैठक बस्नु पर्ने बताए । उनले भने ‘बोर्ड बैठक वर्षमा ६ वटा बैठक बस्नु पर्ने नियम छ, तर नगर प्रमुख साम्पाङ स्वघोषित अध्यक्षले २ वर्ष सम्म एक पटक पनि बोर्डको बैठक न राखेको छैन ।

उनले उच्च अदालतमा बोर्ड अध्यक्ष के भन्ने विषयमा मुद्दा बिचराधिन रहेको अवस्थामा कसरी शुल्क वृद्धि भयो ? भनी प्रश्न गरे ।

दुई चार जना युट्युबेले फोटो भिडियो खिचेर अगाडी पछाडि सधैँ हिँडाएर धरानको विकास युटुवमा मात्र विकास भएको भन्दै उनले भने युट्युबेका कारण धरान बिग्रेको उनले बताए ।

नेपाली काँग्रेसका नगर सभापति श्याम पोखरेलले धरानका १० वटा दलको आन्दोलन अघि बढिसकेको छ, खानेपानीको शुल्क पुरानै कायम नभए सम्म नरोकिने बताउँदै आन्दोलनमा धराने आम उपभोक्ताहरूलाई आन्दोलनमा ओर्लिन आव्हान गरे । अन्तरक्रियाको अध्यक्षता नेकपा एमाले धरान अध्यक्ष हर्कजङ एभेङले गरेका थिए ।